April 18, 2026

चुदारोमा काठलाई कलात्मक आकार दिइरहेका कुमार

तेह्रथुम, ५ वैशाखः तेह्रथुमको फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिकालाई छुट्याएर आफ्नै गतिमा बगिरहेछ, खोरङ्वा खोला । यहीँ खोरङ्वा खोलाको किनारामा बसेर कुमार विकले चुदारोको सहायतामा काठलाई विभिन्न वस्तुको आकार दिँदै त्यसमा कलात्मक बुट्टा भर्न थालेको २५ वर्ष भएछ ।
स्थायी ठेगाना ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे भएका कुमार यहाँ आएर चुदारो (पानी साँचो)को सहायतामा काठलाई परम्परागत घरेलु उपकरणको आकार दिन थाल्दा १८ वर्षका लक्का जवान थिए । अहिले ४३ वर्षको ढल्किँदो उमेरमा पनि उहाँ ठेकी, आरी, हर्पे, चौंठो, तोङ्बा जस्ता परम्परागत घरेलु उपकरण बनाउनमै दिनभरी व्यस्त रहनुहुन्छ ।


विकले फेदाप गाउँपालिका–२ ओयाक्जुङस्थित खोरङ्वा खोलाको पानी कुलो बनाएर केही वर ल्याउनुभएको छ । थोरै माथिदेखि खसाइएको उही कुलोको पानीको बेगमा चुदारो वा पानी साँचो चलाउनुहुन्छ उहाँ । जसबाट काठलाई विभिन्न आकर्षक परम्परागत घरेलु उपकरणको आकार दिन सिपालु कालीगढको रुपमा तेह्रथुमभरी मात्र होइन छिमेकी जिल्लासम्मै परिचित छन्, कुमार ।
वि.सं. २०५७ सालयता यसै स्थानमा बसेर काठको सामाग्री निर्माण गरिरहेको उहाँले बताउनुभयो । बिचमा स्टिल र आल्मुनियमका आधुनिक सामाग्रीले काठको सामाग्रीलाई विस्थापित गर्ला जस्तो भयो । आफ्नो पेशा संकटमा परेको महसुस गरी कुमार केही वर्ष वैदेशिक रोजगारीमा समेत गए । स्वदेश फर्किदा परम्परागत काठे उपकरणहरु फेरि मानिसको रोजाइमा परेको देखेर उहाँ पुरानै पेशामा फर्किनुभयो ।
पछिल्लो समय काठबाट बन्ने मौलिक र परम्परागत घरेलु उपकरणहरुको प्रयोगमा मानिसको रुची बढेको कुमारले बताउनुभयो । ‘हिजोआज महिनामा रु.४० हजार देखि रु. ५० हजार सम्म चोखो नाफा हुन्छ’, उहाँले भन्नुभयो । गाउँबाट रु.२० हजार देखि रु.२५ हजार सम्ममा खरिद गरेर ल्याएको काठबाट रु.६० हजार सम्मको सामग्री बन्ने कुमारको भनाई छ । यी सामग्री दार र खमारी जातको रुखको काठबाट मात्र बन्छन् । उक्त काठ विभिन्न स्थानबाट खरिद गरेर ल्याउनुहुन्छ, उहाँ ।
वर्षमा दुई महिना असार र मंसिरमा भने धान रोप्न र धान बटुल्न पुख्र्यौली घर चाँगे जाने उहाँ वर्षको दश महिना यहीँ पेशामा व्यस्त रहनुहुन्छ । उहाँ साना–साना हर्पेदेखि मोही पार्ने ठूला मदानी सम्मका सामग्री बनाउनुहुन्छ । ती रु.५०० देखि रु.१२ हजार सम्म मूल्यका हुने उहाँले बताउनुभयो । चार जना सदस्य सहितको घरपरिवार र घरव्यवहार यसैबाट चल्दै आएको उहाँले सुनाउनुभयो ।


पानीको बेगमा घुम्ने चुदारोको सहायताले काठलाई विभिन्न आकार दिएर स–साना फलामका औजारले तासेर कलात्मक बुट्टा भरिएका ती सामग्री साँच्चै आकर्षक देखिन्छन् । यहाँका स्थानीयले बोलाएपछि आफू तेह्रथुम आएको कुमारले सुनाउनुभयो । तेह्रथुममा यो पेशा आफू बाहेक अरुले पनि गर्ने गरेको अहिलेसम्म नसुनेको उहाँले बताउनुभयो ।

सानो छँदा खोलाछेउको गाउँमा बडाबाबुहरुबाट सिकेको सिपले दुःखसुख गुजारा चल्दा कुमार सन्तुष्ट छन् । कुमारले बनाएका सामग्री तेह्रथुम जिल्लाका विभिन्न बजार सँगै ताप्लेजुङको तीन वटा कोसेली घरमा जाने गरेको छ । माग बढि हुने भएकाले कहिलेकाँही माग धान्नै धौंधौं हुने कुमारले सुनाउनुभयो ।
‘यो सिप जान्ने मान्छे नै छैनन्, काम धेरै आउँछ, माँग धान्नै गाह्रो छ, यो सिप सिक्न कोही इच्छुक मान्छे भेटेदेखि सिकाउने थिएँ’, उहाँले भन्नुभयो ।

Ads

Ad

Copyright Reserved by NepBrand