३२ असार, तेह्रथुमः जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नवनियुक्त उपाध्यक्ष दुर्गा सिंगक लिम्बूले पदभार ग्रहण गर्नुभएको छ ।
बिहीबार सदरमुकाम म्याङलुङस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपाध्यक्ष लिम्बूले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गर्दै उहाँले तेह्रथुम जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासका लागि निष्ठापूर्वक, इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा म्याङलुङ नगरपालिकाकी उपमेयर जमुना कार्की सुवेदी, प्रदेश खेलकुद विकास बोर्डकी सदस्य देउमाता लिम्बू तथा जिल्लास्थित पूर्व खेलाडीहरूले उपाध्यक्ष लिम्बूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको जिल्ला खेलकुद विकास समिति तेह्रथुमका कार्यालय प्रमुख किशोर सम्बाहाङ्फेले बताउनुभयो ।
लिम्बूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले असार २१ गते जिल्ला खेलकुद विकास समिति तेह्रथुमको उपाध्यक्षमा नियुक्त गरेको थियो। उहाँसँगै नियुक्त भएका अध्यक्ष राजकुमार नेपालले भने यसअघि नै असार १७ गते पदभार ग्रहण गरिसक्नुभएको थियो।
कार्यक्रममा पूर्व खेलाडीहरूले तेह्रथुमको खेलकुद क्षेत्र अपेक्षाकृत पछि परेको उल्लेख गर्दै यसको समग्र विकासका लागि नयाँ नेतृत्वले निःस्वार्थ भावका साथ सक्रिय रूपमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।