June 3, 2026

तेह्रथुममा अनाधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार जना पक्राउ

२० जेष्ठ तेह्रथुमः जिल्लाको म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा संकलन गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मंगलबार २०–२५ जना व्यक्तिले यार्सागुम्बा संकलन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । सो क्रममा मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित आएका चार जनालाई नियन्त्रणमा लिइएको हो ।
बरामद सामग्री र पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको प्रहरी नायव निरीक्षक ठाकुरको भनाई छ ।
डिभिजन वन कार्यालय तेह्रथुमका वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार यार्सागुम्बा संकलन गर्न सम्बन्धित डिभिजन वन कार्यालयबाट अनुमति लिई राजस्व तिरेपछि मात्र पाइन्छ । अनुमति नलिई संकलन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
वन अधिकृत शाहका अनुसार अनाधिकृत रूपमा यार्सागुम्बा संकलन गरेको पाइएमा प्रतिकिलो रु ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिगोटा रु ३१ जरिवाना पनि लाग्ने गर्दछ ।
उहाँले तेह्रथुममा पाइने यार्सागुम्बाको गुणस्तर हिमपात हुने उच्च हिमाली क्षेत्रको तुलनामा कम हुने बताउनुभयो । “हिउँ पर्ने क्षेत्रमा पाइने यार्सागुम्बा राम्रो गुणस्तरको मानिन्छ । तेह्रथुममा त्यस्तो वातावरण नभएकाले यहाँको यार्सागुम्बा तुलनात्मक रूपमा कम गुणस्तरको हुन्छ,” उहाँले भन्नुभयो ।
जडिबुटीका रूपमा प्रयोग हुने यार्सागुम्बा यसअघि तेह्रथुमबाट जिल्लाबाहिर निर्यात भएको अभिलेख नभएको पनि उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय तेह्रथुमका सूचना अधिकारी सन्नी झाका अनुसार जिल्लाबाट निर्यात हुने जडिबुटीजन्य वनस्पतिबाट वार्षिक करिब रु तीन लाख तथा काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व संकलन हुँदै आएको छ ।
वविता राई –९७६२२१७६६८

 

Ads

Ad

Ad

Copyright Reserved by NepBrand