August 20, 2025

ह्यात्लुङ झरनाः प्रचुर सम्भावना, पूर्वाधार र प्रचारको अभाव

४ भदौ २०८२, तेह्रथुम। तीन सय ६५ मिटर अग्लो चट्टाने पहराबाट निर्भर झरिरहने मनमोहक छाँगो । वरीपरी हरिया जङ्गल । झरनाको फेदीमा पर्यटकका निम्ति बनाइएको ट्रस पुल । पुलमुनि अजङ्गको पहरा । नजिकै ओंत लाग्ने पाटी । अग्लो पहराबाट झरिरहने झरनाको एकोहोरो संगीत । यीनै विशेषताले चर्चित छ, तेह्रथुमको ह्यात्लुङ झरना ।

फेदाप गाउँपालिका वडा नं.४ सम्दु र वडा नं.५ इसिबुको संगममा रहेको ह्यात्लुङ झरना पुग्दा रोमाञ्चक अनुभूति हुन्छ । पानी र प्राकृतिक सुन्दरतासँग रमाउन चाहनेहरुका लागि ह्यात्लुङ झरना गज्जवको गन्तव्य हो । जेठ, असार र साउन महिनामा ह्यात्लुङ झरनाले आफ्नो सौन्दर्य भर्छ । यो सिजन बढी बर्षात् हुने भएकाले पानी बढेर ह्यात्लुङ झरना हेर्न लायकको हुन्छ । त्यसैले बर्षात्को प्रवाह नगरी पर्यटक ह्यात्लुङ झरना पुग्ने गरेका छन् ।

फेदाप गाउँपालिका–४ का वडा अध्यक्ष भेषराज लिम्बूका अनुसार पछिल्लो समय ह्यात्लुङ झरनामा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ । जिल्लाको विभिन्न पालिकासँगै छिमेकी जिल्लाका मानिस समेत ह्यात्लुङ झरना अवलोकनका लागि पुग्ने गरेका वडा अध्यक्ष लिम्बूको भनाई छ । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको ह्यात्लुङ झरना क्षेत्रमा पर्यटनमैत्री पूर्वाधार बनाउन ठूलो बजेट आवस्यक पर्ने भएकाले संघीय र प्रदेश सरकारसँग समन्वय भइरहेको वडा अध्यक्ष लिम्बूले बताउनुभयो ।

DCIM101MEDIADJI_0045.JPG

प्राकृतिक रुपले सुन्दर र मनमोहक भएर पनि ह्यात्लुङ झरना क्षेत्रमा पर्यटकीय संरचनाको अभाव रहेको छ । संघीय, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा सम्दु जौबारीदेखि झरनासम्म सिँढीमार्ग निर्माण गरिएको छ । झरनाको फेदीमा ट्रसपुल बनाइएको छ । झरना छेउमा दिवाङ्गत आफन्तको स्मृतिमा निर्मित एउटा पाटी रहेको छ । जसलाई ह्यात्लुङ झरना पुग्ने पर्यटकले पानी पर्दा ओंत लाग्न प्रयोग गर्ने गरेका छन् ।

वडा नं.५ इसिबुतिरबाट पनि झरनासम्म पुग्न सिँढीमार्ग बनाईएको छ । तर, रेलिङ् नहुँदा यो केही अप्ठ्यारो छ । ह्यात्लुङ झरनाको पर्यटन प्रबद्र्धनका निम्ति विगतमा स्थानीयको श्रमदानबाट पनि गोरेटो बाटो निर्माण र मर्मतसम्भार गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका निवर्तमान अध्यक्ष समेत रहेका फेदाप–५ इसिबुका स्थानीय सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय याक्थुङ (लिम्बू) भाषाको ‘हेत्लुङ् वाधाम्’ (झरना)बाट यसको नाम रहन गएको हो । ढुङ्गाको कोप फोरेर निस्कने झरना भएकाले यसको नाम हेत्लुङ हुँदै ह्यात्लुङ भएको ‘इसिबुको चिनारी’ नामक पुस्तकका लेखक समेत रहेका चोङबाङको भनाई छ । याक्थुङ (लिम्बू) भाषामा ‘हेत्’ भनेको फुट्नु र ‘लुङ्’ भनेको ढुङ्गा हो । यो झरनामा बिथोल हुने काम गरियो भने हावाहुरी आउने, बाढी पहिरो जाने जस्ता घटना घट्ने भएकाले यहाँ दैविक शक्ति समेत रहेको विश्वास रहेको छ । लामो समय खडेरी चलेमा ह्यात्लुङ झरनामा स्थानीयले पानी माँग्ने प्रचलन समेत रहेको छ । ‘यहाँ बिधि पूर्वक पानी माँग्दा पानी पर्ने जनविश्वास छ’ उहाँले भन्नुभयो ।

ह्यात्लुङमाथिको मिलुङ भीर, वरुप् सुम्बाङ् हुँदै ह्यात्लुङ झरना झर्छ । झरनाको फेदीमा हिंगुवा खोलासँग मिसिएपछि यो हिंगुवा खोला भएर यो क्षेत्रको ठूलो कोयाखोलामा मिसिन्छ । ह्यात्लुङ झरनाको शीरबाट स्थानीयले सिँचाईका लागि कुलो निर्माण गरी पानी लाने गरेका छन् । त्यसैले ह्यात्लुङ झरनामा कम पानी हुने गरेको वडा अध्यक्ष लिम्बूले बताउनुभयो । पानी ठूलो आउँदा झरना हेर्न लायक हुने उहाँले बताउनुभयो ।

स्थानीय भूमी नन्द शर्माका अनुसार ह्यात्लुङ झरनाको उचाई पहिलोपल्ट वि.सं. २०३८ मा नापिएको थियो । त्यतिबेला ह्यात्लुङ झरनाको उचाई नापजाँच गर्ने कार्यमा संलग्न शर्माका अनुसार उचाई नापिएको दुई÷तीन वर्षपछि यहाँ फाट्टफुट्ट आन्तरिक पर्यटकको पाइला पर्न थालेको हो । अहिले पातलो नै भए पनि ह्यात्लुङ झरना हेर्न पर्यटक पुग्ने गरेका र दशैं–तिहार लगायतका चाडपर्वको अवसरमा भने झरना अवलोकन गर्नेको भिड नै लाग्ने गरेको उहाँले बताउनुभयो ।

ह्यात्लुङ झरनासम्म पुग्न बाटोकै समस्या छ । झरनासम्म पुग्न सडक सुबिधा छैन । झरनाको शीर हुँदै कच्चि सडक निर्माण गरिएको छ । तर, वर्षात्मा ठूलो सास्ती खेप्नुपर्छ । तेह्रथुम सदरमुकाम म्याङलुङबाट ह्यात्लुङ झरना पुग्न हलिमेला–खोरङ्वाखोला–ओयाक्जुङ–पोक्लाबाङ–सेल्फीसम्म पक्कि सडक र त्यसपछि कच्चि सडक प्रयोग गर्नुपर्छ । सेल्फीडाँडादेखि कच्चि सडक पार गर्न निकै सकस पर्छ । छिमेकी जिल्ला पाँचथर सदरमुकाम फिदिमबाट पनि मध्यपहाडी लोकमार्गको प्रयोग गरेर माझीटार–चुहानडाँडा–सक्रान्ति बजार–इसिबु भएर ह्यात्लुङ झरना पुग्न सकिन्छ ।

DCIM101MEDIADJI_0030.JPG

यी दुबैतर्फका दूरी पार गर्न अढाईदेखि तीन घण्टासम्म लाग्छ । सडक मार्गबाट झरनासम्म पुग्न आधा घण्टादेखि ४५ मिनेटसम्म पैदल हिंड्नुपर्छ । झरनामा ठूलो पानी भएको सिजनमा बर्षात्ले बाटो हिलाम्मे हुँदा सवारी साधन लैजान समस्या हुन्छ ।

झरनासम्म पुग्ने बाटाको सुधार, झरनामा पर्यटक आकर्षित गर्ने संरचनाको विकास र प्रचार–प्रसारमा ध्यान दिए ह्यात्लुङ झरना कोशी प्रदेशकै अब्बल पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको छ ।

ह्यात्लुङ झरना २०७४ अघिसम्म एसियाकै सबैभन्दा अग्लो झरनाको रुपमा परिचित थियो । यसको उचाई तीन सय ६५ मिटर रहेको छ । २०७४ मा कालिकोट जिल्लाको पचाल झरनाको उचाई ह्यात्लुङ झरनाको भन्दा अग्लो भएको पुष्ठि भएपछि ह्यात्लुङ एसिया तथा नेपालको दोस्रो अग्लो झरनाको रुपमा रहन पुग्यो । पचाल झरनाको उचाई तीन सय ८१ मिटर रहेको बताइएको छ ।

Ads

Ad

Copyright Reserved by NepBrand