२२ साउन, तेह्रथुम २०८२ ः लिम्बू समुदायको परम्परा, संस्कृति र ग्रामीण जीवनशैलीका विविध आयामहरू उजागर गर्ने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘नाम–ओती’ तेह्रथुमको म्याङलुङ बजारमा विशेष प्रदर्शन गरिने भएको छ । प्रदर्शनका लागि साउन २९, ३० र ३१ गतेको मिति तय गरिएको छ । श्रीकृष्ण जन्माष्टमी तथा लाखे जात्राको सांस्कृतिक अवसर पारेर आयोजना गरिएको यस विशेष शोले जिल्लावासीमा खास उत्साह र अपेक्षा जन्माएको छ ।
‘नाङ्जङ फिल्म्स प्रा.लि.’ को प्रस्तुति रहेको यो चलचित्र गत जेठ ३१ गते राजधानी काठमाडौंमा भव्य प्रिमियरसहित सार्वजनिक गरिएको थियो । त्यसयता पूर्वी नेपालका विभिन्न जिल्ला तथा सहरहरूमा प्रदर्शन हुँदै आएको चलचित्र दर्शकमाझ अत्यन्तै लोकप्रिय र समीक्षात्मक रूपमा सफल सावित भएको छ ।
‘नाम–ओती’ चलचित्रको विशेषता भनेकै यसको छायाङ्कन स्थल र कलाकारको मौलिकता हो । सम्पूर्ण चलचित्र तेह्रथुम जिल्लाकै रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ । चलचित्रका मुख्य नायकको रूपमा देखिएका टीआर सेनेहाङ पेशाले पत्रकार हुन्, जसले स्थानिय परिवेश, बोलीचाली र चरित्रलाई जीवन्त रूपमा पर्दामा उतारेका छन् ।
चलचित्रमा स्थानीय कलाकारहरूको संलग्नताले कथावस्तुलाई अझ विश्वसनीय र आत्मीय बनाएको छ । निर्देशक द्वय दिलीप फुरुङ्वो र सूर्य बुनाथोकीले फिल्मलाई यथार्थपरक कथावस्तुमा अडान राखी निर्देशन गरेका छन्, जसले ग्रामिण समाजका विभिन्न तह, सोच र द्वन्द्वलाई प्रस्टसँग उजागर गर्छ ।
‘नाम–ओती’ केवल मनोरञ्जनको लागि बनाइएको चलचित्र मात्र होइन, यसले स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ, समकालीन राजनीति र पहिचानको मुद्दालाई कलात्मक तरिकाले उठान गरेको छ । युवापुस्ताको सोच, प्रेम, संघर्ष, आत्मगौरव र सामुदायिक सम्बन्ध जस्ता विषयहरूलाई समेत प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यस्ता मौलिकता, भावनात्मक गहिराइ र कलात्मक प्रस्तुति भएका चलचित्रले नेपाली चलचित्र उद्योगलाई नयाँ दिशा दिने विश्वास गरिएको छ ।
चलचित्रको कथा समाजमा देखा पर्ने मादक पदार्थ दुरुपयोग, पारिवारिक विघटन, र त्यसपछि हुने आत्मबोध र सुधारको प्रक्रियामा आधारित छ। कथाअनुसार, एक युवा मादक पदार्थको लतमा फसेपछि उसले परिवार र समाजसँगको सम्बन्ध बिगार्छ। जब पत्नीले छाडेर जान्छिन्, त्यसपछि मात्र ऊ आफैंलाई बुझ्न थाल्छ। पश्चातापपछि उसले आफूलाई सुधारेपछि समाज सेवामा होमिन्छ र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्ष पदमा विजयी हुन्छ।
चलचित्रले “आफूलाई बुझ्न सके समाजमा परिवर्तन ल्याउन सकिन्छ” भन्ने सशक्त सन्देश दिन्छ। लिम्बू समुदायको विवाह, मृत्यु संस्कार, परम्परागत पोशाक, गहना र सामाजिक परम्परालाई चलचित्रमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। चलचित्रले लिम्बू संस्कृति मात्र होइन, पूर्वी नेपालको ग्रामीण जीवन, अभाव, संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।
चलचित्रमा टिआर सेनेहाङ र कलाकार पूर्ण साँवा प्रमुख नायकको भूमिकामा छन्। हाङमा थेबे र रुबिना श्रेष्ठ मुख्य नायिकाका रूपमा देखिएका छन्। अन्य कलाकारहरूमा दुर्गा ईङ्नाम, सङित आङ्खेवा, ज्योती लिम्बु, कुमारी लिङ्देन, हस्तमाया फुरुम्बो, देउमान लिम्बु, डम्बर श्रेष्ठ, अनिता श्रेश्ठ, टेकराज तिगेला, पदममाया लिम्बु लगायत जिल्लाका स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ।
‘नाम–ओती’ चलचित्रले समाजमा सुधार सम्भव छ भन्ने विश्वास दिलाउँछ। साथै, यो चलचित्र लिम्बू समुदायको मौलिकता, ग्रामीण जीवनको यथार्थ, र सकारात्मक सामाजिक परिवर्तनको सन्देश बोकेर आएको छ। नेपालभित्र र बाहिर रहेका नेपाली दर्शकका लागि यो चलचित्र सांस्कृतिक चिनारी र सामाजिक चेतनाको बलियो माध्यम बन्ने अपेक्षा गरिएको छ।
तीन दिन, दुई शो—जिल्लावासीका लागि ऐतिहासिक मौका
चलचित्रको विशेष प्रदर्शन म्याङलुङ बजारस्थित टुडिखेलको हलमा हुनेछ । दर्शकको सुविधालाई ध्यान दिँदै प्रत्येक दिन दुई शो दिउँसो १२ः०० बजे र साँझ ५ः०० बजे प्रदर्शन हुने आयोजक पक्षले जनाएको छ ।
तेह्रथुमवासीका लागि यो चलचित्र केवल पर्दामा देखिने कथा होइन, यो आफ्नै भूमि र जीवनशैलीको अभिव्यक्ति हो, जसले सबै उमेर समूहका दर्शकलाई छुने विश्वास गरिएको छ । निर्माताका अनुसार चलचित्र पुर्वका विभिन्न जिल्लाहरूमा प्रदर्शन गरिनेछ भने विदेशमा रहेका नेपाली समुदायबीच पनि प्रदर्शनको तयारी भइरहेको छ।