तेह्रथुम, भाद्र १३ – जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–७ स्थित नामजाङु आधारभूत विद्यालयमा जातीय विभेद भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
भाद्र ११ गते विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारादेवी बुढाथोकीले विद्यालयका एक जना शिक्षकलाई खानपिनका बेला अलग राखेको र छात्रछात्रामाझ जातीय आधारमा विभेद गर्ने व्यवहार गरेको आरोप लगाइएको मोर्चाले जनाएको छ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा विद्यालय जस्तो शैक्षिक संस्थाभित्र विभेदपूर्ण व्यवहार हुनु अत्यन्तै दुर्भाग्यपूर्ण र जातीय व्यवस्थालाई कायम राख्ने प्रवृत्तिको उदाहरण भएको बताइएको छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षालयभित्र हुने यस्ता गतिविधि जातीय विभेद, छुवाछुत र पुरातनपन्थी संस्कारलाई बढावा दिने काम हुन्, जसलाई कतैबाट पनि स्वीकार गर्न सकिँदैन।”
मोर्चाले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सम्बद्ध निकायसँग माग गरेको छ। साथै, भविष्यमा यस्ता घटनालाई दोहोरिन नदिन राज्यका सबै संरचनालाई सचेत रहन आग्रह गरिएको छ।
मोर्चाले जातीय विभेद र छुवाछुत केवल सामाजिक वा सांस्कृतिक पक्ष मात्र नभई आर्थिक, राजनीतिक र सांस्कृतिक सबलतासँग गाँसिएको संरचनागत समस्या भएको उल्लेख गर्दै यसविरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको निष्कर्ष निकालेको छ।
रवि नेपाली (अध्यक्ष) र रुपा सुनार (महासचिव)को हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा जातीय विभेद उन्मूलनका लागि सबैलाई एकजुट हुन अपिल गरिएको छ।