August 14, 2025

    मनु याक्थुङबा “ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२” द्धारा सम्मानित 

२९ साउन, तेह्रथुम । फोनिज तेह्रथुमका संस्थापक मनु याक्थुङबा, “ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२” बाट सम्मानित हुनुभएको छ ।
      नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज  तेह्रथुम शाखाले स्थापना गरेको उक्त पुरस्कार २६ औ फोनिज स्थापना दिवशको अवसरमा याक्थुङबालाई प्रदान गरेको हो ।
  तेह्रथुममा फोनिज स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका याक्थुङबा म्याङलुङ नपा–२ निबासी हुन्। पत्रकार याक्थुङबाले विगत १८ वर्षदेखि आदिवासी जनजातिको हक, अधिकार, कला, संस्कृति र पहिचानको विषयमा रेडियो तरङ्ग र कलमको माध्यमबाट निरन्तर रुपमा वहस, पैरवी गर्दै आएका छन्।
    पत्रकार याक्थुङबाको यहीँ योगदानको कदर गर्दै ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’को पहिलो संस्करणबाट पुरस्कृत एवम् सम्मानित गरिएको फोनिज तेह्रथुमका अध्यक्ष वविता राईले बताउनुभयो ।
      बुधवार शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो।
       कार्यक्रमको प्रमुख अतिथि म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफे विशेष अतिथि फोनिज १ नंवर प्रदेश अध्यक्ष विजयबोध लावती, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले याक्थुङबालाई दोसल्ला ओढाएर सम्मानपत्र सहित पुरस्कार बापतको रु १० हजार रकम हस्तान्तरण गर्नुभएको थियो ।
  आठराई गापा–७ थोक्लुङ घर भई हालः यूकेमा बस्दै आएका सामाजिक एवम् बौद्धिक व्यक्तित्व तारा बहादुर कन्दङवाले दुई लाख रुपैंयाँको कोष स्थापना गरिदिनुभएको हो । फोनिज तेह्रथुमको संस्थागत विकास साथै जिल्लाका फोनिजकर्मीहरुको योगदानको सम्मान स्वरुप आफूले पुरस्कार कोष स्थापना गरिदिएको कन्दङवाले बताउनुभयो ।
   कोषको व्याजबाट हरेक वर्ष फोनिज डे को अवसर पारेर फोनिजको संस्थागत विकास एवम् आदिवासी जनजातिको हक अधिकार स्थापना, कला, संस्कृति साथै आदिवासी पहिचानको उजागरमा महत्वपूर्ण योगदान पुर्याउने जिल्लाका एक फोनिजकर्मीलाई सो पुरस्कार प्रदान गरिने फोनिज तेह्रथमका कोषाध्यक्ष साम थाम्देनले बताउनुभयो ।
      पुरस्कार ग्रहण गर्दे पत्रकार याक्थुङबाले आदिवासीका मुद्धा र सवालहरु उठाइरहँदा कतिपयले आफूलाई जातिवादीको संज्ञा समेत दिएको तितो अनुभव सुनाउनुभयो। वर्षाेदेखि निरन्तर आदिवासीका सवालमा पैरवी गरिरहेको आफ्नो कामलाई मूल्याङ्कन गरेर प्रदान गरिएको पुरस्कारले आफूलाई वर्षाैपछि न्यायको महसुस भएको बताउनुभयो । साथै आदिवासीका मिचिएका हक अधिकारका विषयमा गहिरो अध्ययन अनुसन्धान गरी आवाजविहिन आदिवासीहरुका आवाजहरु बाहिर ल्याउन  सम्पुर्ण फोनिजकर्मीहरुलाई एक जुट भएर लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।
    शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष, प्रेस स्वतन्त्र सेनानी तथा प्रेस काउन्सिल नेपालका पूर्व प्रेस काउन्सिलर सञ्जय सन्तोषी राईले पत्रकारहरुले बिना चाकडी सहि सत्य सूचना प्रवाह गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
  अहिलेका पत्रकारहरु पार्टिमुखी, शासक प्रशासकहरुकै गुनगान गाएर जनतामुखी पत्रकारीता छाडेकोमा चिन्ता व्यक्त गर्दे पत्रकारहरुलाई आफ्नो धर्म निभाएर नागरिकका आवाजहरु ल्याउन आग्रह गर्नुभयो ।
     कुशासनको विरुद्धमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा सरकारी निकायहरुसँगै मिलेर पत्रकार प्रदेश समितिले भ्रष्टचारलाई बढावा दिने कार्यमा सम्लग्न देखिएको आरोप लगाउँदै उहाँले, देशको चौथो अंगको उपमा पाएको, अनियमितता वा गलत कार्यको निगरानीकर्ताको रुपमा रहेको पत्रकारजन्य संस्थाहरुनै यस्ता कार्यमा संलग्न हुँदा समग्र पत्रकारिता पेशामाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्ने  कुराको उहाँले जिकिर गर्नुभयो ।
    त्यसैगरी फोनिज १ नंवर प्रदेशका निवर्तमान अध्यक्ष सन्तविर लामाले आदिवासी जनजातिका संस्कार, संस्कृति, ऐतिहासिकताको राज्यले संरक्षण गर्नुपर्नेमा राज्य आफै लागेर ध्वस्त पार्नेतर्फ लागिरहेको बताउनुभयो ।
    आदिवासी लिम्बू जातिको सांस्कृतिक धरोहर ताप्लेजुङको प्रशिद्ध धार्मिक स्थल मुक्कुम्लुङ पाथिभरा क्षेत्रमा राष्ट्रिय फूल लालिगुराँसका हजारौ रुखहरु सरकारले नै एउटा निर्माण व्यवसायीलाई काट्न अनुमति दिनुले आदिवासीहरुको मौलिक हक अधिकारप्रति सरकार निर्मम देखिएको उहाँले बताउनुभयो ।
कतिपय आदिवासीहरुको संस्कारका कर्मकाण्डमा अनिवार्य चाहिने गाईको मासु, राष्ट्रिय जनावर भएकै कारण गाई मारेकै अभियोगमा फौजदारी मुद्धामा गम्भिर सजाय भोग्नुपरिरहेको अवस्थाको जिकिर गर्दे उहाँले राष्ट्रिय फूलको रुख काट्नेलाई किन? कारबाही गर्नुपर्ने व्यवस्था नभएको प्रश्न गर्नुभयो ।
      हजारौ वर्षदेखि त्यहाका आदिवासीहरुले संरक्षण गरिरहेको लालिगुराँस लगायत सो क्षेत्रका बनस्पतिहरुले पर्यावरण सन्तुलनमा ठुलो भूमिका खेलिरहेको त्यस्ता रुख र बनस्पतिको संरक्षण गर्नुपर्नेमा राज्य आफै बलजफ्तिका साथ ध्वस्त गर्नतर्फ लाग्नुले आदिवासीहरु प्रति सरकार निर्मम देखिएको उहाँले बताउनुभयो। आदिवासीहरुको भूमी, जल, जमिनसँगको अधिकारका विषयका आवाजहरु पत्रकारहरुले कलमका माध्यमबाट सशक्त ढंगबाट उठाउनुपर्ने अवस्था आएको समेत उहाँले बताउनुभयो।
   कार्यक्रमको विशेष अतिथि रहनुभएका फोनिज १ नंवर प्रदेश अध्यक्ष विजयबोध लावतीले आदिवासीका आवाजहरुलाई बुलन्द गर्न फोनिज १ नंवर प्रदेश सधै तत्पर रहने बताउनुभयो ।
     त्यसैगरी फोनिज स्थापना दिवशको शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले फोनिज लगायतका पत्रकारजन्य संस्थाहरुले आफ्ना पत्रकारहरुलाई पत्रकार तालिम प्रदान गर्दे पत्रकार आचारसंहिताका विषयमा जानकारी गराउन आग्रह गर्नुभयो । साथै जिल्लामा पत्रकार आचारसंहितामा रहेर समाचार सम्प्रेषण गराउने कार्यमा सम्पुर्ण पत्रकारहरुसँग समन्वय गर्न समेत पत्रकारजन्य संस्थाहरुलाई उहाँले आग्रह गर्नुभयो।
    कार्यक्रमका प्रमुख अतिथि  म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले  पत्रकारहरुलाई हौसला र प्रोत्साहन मिल्ने फोनिज पत्रकारिता पुरस्कार कोष स्थापना गरिदिएकोमा अक्षयकोषदाता समाजसेवि ताराबहादुर कन्दङवालाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै विदेशी भूमिमा रहेर पनि आफ्नो जिल्लाका फोनिजकर्मीहरुको लागि गरेको महत्वपूर्ण र उल्लेखनिय कार्य सह्रायनिय रहेको समेत उहाँले टिप्पणी गर्नुभयो । साथै फोनिजलाई सहयोग गर्ने विषयमा म्याङलुङ नगरपालिका सधै सकारात्मक रहने समेत उहाँले बताउनुभयो।
त्यसैगरी पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष टंकमाया तिगेला, किराँत याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष लोकबहादुर सिंगक लगायतले कार्यक्रममा मन्तव्य राख्दै फोनिज स्थापना दिवशको शुभकामना दिनुभएको थियो।
Ads

Ad

Copyright Reserved by NepBrand