September 29, 2025

राना गाउको सम्झना

सेसेहाङ हुक्पा चोङबाङ,

१३ असोज, तेह्रथुमः हाम्रो रानागाउ जाने पुर्व निर्धारित कार्यक्रम थियो । त्यसो भएपछि स्वभावैले सवार हुनु नै पर्छ । यात्रा गर्नुको कुनै काम विषेश अथवा कार्यक्रमहरु तथा उदेश्य हुन्छन त्यसमा बिशेष हामी चाम्लिङ समुदाय संगको सम्बन्ध बिस्तार, कुटुम्बेरी अर्थात नाता विगतमा जोडिएकोले रित बुझाउन एवं बिबाहको मिति टुंगो गर्न जाने थियो । तेह्रथुम जिल्ला फेदाप गाउपालिका वाड न. ५ निवासी मेरो माइला भाइ सुर्य हुक्पा चोङबाङ र खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका वडा नं. ९ लामाखु निवासी रमिला चाम्लिङ राई बिच वैवाहिक सम्बन्ध जोडिएको थियो । र राई समुदायमा माइत पट्टी छोरीको बिहे लामो समय पछि गर्दा पनि हुने धेरै राम्रो संस्कार रहेछ । त्यस बिहेको टुङगो लगाउनका लागि म २०८२ असोज ४ गते नै धरान झरे । किनकि गाडी धरानबाट धनकुटा हिले, भोजपुर हुदै जान्थ्यो । इसिबुबाट भोलिपल्ट गाडी भेट्न नसकिने हिले नै गएर बस्नुपर्ने हुदा हिले भन्दा धरान नै जानुप¥यो भन्ने लाग्यो । फेरि म संग भलेस्वर हुक्पा चोङबाङ साइनोले काका पनि जानुपर्ने भएको हुदा उहाँ धरान बस्नुहुन्थ्यो । यहि कारणले म धरान झरेको हुँ । र काका संग भेटगरी सपिङ सकेर बेलुकी काकाको डेरामै बसाई भयो ।
भोलिपल्ट २०८२ असोज ५ गते धरान विजयपुरबाट ठिक ६ बजे प्रस्थान गरियो । अमरहाट बाट गाडी चड्नु पर्ने भएकोले अमरहाट गएर एउटा प्रतिक्षालयमा बस्यौं । ढिलो गरि ६ः५५ मा सप्तकोसी बस आयो र चढियो । यो बस खोटाङ सम्म जाने भएकोले अघिल्लो दिनमै सम्पर्क गरेका थियौ । धरानबाट हिडेको करिब २ घण्टा ४० मिनेटमा हिले पुग्यौ । ९ः१७ मा हिलेबाट मध्यपहाडी बाटो हुदै लागियो । करिबन नौ बजेर चालीस मिनेटमा पाख्रीबासको साझा स्टाप होटलमा बसले खाना खान गाडी रोक्यो र खाना खाइयो । खाना खाइसकेर त्यहा बाट हिडेपछी पाख्रीबास मुख्य चोकमा निक्कै बेर सम्म यात्रु पर्खनु प¥यो । सबै यात्रुहरु आ–आफ्नो गन्तव्य पुग्नुपर्ने हुदा रिसाई रहेका थिए । लेगुवा पुग्ने बेला माङमाया खोला तरियो । अरुण नदि संग जोडिएका वरिपरिको बेसीखेतहरु रहर लाग्दा थिए । सयौ रोपनीमा लगाइएको धानखेतीको लस्कराले मन लोभ्याएको थियो । यो ठाउँ अत्यन्तै उब्जनी हुने ठाउँ हो । हामी लेगुवा बजार पुग्यौ । यो लेगुवा बजार महालक्ष्मी नगरपालिका वडा नं. ५ मा पर्दोरहेछ । अरुण नदि तरियो । यो नदि लिम्बुवान र खम्बुवानको सिमाना छुट्याउने नदि हो । हुन त यहा अरुण वारि सम्म चै म धेरै पटक पुगिसकेको छु । दुई पटक त यो नदिको किनारै किनार पैदल यात्रा गरेको छु । उहिले २०६५ साल तिर लिम्बुवानको जागरण आमसभा खादबारीमा हुदा पाख्रीबासको कार्यक्रम सकेर २५ किलो चामलको भारी संग यो नदिको किनार हुँदै गएको याद ताजा छ । त्यसै गरि २०६६ साल बैशाख तिर सुनसरीको चतरा देखि संखुवा खोला सम्मको लिम्बुवानी मार्चपासमा ५ दिन सम्म अरुण नदिको किनारै किनार हिडेको विगत आलो छ । त्यहाबाट भोजपुर जरायोटार टेक्यौ । भोजपुर भने मेरो दोस्रो पटकको यात्रा हो । पेट्रोल पम्पमा तेल हाल्यो गाडिले । गर्मी अत्यधिक रहेछ उक्त ठाउमा । त्यसपछि जरायोटार, ओदाने, बन्चरे, माङसुवा कटेपछी प्याउली पुग्यौ । त्यसैगरी गाडी अघि बढी रहन्दा भञ्ज्याङ जस्तो नभएको ठाउ तिवारी भङ्ञ्ज्याङ पुग्यौ यो औवादुङमा गाउपालिका पर्दोरहेछ । हामी हिलेभन्ज्याङ, साम्सिला, भैसिपङखा, पानी टेङकी, देउराली सम्म पुगिसक्यौ । यहाँ पहिले आउँदा बास बसेका थियौ । अहिले चोकको बीचमा खुकुरीको स्तम्भ बनाएका रहेछन । पहिले थिएन । भोजपुरे खुकुरीको एकदम चर्चा छ । यहाको खुकुरी राम्रो बन्छ भन्ने विश्वास हाम्रो तिर छ । त्यहाबाट गाडी भोजपुर बजारको बसपार्क सम्म पुगेर पुन फर्कियो । गाडी निरन्तर अघि बढ्यो शेरा पुल तरेपछी बर्खेटार चोक, डंके, दावाँ बजार पुग्यौ । केही समयपछि बलौटे बजार पु¥यायो गाडीले । त्यहाबाट पिखुवा खोला तरेपछी टेम्केमौयुँ गाउपालिका टेकियो । पिखुवा खोला निक्कै ठूलो खोला रहेछ । टेम्के र मौयुँको संयोजन बाट टेम्केमौयुँ गाउपालिका बनेको रहेछ । स्थानीयहरुको अनुसार टेम्के चाहिँ चाम्के बाट भएको रहेछ । उहिले उहिले राई दाजुभाइहरु त्यस डाँडामा जम्मा भएर खाजा खाएकोलाई चाम्लिङ भाषामा चाम्के भनिएको अप्रभंसित भएर टेम्के भएको भन्ने कुरा आयो । टेम्के डाँडा पहाडी भेगको निक्कै अग्लो डाँडा रहेछ । त्यसपछि अन्नपूर्ण गाउँ पुगियो यो पुरै अन्नपूर्ण भरी अञ्चलडाडा, यलम्बर बस्ती, अम्लाला, डउठेला, गणेश रसिक झरना, नौलो गाउँ, साप्तेनवाङ चोक, जस्ता साना साना ठाउहरु पनि पर्दारहेछन । गणेश रसिक झरना छोटो सुन्दर र निश्चल रहेछ । त्यहाबाट गोठेसिं होमस्टे, नारदमुनी थुलुङ स्मृति पार्क, ऐसेलु डाँडा, हुदै चखेवा भञ्ज्याङ पुग्यौ । चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमानामा पर्दोरहेछ । सुन्दर तथा रमणीय ठाउँ छ । यो ठाउँ भोलि घुम्ने योजना नै छ हाम्रो । गाडी निरन्तर अघि बढ्यो ४ः३५ मा हामी खोटाङ जिल्ला प्रवेश ग¥यौ । खोटाङ जिल्लाको साकेला गाउपालिकाले हामीलाई स्वागत गरेको छ । त्यहादेखी कच्ची बाटो सुरु भयो बाटो एकदम खराब रहेछ । मध्यपहाडी लोकमार्गको हालत हाम्रो तेह्रथुम जिल्लाको फेदाप गाउपालिकामा भएको जस्तो अलपत्र त्यहा पनि देखियो । यो सरोकारवालाहरुबाट दबाब पुग्न नसकेको हो कि ठेकेदारको हेलचेक्र्याइ हो बुझ्न सकिएको छैन । यस्ता समस्याहरु यत्रतत्र छन नेपालमा । हाम्रो मुलुक यहि कारण युगौ पछि परिरहेको छ । यहाबाट करिब ११ किलोमिटर कच्ची बाटो पर्दोरहेछ । गाडी फस्दै दिक्क लाग्नेगरी हामीलाई बाँझे, सेखुवा खोला तारेर झगरपुर, वातुङ, पु¥यायो । रातको ६ बजिसकेको थियो । साप्सुखोला साकेला गाउपालिका र दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको सिमाना रहेछ । यो खोला तरेर हामी पेलुङ बजार पुग्यौ । त्यहाबाट हामी सिधै लामाखु राना गाउँ पुग्यौ ।
२०८२ असोज ६ गते बिहानभरी त्यही बस्यौ खाना खाएर एक छिन कलिया जितमान राइको घरमा गयौ । उहासंग बिहेको बारेमा के के आवश्यक पर्छ । जन्ती आएर कहाँ जम्मा हुने? कलिया कसरी प्रस्तुत हुने? बिषयमा छलफल गरियो । करिब १२ बजे त्यहाबाट हामी हिड्यौ । गाडी छुटेको कारण भाइ धनजित राई र काका रनाहाङ राईले हामीलाई बाइक मार्फत चखेवा भञ्ज्याङ सम्म पु¥याउने हुनु भयो । हाम्रो योजना नै चखेवा गएर बस्ने थियो । म मैला भाइको बाइकमा बसे भलेस्वर काका रनाहाङ काकाको गाडीमा चढनु भयो । बाटो कच्ची भएकोले कहि ओर्लिन्दै कहि चढ्दै गरेर दिउँसो २ बजे तिर चखेवा भञ्ज्याङ पुग्यौ । भाइ र काकाहरु संग खाजा लगेर माथी डाँडामा गइयो । खाजा खादै खोटाङ दिक्तेल हेर्ने धोको कुहिरोले अन्त्य गरिदियो । बिहान छर्लङ्ग भएको चखेवा भञ्ज्याङ अहिले पुरै हुस्सुको कारण अनकन्टार अध्यारो भयो । करिब चार बजे भाईहरु राना गाउँ फर्किनु भयो । हामी भने मुन्दुम ट्रेलको यात्रामा माथी सम्म अवलोकन गर्न गइयो । मुन्दुम ट्रेलको बारेमा सामाजिक संजालमा सुनेको र पढेको त्यसपछि निक्कै कौतुहल जागेको थियो । कस्तो तरिका बाट निर्माण गरिएको छ । के के निर्माण गरिएको छ । ट्रेल निर्माण गर्दा कुन कुन बिषयलाई प्राथमिकता दिनुपर्ने रहेछ लगायतको अवलोकन गर्नुपर्ने थियो । त्यसैले त्यहा जानै पर्ने थियो र नै हाम्रो यात्राको सेड्युल बनेको हो । साढे एक घण्टा जतिको अवलोकन पछि हामी पुन तल फर्कियौ र रिमाचुङ होटलमा राति बास बसेर २०८२ असोज ७ गते बिहान उहीँ बाटो र उहीँ सप्तकोसी बसबाट हाम्रो घर फर्काइ भयो । हिले पुगेर काका धरान लाग्नुभयो म भने मेयङलुङ तर्फ हुइकिए ।

Ads

Ad

Copyright Reserved by NepBrand