२७ भदौ २०८२, तेह्रथुम। लुगाफाटोकै अभावका कारण पढाई छाड्नुपरेको आफ्नो दुःखद वाल्यकाललाई स्मरण गर्दै तेह्रथुमको म्याङलुङ नगरपालिका–५ आङ्दिमका हर्क लिम्बू र उहाँकी जीवनसंगीनि बबिता (राई) लिम्बूले स्थानीय हरिहर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक र स्टेशनरी सामग्री प्रदान गर्नुभएको छ ।
बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत ५० जना छात्र–छात्रालाई टि–सर्ट र ट्रयाक, कपि, कलम, रङ्गीन चार्ट, वल जस्ता सामग्री प्रदान गरिएको उक्त कार्यक्रमको संयोजन गर्नुभएका स्थानीय समाजसेवी सुविन्द्र थेगुवाले बताउनुभयो ।
वैदेसिक रोजगारीको सिलसिलामा विगत १७ वर्षदेखि मलेसियामा कार्यरत स्थानीय हर्क लिम्बू र उहाँकी जीवनसंगीति बबिता (राई) लिम्बूले सो सामग्री प्रदान गर्नुभएको हो । सो अवसरमा वडास्थित अपाङ्गता भएका दश जनालाई पनि पोसाक सहित जनही एक हजार रुपैंयाँ प्रदान गरिएको थियो ।
हालः काठमाडौंमा बसोबास गर्दै आउनुभएका लिम्बू दम्पतिले आफ्नो गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थोरै भए पनि राहत पुगोस भन्ने उदेश्यले सो सामग्री प्रदान गरेका बताएका छन् । ‘मेरो श्रीमानले यहीँ विद्यालयमा पढ्नुभएको हो, तर अभाव र गरीबिका कारण स्कुल जान छोड्नु परेको थियो रे’ पोसाक र सामग्री वितरण गर्न आउनुभएकी बबिताले भन्नुभयो ‘त्यसैले आज दुःख गरेर कमाएको केही रकम बचाएर बालबालिकाको पढाईमा सहयोग पुगोस भनेर सहयोग गरेका हौं ।’
उहाँहरुले करीब दुई लाख रुपैंयाँ बराबरका सामग्री र अपाङ्गता भएकाहरुलाई नगद समेत प्रदान गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि, म्याङलुङ नगरपालिका, वडा नं.५ का वडा अध्यक्ष राजकुमार सेनेले शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले पनि विभिन्न रचनात्मक काम गर्दै आएको उल्लेख गर्दै सहयोगी दाताहरुको यस प्रकारको सहयोगले शैक्षिक गुणस्तर सुधारमा थप सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सेने सँगै भूमी समस्या समाधान आयोग तेह्रथुमका अध्यक्ष गणेश बहादुर सोदेम्बा, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ, समाजसेवी मित्र नेपाली लगायत शिक्षक, विद्यार्थी र अभिभावक लगायतले मन्तव्य राख्नुभएको थियो ।
कक्षा १ देखि कक्षा ८ सम्म पढाई हुने हरिहर आधारभूत विद्यालयमा हालः ५० जना छात्र–छात्रा अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक अर्जुन रेग्मीले बताउनुभयो । पोसाक र शैक्षिक सामग्री पाएपछि हर्षित भएका विद्यार्थी र विद्यालय परिवारले सहयोगी दाता हर्क लिम्बू र बबिता (राई) लिम्बू दम्पतीलाई धन्यवाद दिएका छन् ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल कुमार सोदेम्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।