April 15, 2026

आठ पत्रकार सम्मानित तथा पुरस्कृत

तेह्रथुम, २ वैशाख ः नेपाल पत्रकार महासंघ तेह्रथुमले जिल्लाका आठ पत्रकारलाई पुरस्कृत गरेको छ ।
बुधबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ तेह्रथुमले वितरण गर्दै आएको यस वर्षको भगवानमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नरेश ढुंगाना पुरस्कृत हुनुभयो । तेह्रथुम एफएमका स्टेशन मेनेजर रहनुभएका ढुंगानालाई तेह्रथुमका अग्रज पत्रकार भगवानमान श्रेष्ठको स्मृतिमा उहाँको परिवारले स्थापना गरेको नगद रु.८ हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै तेह्रथुम विकास पत्रकारिता पुरस्कारबाट पत्रकार रुद्र गुरागाईं पुरस्कृत हुनुभएको छ । रु.५ हजार राशीको उक्त पुरस्कारबाट पुरस्कृत गुरागाईं रेडियो नेपालका तेह्रथुम संवाददाता हुनुहुन्छ ।
महासंघले तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत पत्रकारहरु सविना लुम्फुङ्वा, सोनी लिम्बू, कृतिका लिम्बू, सारदा बाँस्कोटा र रिजु कार्कीलाई त्यस्तै रेडियो तिनजुरे तेह्रथुममा कार्यरत मोनिका बराइलीलाई तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट पुरस्कृत ग¥यो ।
एक समारोहकाबिच कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं इस्बो, विशेष अतिथि, प्रमुख जिल्ला अधिकारी बन्दना राई र नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले पुरस्कृत पत्रकारहरुलाई सम्मान पत्र र नगद प्रदान गर्नुभएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ तेह्रथुमले प्रकाशन गरेको २०८३ सालको भित्ते पात्रोको बिमोचन समेत गरिएको महासंघ तेह्रथुम शाखाका सचिव कृष्ण विदुखी गौतमले बताउनुभयो ।

 

Ads

Ad

Copyright Reserved by NepBrand