१५ चैत, तेह्रथुमः नेपालको पूर्वी भू–भागमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायले उधौली र उभौली गरी वर्षमा दुई पटक प्रकृतिपूजा गर्ने गर्दछन् । उधौली अर्थात् चासोक तङनाममा पाकेका अन्नवाली मानिसले प्रयोग गर्नुपूर्व पितृ र प्रकृतिलाई चढाउने प्रचलन छ भने उभौली अर्थात् यक्वा तङनाममा छरपोख गर्नुपूर्व प्रकृतिको पूजा गर्ने परम्परा छ । संवत फेरिने समय चैत र बैसाख महिनामा यो पूजा गर्ने गरिन्छ । सोही अनुसार आइतबार तेह्रथुमका विभिन्न स्थानमा यक्वा पूजा गरी यक्वा तङनाम मनाइएको छ ।

तेह्रथुमको विभिन्न स्थानमा याक्थुङ (लिम्बू) समुदायले यक्वा र गैर लिम्बूहरुले धुले, धुर र संसारी पूजाका नामले सामूहिक रुपमा पूजा गर्ने गर्छन् । विशेषतः यक्वा पूजा किसानले छरपोख गर्नुपूर्व कुनै किसिमको प्राकृतिक विपत्ति नआओस, काम गर्ने क्रममा अप्रिय घटना नहोस, अन्नबाली राम्ररी उम्रियोस भनेर गरिने पूजा भएको आदिवासी जनजाती तेह्रथुम जिल्ला समन्वय परिषद अध्यक्ष बलदेव तुम्बाहाङफेले बताउनुभयो ।
यो पूजामा गाउँ–टोलका सबै जम्मा भएर स्थानीय पानीको स्रोत भएको स्थान अर्थात् मुहानमा गएर सामूहिक पूजा गरिन्छ । यक्वा पूजालाई गैर लिम्बूहरुले धुले पूजा पनि भन्ने गर्दछन् । यो अवसरमा एकापसमा हर्षबढाई गर्दै सामूहिक भोजन समेत गर्ने गरिन्छ ।

यो पूजामा प्रकृतिको पूजा गरिसकेपछि यहा चढाइएको अन्नबालीका बिउहरु घरमा लगेर खेतबारीमा छरेपछि मात्रै किसानले खेतबारीमा अन्नबाली छरपोख गर्ने बाटो खुल्ने जनविश्वासको परम्परा रहेको फेदाप गाउँपालिका–३ तोक्माका डम्बर बहादुर लिम्बूले बताउनुभयो ।
आ–आफ्नो गाउँ–समाजमा नौमति बाजाका साथमा विभिन्न परम्परागत खेल, नाचगान लगायतका कार्यक्रम गर्दे जिल्लाभरी नै हर्षोल्लासका साथ यक्वा पूजा गर्ने गरिन्छ । बाबु बाजेको पालादेखि नै हरेक साल सामुहिक रुपमा गर्ने यो पूजालाई आफूहरुले यथावत राखेर परम्परालाई जगेर्ना गरेकोे म्याङलुङ नगरपालिका–१० तम्फूलाका जयप्रसाद लिम्बूले बताउनुभयो ।

बिहान पुजा दिनभरी छेलो हान्ने, तिर हान्ने लगायतका परम्परागत खेल, नाचगान गरि साँझ झ्याम्टाको तालमा सामुहिक रुपमा एकै स्वरमा ‘पानी दे दे यतिले त पुगेन अझै दे द’े भनेर प्रकृतिलाई गुहार्ने गरिन्छ । त्यसरी पूजाबाट घरघरमा सत्बी बल्बी (बिउ बिजन) बाढ्दै नारासहित पानी माग्नेहरुलाई घरका सदस्यहरुले पानीले छ्याप्दै रमाइलो गर्ने गर्छन् । लिम्बुहरुको यक्वा पूजा र गैर लिम्बूहरुले धुर, धुले, संसारी पूजा नामले यो पूजालाई हर्षाेल्लासका साथमा मनाउने गरिन्छ । समाजका सबै जातजातीको परम्पराको मिश्रण रहेको यो पूजा परम्परागत संस्कार मात्र नभएर समाजमा एकता र सहिष्णुताप्रतिको भावनालाई अझ बलियो बनाउने माध्यम पनि रहेको म्याङलुङ–१० खाल्डेका अनन्त अधिकारीको भनाई छ ।

लोक जीवन पद्धतीसँग जोडिएका यस्ता परम्परागत प्रचलनहरु सामुदायिक एकताको महत्वपूर्ण कसी हुन्। त्यसैले यस्ता परम्परागत प्रचलनहरुको संरक्षणमा सबैले चासो दिनु आवस्यक छ ।