तेह्रथुम, ७ वैशाखः यहाँस्थित लालीगुराँस नगरपालिका र नयाँ शहर आयोजनाको एकीकृत नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
नवनिर्मित एकीकृत भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, पूर्व शहरी विकासमन्त्री सीता गुरुङले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । उक्त भवन नयाँ शहर आयोजनाको कार्यालय बसन्तपुर मार्फत् रु.८ करोड २८ लाख ७९ हजार लागतमा निर्माण गरिएको कार्यालयले जनाएको छ । कुन्सालिङ कन्स्ट्रक्सन प्रा.लि.भोजपुरले २०८० चैत १५ गते ठेक्का सम्झौता गरी २०८२ चैत १४ गते निर्माण सम्पन्न गरेको भवनको उद्घाटन गरिएको हो ।
जम्मा ४७ कोठा भएको पाँच तले अत्याधुनिक भवनको ३० कोठा लालीगुराँस नगरपालिकाले र १७ कोठा नयाँ शहर आयोजनाको कार्यालय बसन्तपुरले उपभोग गर्ने बताइएको छ । नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री गुरुङले अत्याधुनिक भवन निर्माण भए सँगै दुबै कार्यालय सञ्चालनमा सहजता आई सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
बसन्तपुरमा २०७२ सालमा स्थापना भएको नयाँ शहर आयोजनाको कार्यालय यसअघि भाडाको घरमा सञ्चालन गर्नुपरेको थियो । अब उक्त समस्या हटेको कार्यालयका प्रमुख सुदिप झाले बताउनुभयो । बताउनुभयो । उद्घाटनसँगै नगरपालिकाको प्रशासनिक काम नवनिर्मित प्रशासकिय भवनबाट सुरु गरिएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुनबाबु माबुहाङले बताउनुभयो । आफ्नै भवन नहुँदा सामुदायिक वनको पालेघरमा पालिकाको कार्यालय सञ्चालित थियो । अब सुबिधासम्पन्न नयाँ भवनबाट थप प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत रबिन कार्कीले बताउनुभयो ।
टेम्प्रेचर मेन्टेन गर्ने स्टोन कोटेड रुफिङको आधुनिक छानो भएको नवनिर्मित भवनले गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको पर्यटकीय बजार बसन्तपुरको सौन्दर्य समेत बढाउने विश्वास गरिएको छ । उक्त नवनिर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री गुरुङ सँगै तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य द्वय किशोरचन्द्र दुलाल, दुर्गाप्रसाद चापागाईं, म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङ्फे, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र प्रमुख जिल्ला अधिकारी बन्दना राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुनबाबु माबुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।