June 3, 2025

यात्रा संस्मरणः गोसाईकुण्ड डायरी

– माबुहाङ कान्छा (भीम माबुहाङ)

कराई जस्तो काठमाडौं खाल्डो। विषालु वायु। उकुस मुकुस वातावरण। हिलो, मैलो र धुलोको सामराज्य। अझ थप, घर किचन भित्रको हल्ला प्रदुषण । प्रेसर कुकुरको स्यांसा स्याँसा सुसु । टिंभीको भुन भुन ।थालवटुकाहरुको ठाँङ ठाङ-ठुङ ठुङ। ग्याँसको राप। आदि कुराहरु बाट केहि क्षण भएपनि मुक्त भई हिमालले फालेको स्वच्छ सितल वायु ताप्न । खोलाको श्लोक । चराचुरु्गिको भजन कृतन सुन्न । चट्टानहरु संग संगै वसेर ध्यान गर्न । प्रकृतीले सृजना गरेको फुलका वगैंचाहरुमा रोमान्चित हुन। हिउँसंग लठारिन्न । पहाड र पत्थरहरु संग पैंठेजोरी खेल्न मिती २०८२ जेठ चार गते आईतवार हामी गोसाईकुण्ड यात्राको लागी निस्कयौं। दिन ठुस र उदास थियो । माने लिउँ घाम र वादल बुढा वुढी हुन । तिनीहरुको झगडा चलेकोले दिन विग्रेको थियो। हिंडदा सिमसिम पानी परेपनि सिवपुरीको डाँडा काटेर गुर्जे भन्ज्याङ पुगी व्रेक-फास्टको लागी रोकिन्दा पानी अडियो ।

मित्र रेवती र वहिनि संग हल्का अण्डा व्रेड र कालो कफीले ओठ डामेर यात्रा रसुवाको मुकाम धुन्चे तिर सुईकियौं । नुवाकोटको ओरालो साँगुरो सडक। गाडीहरुको घुईंचौ। अराजक टिफ्फर र माईक्रो आतंक। चिप्लो सडकमा वाईक थाम्दै थाम्दै लिखु पालीकाको छहरेमा मध्यपहाडी लोकमार्ग संग जोडियौं। नुवाकोटको मुकाम विदुर हुँदै पासाङलमु राजमार्ग लाई पक्डेर त्रिशुलीको किनारै किनार वेत्रावतीमा रसुवा रेसोर्टमा त्रुशुलि नदिमा उफ्रन्दै गरेको अशला माछा संग लन्च गरी भुंडी उकासेर रसुवाको कालिकास्थान राम्चे हुँदै करिव २ वजेतिर धुन्चे पुग्यौं। लांङटाङ क्षेत्रमा अवस्थित धुन्चे वजार प्रसिद्ध गोसाइकुण्ड पदयात्राको सुरुवाती बिन्दु हो।

यो रसुवा जिल्लाको प्रशासनिक सदरमुकाम लगभग २००० मिटरको उचाइमा अवस्थित छ। रसुवा नामको उत्पत्ति ‘रसोवा’ नामबाट भएको हो जुन दुई तिब्बती शब्द ‘रा’ जसको अर्थ भेडा र ‘सोवा’ अर्थात् चराउने, भेडाबाख्रा र चर्ने जग्गाका लागि प्रख्यात भएकोले चराउने गरी बनेको मानिन्छ । र पछि मानिसहरूले यसलाई रसुवा भन्न थाले। ‘लांङटाङ क्षेत्रं’ नेपालको सवै भन्दा बढी भुकम्प र पहिरो जाने क्षेत्रमा पर्दछ।अमेरिकन भूगर्भविद एएम म्याकफार्लेन लेखे अनुसार, यो लाङटाङ आसापास क्षेत्र ‘मेन सेन्ट्रल थ्रस्ट’ नामक भौगोलिक दरार पर्दछ । जुन झण्डै ५ करोड वर्ष अगाडी भारतीय र युरेसियन प्लेट ठोकिएर हिमाल पर्वत वन्ने क्रममा वनेको हो।

भारतीय र युरेसिएन प्लेटहरु विचमा पहिला टेथिस सागर थियो । भारतिय प्लेट दक्षिण वाट उतर सर्दै जाँदा युरेसिएन प्लेट संग ठोकिन्दा दुई चट्टान विच टकाराव भयो र हिमाल पर्वत उठन शुरु गरे। अहिले हामी भारतीय र एसियाली प्लेटको जुद्वाईमा विलाएको टेथिस सागरको अवशेषमा वसिराखेका छौ । धुन्चेको नाम्गेल रेसोर्टमा वाईक थन्क्याएर पुन एकपटक कफिले ओठ डामी हाम्रो पदयात्रा गोसाईकुण्ड तिर लम्कियो । करिव आधा घण्टाको तेर्सो हिंडाई पछि घटेखोला तर्न लाई वनाईएको आकर्षक झोल्ङगे पुल तरेपछि केहि मन्दिर भेटिए। यसलाई मिनी गोसाईकुण्ड पनि भनिन्दो रहेछ। गोसाईकुण्ड पुग्न नसक्ने तिर्थ यात्रीहरु यहां पुगेर फर्कने गर्दा रहेछन। घट्टेखोलाको गनगन सुन्दै केहि क्षण तेर्सो पाईला चालेपछी उकालो नाक ठोकिन्ने वाटो संग जम्का भेट भयो। सास ह्वातै बढयो ।

निधार शरिर वाट पसिनाका मुल फुट्न थाले। विस्तारै हलिन्दै भएपनि ज्यान घिसार्दै हामी उकालो लम्किरहयौं। ठाउं ठांउका चौतारीहरुमा आराम गर्दै । वरपर सल्लाका रुख र अरु वोटविरुवाले छोडेका शित हावाको सहारा लिंदै हामी एक दुई पाईला घिसार्दै काँण्डे भन्ने ठाउंमा पुग्यौं। भिरालो जमिनमा टंसाएर वनाएको एउटा दोकान र लज भर्खरै खोलिएको रहेछ। केहि छिन कफिको चुस्की र रेडवुल ले ज्यानमा शक्ति थपेर फेरी उकाल लाग्यौं । गोसाईकुण्ड तिर्थ पुगेर फर्केकाहरु वाटामा हंसिलो मुद्रामा भेटिन्थे। उनिहरु यति खुशी देखिन्थे की मानेलिउं उनिहरु राज्य जितेर फर्कन्दै छन। हामी संगै उकालो लागेकाहरु अनकनिन्दै उकालो लाई सरापदै हिडिरहेका हुन्थे। वाटो ठाडै उकालो छ । तेर्सीने कुनै संकेत छैन। धुन्चे वाट हिंडेको झण्डै चार घण्टामा हामी भन्ज्याँङ उक्लिउं। यो ठाउँ सामुन्द्रिक सतह वाट (२६०० मिटर) उचाईमा रहेछ। चार पाँचवटा जति जस्ता पाताले छाएका होटल घरहरु देखिए। प्राय जसो गोसाईकुण्ड जाने यात्रीहरु काठमाडौं वाट धुन्चे अनि पदयात्रा गरि यहां वास वस्ने गर्दा रहेछन। घडीको सुई वेलुकाको ६ बजेको लाईन तिर दगुर्दै थियो। दिनको उज्यालो जिउंदै देखिन्थ्यो ।

हामी अझ उकालो चड्ने निधो गर्यौ। चक्लेट र रेडवुल तानेर वाटो लाग्यौं। लेकाली सल्हाका रुखहरुको सुसाई सुन्दै । शितल ताप्दै उकालो निरन्तर चढरहयौं । झण्डै एकघण्टा जती शरिर लाई उकालो धकेले पछि हामी धिम्सा (३००० मिटर) भन्ने ठाउमा पुग्यौं । साँझको सात वजिसकेको थियो। अंध्यारोले पृथ्वी छोप्दै थियो। शरिरले पनि विश्राम चाहिएको संकेत गर्दै थियो। हामी त्यहि लामा होटलमा वास वस्ने निर्णय गर्यौं। होटलका साहु युवा र हंसिला थिए। उन्को आथित्यता खान्कीहरु जो कोहिलाई प्रभावित पार्ने थियो। होटलमा एक ग्रुप तिर्थ यात्रीहरु संग गफगाफ भयो। उनिहरु पेशाले मौरी पालन गर्दा रहेछन। मौरीको वारेमा निकै रोचक र घोचक कुराहरु बुझ्न पाईयो। विशेष गरि उनिहरु नेपाल अधिराज्य भरि जंहाँ जहाँ फुल फुल्छन ती ठाउँहरुमा मौरीको घार ट्रकमा हालेर महिना दिन सम्म विभिन्न ठाउँहरुमा राख्दा रहेछन।

विहानको पाँच वजेको आलाराम लाग्यो। झ्याल वाट वाहिर हेर्दा धर्तीमा उज्यालो और्ली सकेको थियो। किराहरु अझै किरकिराउंदै थिए। सुटवुट कसेर वाँकी यात्राको लागी तयारी भयौं।सायद उचाई वढेको र विहानै उकालो हिंडाईले होला केहि क्षण सास निकै वेजोडले बढेता पनि विस्तारै सामान्य हुँदै गयो। वाटो ठाडै उकालो थियो । जाडो जाडो पनि लागेको थियो। ज्यानमा पसिना पनि उम्रिन्दै थिए। शरिर आफै भ्रममा परे जस्तो । एकसाथ पसिना र जाडो शरिरले महसुस गर्दै थियो। यस्तै अनौठो पृथक कुराहरु महसुस गर्दा गर्दै एक घण्टाको यात्रा पश्चात हामी “चन्दन वारी (३३३० मिटर) पुग्यौं। खाली पेट छछल्किन्दै थियो । चाउ चाउ र अण्डाको सुप निलेर केहि वेर आराम गर्यौ। चन्दनवारी केहि स्तरिय होटल र खानापिना पाईन् ठाउं रहेछ । यस क्षेत्र अरु ठाउँहरु भन्दा अलिक पुरानो र निकै सेवा सुविधा युक्त होटल लजहरु रहेछन। अर्को महत्वपुर्ण कुरा राजा विरन्द्रले खोलेका याकको चिज फ्याकट्री पनि रहेछ यहां ।

त्यो दिनको लक्ष्य गोईसाईकुण्ड पुग्ने भएको ले धेरै अलमल नगरि वाटो लाग्यौं । अव यो ठाउँ वाट भने वाटो केहि सहज वने जस्तो भयो । ठाडो उकालो नभएर तेर्सो छडके हुँदै अगाडी वढयौं । सास त्यति नबढेकोले गर्दा मिठा गफ गर्दै हिंडन सक्ने भयौं। हरियाली रुख विरुवाहरु संग संवाद गर्दै । टाढा टाढा देखिने डाँडा झर्नाका दृश्यहरु अवलोकन गर्दै निकै चट्केका साथ पाईला चाल्यौं। विच विचमा विशाल सुरिल्ला रुलर जस्ता सिधा लेकाली सल्लाहरुको फेदमा फोटो खिच्दै यात्रामा अनुपम आनन्द लिंदा लिंदै थाहाई नपाई हामी, “चोलङ पार्टी “ पुग्यौ । अहिले भने त्यती धेरै थकानको महसुस भएको थिएन। यो ठाउँमा दुईवटा जस्ता छानाका होटलहरु रहेछन। दुईटा होटलमा पालो पालो पाहुना लाई सेवा दिने सर्त प्रचलन रहेछ। दिन निकै सितल थियो । वादलले घामलाई उम्कन दिएको थिएन। भोटिनी दिदिको होटलमा कफी र विस्कुटले ज्यान तताएर गन्तव्य तिर प्रास्थान गर्यौ। फेरि वाटो उकालो सुरु भयो। फोक्सोलाई तनाव बडन थाल्यो। आफनै खुट्टा शरिर गर्हौ हुन थाले।

गोडाका चालहरु सुस्त भए। तर पनि दाँया वाँया फुलेका गुराँशका फुल र हरिया चौरीहरुले हामीलाई हिंडन उक्साहट गरिरहेका थिए। लांङटाङ र गणेश हिमालको आसपास वाट आएका शितल वायुले निकै उर्जा दिएको महसुस हुन्थ्यो । लठ्ठीको सहारा लिंदै उकालो लम्किरह्यौं। नभन्दै हामी चोलाङ पार्टी वाट हिंडेको एक घण्टामा सामुन्द्रिक सतह वाट ३८०० मिटर उचाईमा रहेको ठाउं “लौरीविना” पुग्यौं। काठको फलैंचामा वसेर एक युवक लेकाली साग केलाउंदै रहेछन। हामीले त्यहि सव्जी संग मिलाएर विहानको खान्की वनाईदिन आग्रह गर्यौं। झण्डै एक घण्टा समय पश्चात हाम्रो खाना तयार भयो । पातलो दाल, थोरै साग र अलिकती आलुको तरकारी संग हल्का लन्च लियौं। खाना त्यती प्रशंसा योग्य थिएन। सायद उच्च पहाडी ईलाकामा ढुवानी कठिनाई कारण खानाको स्तर ठिक ठिकै भएको होला भनेर चित वुझायौं। दिन खुलेको थिएन। वरपरी हिमाली पहाडी क्षेत्र सवै वादलको सेता पर्दा भित्र लुकेका थिए ।

भर्खरै पेटमा हुलेको तातो खानाले गर्दा होला उकालो हिंडाई केहिवेर अलिक असहज वन्यो । तर हामी लाई यसो भनेर नहिंडने छुट थिएन। हामी सुस्तरी भएपनि वगिरहयौं। तल वाट हेर्दा वादलको विचमा उभिएको छोर्तेन देखा पर्न थाल्यो । हामीले अनुमान लगायौं गुम्वा डाँडा त्यहि हो। तर हेर्दा त्यहि देखेपनि एक घण्टाको हिंडाई पश्चात मात्र गुम्वा डाँडा माथि विजय हाँसिल गर्न सफल भयौं। लामो आनन्दको सास फेर्यौं। छोर्तेनमा झुण्डयाईएका लुंधारहरु हेर्दै केहिवेर विश्राम लियौं। वरपरी विशाल काला पथरका पहाडहरु देखिए। यी पहाडका काखहरुमा कता कता ससना कुण्डहरुपनि देखिन्थे ।

गणेश र लाङटाङ हिमाल भने अझै कुहिरोमा लुपुटिरहेका थिए।केहि स्नयाप फोटोहरु हानेर निरन्तर यात्रामा वढयौं। वाटो केहि तेर्सो हल्का छडके उकालो भएपनि अगाडीको जस्तो ठाडो उकालो भने सकिएको थियो। हामी गन्तव्य संग नजिकिएकोले होला निकै उत्साहित हुँदै हिंडयौं । तर दुर्भाग्य वा भाग्य भनौ गोसाईकिण्ड पुग्ने वेला असिना पानीले केहिवेर गोदेर यादगार क्षणहरु सृजना गरिदियो। पद यात्राको दोस्रो दिन धिम्सा वाट हिंडेर हामी स्थानिय समय झण्डै चार वजे गोसाईकुण्ड पुग्यौं। मौषम पुग्ने वेला क्षणिक समयको लागी पानी परेपनि एकछिनपछि दिन खुलेर उज्यालो भएर आयो। सरस्वती कुण्ड , भैरवकुण्ड र गोसाईकुण्डका संङलो सान्त पानी स्पर्स गरेर चरम आनन्नद प्राप्त गर्यौ।

श्रिमती लाई लेख लाग्ला भन्ने डर थियो तर कुण्ड वरपरी नाचेर टिक टक वनाईन। पुजापाठ गरिन। मन प्रफुल्ल भयो। त्यो रात गोसाईकुण्डको होटल लेकसाईडमा वास वस्यौं। वेलुका अरु यात्रीहरु संग आगो ताप्दै भलाकुसारी गर्यौ। एकजना वर्ष पचासको महिला लेक लागेको कुनै संकेत थिएन तर आफै लेक लाग्यो भनेर डरले कामेर वसिराखेकि थिई। सवै ले सम्झायौं । ज्यान थाकेकोले हामी चांडै आराम गर्न लाग्यौं । राती विशाल मेघगर्जनका साथ पानी पर्यो । विहान उठादा झण्डै एक फुट वाक्लो हिउँ परेको रहेछ। हिजो देखिन्ने काला पत्थरका डाँडाहरु सवै सेतो सामराज्यमा परिणत भएका थिए।

हामी ले गोसाईकुण्डको दुईरुप (हिउँ नपरेको र परेको वेलाको रुप) प्रष्ट देख्यौं। कुण्ड वरीपरी विभिन्न पोजहरुमा फोटो खिच्यौं। यो ऐतिहाँसिक क्षण थियो । प्रकृतिले सृजना गरिदिएको अनमोल र अनुपम क्षणको पुर्ण सदुपयोग गर्दै धेरै भन्दा धेरै मज्जा लियौं । क्यामेराको चिप्स तन्किने गरी अनेकौ फोटो खिचेर वापस भयौं।

Ads

Ad

Copyright Reserved by NepBrand