तेह्रथुम, २ वैशाख ः जिल्लाको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा रहेको चो?लुङ पार्कमा नयाँ वर्ष २०८३ को दिन वैशाख एक गते मात्र रु.२ लाख भन्दा बढी राजश्व संकलन भएको छ ।
यहाँ पार्क तथा संग्रहालय अवलोकन, घोडचढी र मौलिक वस्त्र तथा आभूषण शीर्षकमा राजश्व संकलन हुने लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले बताउनुभयो । पार्कमा मंगलबार एकै दिन रु.२ लाख २१ हजार ५५० राजश्व संकलन भएको नगर प्रमुख माबुहाङले बताउनुभयो ।
गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेशद्वारको रुपमा रहेको पर्यटकीय बजार बसन्तपुरमा रैथाने वास्तु शैलीमा निर्मित चो?लुङ पार्क अवलोकनको लागि नयाँ वर्षको पहिलो दिन हजारौं पर्यटक पुगेका थिए । चो?लुङ पार्कमा गुराँस फुल्ने सिजनमा पर्यटकको घुइँचो नै लाग्छ । अन्य समयमा पनि पार्क आउने पर्यटकबाट दैनिक रु.६ हजार सम्म राजश्व संकलन हुने नगरपालिकाले जनाएको छ । पार्क अवलोकनको लागि रु.५० र पार्क र संग्रहालय दुबै अवलोकनको लागि नगरपालिकाले रु.१०० शुल्क लिने गरेको छ ।
नगर प्रमुख माबुहाङका अनुसार चो?लुङ पार्कमा युमा थिएटर र १८ औं शताब्दीताका पूर्वको इतिहास, परम्परा र राजनीति प्रतिबिम्बित हुने सिरिजंगा ग्यालरी पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । युमा थिएटर निर्माण पछि राती ११ः०० बजे सम्म रैथाने स्वर, संगीत, नृत्यु, प्रहसन प्रदर्शन गरिने उहाँले बताउनुभयो ।