April 15, 2026

टिएमजे क्षेत्रमा गुराँस हेर्ने पर्यटकको भिड

२ बैशाख, तेह्रथुमः यहाँको लालीगुराँस नगरपालिका–१ मा पर्ने तिनजुरे क्षेत्रमा गुराँस फूलेपछि पर्यटकीय चहलपहल बढेको छ ।
वैशाख १ गते नयाँ वर्षमा २५ हजार पर्यटकले तिनजुरे क्षेत्र अवलोकन गरेको इलाका प्रहरी कार्यालय बसन्तपुरका इन्चार्ज रुपेश तामाङले बताउनुभयो ।
छिमेकी जिल्ला संखुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्लाहरु सुनसरी, मोरङ, झापा साथै भारतको बिहार लगायतका स्थानका पर्यटकहरुले नयाँ वर्षमा तीनजुरे क्षेत्रको अवलोकन गरेको उहाँले बताउनुभयो ।
चैतको दोस्रो सातायता तीनजुरे क्षेत्रमा गुराँस फूल्न थालेपछि जिल्ला बाहिरबाट दैनिक पाँच हजार पर्यटक तीनजुरे क्षेत्र पुग्ने गरेका होटल व्यवसायी संघ बसन्तपुरका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।
तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्धार बसन्तपुर बजारमा रहेको चोत्लुङ पार्क, तिनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, पाभीभरा मन्दिर, तिनजुरे पिक, पाँचपोखरी, गुफापोखरी क्षेत्रमा फूलेका गुँरास हेर्ने पर्यटकको भिडले टिएमजे क्षेत्र गुल्जार बनेको छ ।
गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातीका गुराँस पाइन्छन् । टिएमजे भित्रको तीनजुरे क्षेत्र तेह्रथुमको लालिगुराँस नगरपालिकामा पर्दछ । यो क्षेत्रमा बसन्तपुर स्थित नयाँ शहर आयोजनाको कार्यालय मार्फत विभिन्न पर्यटकीय संरचनाहरु निर्माण गरिएका छन् ।
उत्त क्षेत्रमा साढे १० करोड रुपैयाँ बजेटको संरचना निर्माण गरिएका नयाँ शहर आयोजना कार्यालय बसन्तपुरका प्रमुख सुदिप झाले बताउनुभयो । जसमा आरआर गार्डेन परिसरमा पिकनिक स्पट, शौचालय, ओपन थिएटर निर्माण गरिएका छन् ।
त्यस्तै तिनजुरे जाने सडकको ठाउँठाउँमा शौचालय निर्माण गरिएका छन् । त्यसैगरी पाभीभरा मन्दिर जाने सिढीमार्गमा छानो लगायतका संरचना निर्माण गरिएको छ । बाह्रै मास पर्यटकीय आवागमन भइरहने तीनजुरे क्षेत्रमा गुराँस फूल्ने र हिउँ पर्ने सिजनमा पर्यटकीय चहलपहल बढ्छ । सो क्षेत्रमा पछिल्लो समय हिउँ पर्न छाडेपछि गुराँस फूल्ने समय र नयाँ वर्षको दिन पर्यटकहरुले भरिभराउ हुने गरेको टुटेदेउराली स्थित हिमगंगा होटलका सञ्चालक श्री कार्कीले बताउनुभयो ।
तिनजुरे क्षेत्रको नाम धेरै सुनेकाले यसपल्ट झापाबाट परिवारसँग नयाँ वर्ष मनाउन आएको आयुष्मा राईले बताउनुभयो । पहिलो पटक तीनजुरे क्षेत्र आउनुभएको उहाँलाई यहाँको चिसो मौसम, स्वच्छ हावापानी र वनमा फूलेका गुँरासले मोहित बनाएको सुनाउनुभयो ।
त्यसैगरी सुनसरीको इटहरीबाट आउनुभएका सुरेन्द्र क्षेत्रीले तिनजुरे क्षेत्र एकपटक पुग्नै पर्ने ठाउँको रुपमा आफूले पाएको बताउनुभयो । पहिलोपल्ट तिनजुरे आउनुभएका उहाँलाई यहाँ फुलेका गुराँस, छिनछिनमा परिवर्तन हुने मौसम मन परेको सुनाउनुभयो । पाभीभरा मन्दिरमा नयाँ वर्षको दिन भेटिनुभएका उहाँले यहाँको पाँचपोखरीमा बास बसी गुफापोखरी पुगेर फर्किने योजनामा रहेको बताउनुभयो ।
टिएमजे क्षेत्र बसन्तपुर बजारदेखि सुरु हुन्छ । बसन्तपुरबाट आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मंगलबारे, गुफा पोखरी हुँदै मेन्छ्यायेम डाँडासम्म गुराँस अवलोकन गर्ने पर्यटकहरु पुग्ने गरेका छन् । अहिले टिएमजे क्षेत्रका होटलहरुले सबै पर्यटकलाई बास दिन सक्ने अवस्था नरहेकाले तेह्रथुमको लसुने बजार, धनकुटाको सिधुवा र हिले सम्म पर्यटकहरु बास बस्न पुग्ने गरेका होटल व्यवसायी संघ तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

 

Ads

Ad

Copyright Reserved by NepBrand