March 30, 2026

पोक्लाबाङ साँस्कृतिक सङ्ग्रहालय निर्माण अन्तिम चरणमा

१६ चैत, तेह्रथुम ः जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ साँस्कृतिक संग्रहालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
लोपोन्मुख साँस्कृतिक वस्तुहरुको संरक्षणको लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करीब दुई किलोमिटर उत्तरमा साँस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिंगटीको छानो लगाइएको यू–आकारको ६ धुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

पोक्लाबाङलाई माङ्गेन्ना यक् मान्नेहरुको साझा संस्था पोक्लाबाङ यक् माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो । पोक्लाबाङलाई माङ्गेन्ना यक् मान्ने याक्थुङ (लिम्बू)हरु सँग सम्बन्धित पुराना साँस्कृतिक सामग्री, ऐतिहासिक कागजात, तत्कालीन गोर्खा–लिम्बुवान युद्धकालीन हातहतियार लगायतका सामग्री संकलन गरी संग्रहित गर्ने गरी सङ्ग्रहालय निर्माण भइरहेको संस्थाका सल्लाहकार समिति सदस्य विजय निङलेकुले बताउनुभयो ।

पोक्लाबाङ फेदाप क्षेत्रका १९ थरी याक्थुङ (लिम्बू)हरुले माङ्गेन्ना यक्का रुपमा मान्दै आएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष लोकबहादुर सिंगकले बताउनुभयो । याक्थुङ (लिम्बू) जाति अन्तर्गत प्रत्येक थरी र थर–समूहको आ–आफ्नो माङ्गेन्ना यक् हुन्छ । आफ्नो पूर्खा पहिलोपल्ट देखा परी घर–घडेरी बनाएको, भस्मे फाँडेर आवाद गरेको स्थानलाई उनीहरु माङ्गेन्ना यक्को रुपमा पुज्ने र पुकार्ने गर्देछन् ।
शहरी विकास मन्त्रालयको भ्याट सहित रु.२ करोड ७३ लाख बजेटमा मारुती विल्डर्स निर्माण कम्पनीले २०८१ साल असार महिनादेखि सङ्ग्रहालय निर्माणको काम सुरु गरेको थियो । बहूवर्षीय योजना अन्तर्गत निर्माण भइरहेको सङ्ग्रहालय भवन यो आर्थिक वर्षको अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका सव–इन्जिनियर सुवाश मगरले बताउनुभयो ।

स्थानीय दुई व्यक्तिले निशुल्क दान गरेको दुई रोपनी क्षेत्रफलमा निर्माणाधिन सङ्ग्रहालय निर्माण सम्पन्न पश्चात पोक्लाबाङ यक् साँस्कृतिक पर्यटकीय स्थल सँगै संस्कृति र इतिहास अध्ययनको केन्द्रको रुपमा विकास हुने विश्वास लिइएको पोक्लाबाङ यक् माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो ।

 

Ads

Ad

Copyright Reserved by NepBrand