December 21, 2025

कविताः सुन फलाऊ

–जिआर श्रेष्ठ

सुन फल्छ बारीमा, पौरख भए नाडीमा,
सानोतिनो गर्जो टार्न जानु पर्दैन खाडीमा।

जाँगर चलाऊ धर्तीमा, रमाऊ बेसरी,
कर्मवीरहरू फक्रिन्छन् बोटमा लटरम्म यसरी।

पाल पशुहरू ममता र स्नेह गरी,
तिनकै सुगन्धित आम्दानीमा रमाऊ बेसरी।

माटो पारि मलिलो, खुवाऊ बोटहरूलाई,
सिँचाइ गर तिनका फेदमा, बोट मौलाउनलाई।

पाल कुखुरा बगैंचा फेदमा गरी तारबार,
अण्डा, चल्ला, भाले बेच, पौरख बारम्बार।

झपक्क नुहेको सुन्तला बोटले दण्डवत् गर्दछ,
“पुन दिन्छु असंख्य दाना” फेरि उसले भन्दछ।

टन्न गुलियो बनाऊ भुँडी, चुसी सुन्तला रसले,
रुपैयाँ उडेर आइरहेछ तिम्रो पौरखी वशले।

चखाऊ प्रसाद ठानी दुई–चार बोटका अरूलाई,
सिकाऊ पाठ—आम्दानी कसरी? बेगारीहरूलाई।

रचानाकाल
नयाँ दिल्ली, भारत
वि.सं. २०८२/०९/०६

ई.सं. २०२५/१२/२१

Ads

Ad

Copyright Reserved by NepBrand