August 10, 2025

तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार मनु याक्थुङबालाई प्रदान गरिने

२५ साउन २०८२, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुमले यस वर्षदेखि वितरण गर्ने ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार मनु याक्थुङबालाई प्रदान गर्ने भएको छ।

फोनिज तेह्रथुमको शनिबार बसेको कार्यसमिति बैठकले उक्त पुरस्कार फोनिज तेह्रथुमका संस्थापक अध्यक्ष याक्थुङबालाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशी सम्मान–पत्र सहित दश हजार रुपैंयाँ रहेको छ। पत्रकार याक्थुङबा वि.सं.२०६४ देखि तेह्रथुम जिल्लाकै पहिलो र ऐतिहासिक सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेममा कार्यरत छन्।

तेह्रथुममा फोनिज स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका याक्थुङबा म्याङलुङ नपा–२ निबासी हुन्। पत्रकार याक्थुङबाले विगत १८ वर्षदेखि आदिवासी जनजातिको हक, अधिकार, कला, संस्कृति र पहिचानको विषयमा रेडियो तरङ्ग र कलमको माध्यमबाट निरन्तर रुपमा वहस, पैरवी गर्दै आएका छन्।

पत्रकार याक्थुङबाको यहीँ योगदानको कदर गर्दै ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’को पहिलो संस्करणबाट पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरिएको फोनिज तेह्रथुमका अध्यक्ष वविता राईले बताइन्। उक्त पुरस्कार २६ औं फोनिज डे को शन्दर्भ पारेर यहीँ साउन २८ गते म्याङलुङमा आयोजित एक समारोहका बिच प्रदान गरिने अध्यक्ष राईले बताइन्।

उक्त पुरस्कारको लागि तेह्रथुमको आठराई गापा–७ थोक्लुङ घर भई हालः यूकेमा बस्दै आएका सामाजिक एवम् बौद्धिक व्यक्तित्व तारा बहादुर कन्दङवाले दुई लाख रुपैंयाँको कोष स्थापना गरिदिएका हुन्। फोनिज तेह्रथुमको संस्थागत विकास साथै जिल्लाका फोनिजकर्मीहरुको योगदानको सम्मान स्वरुप आफूले पुरस्कार कोष स्थापना गरिदिएको कन्दङवाले बताए।

कोषको व्याजबाट हरेक वर्ष फोनिज डे को अवसर पारेर फोनिजको संस्थागत विकास एवम् आदिवासी जनजातिको हक अधिकार स्थापना, कला, संस्कृति साथै आदिवासी पहिचानको उजागरमा महत्वपूर्ण योगदान पुर्याउने जिल्लाका एक फोनिजकर्मीलाई सो पुरस्कार प्रदान गरिने फोनिज तेह्रगुमले जनाएको छ।

Ads

Ad

Copyright Reserved by NepBrand