१८ असार तेह्रथुमः म्याङलुङ नगरपालिकाले ४५ करोड ९५ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। बिहिवार नगरसभाको १७औँ अधिवेशनमा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरिएको हो।
प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ४० करोड ७५ लाख ४९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ६ करोड ६३ लाख १३ हजार ३०६ रुपैयाँ प्राप्त हुने उल्लेख छ। नगरपालिकाको आन्तरिक स्रोतबाट १ करोड २० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
बजेटमा नगरपालिकाको चालु खर्चतर्फ ८ करोड ६६ लाख २५ हजार ३०६ रुपैयाँ, नगर पुँजीगत खर्चतर्फ ४ करोड ५० लाख ३० हजार रुपैयाँ, वडा पुँजीगततर्फ ५ करोड ५० लाख रुपैयाँ, वडा चालुतर्फ ५० लाख रुपैयाँ, कार्यपालिका सदस्यतर्फ २४ लाख रुपैयाँ तथा न्यायिक समितितर्फ ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नीति तथा कार्यक्रमअन्तर्गत कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, सडक पूर्वाधार, पर्यटन, धार्मिक तथा सांस्कृतिक संरक्षण, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, रोजगार प्रवद्र्धन, महिला तथा बालबालिका, सहकारी, उद्योग तथा व्यवसाय प्रवद्र्धनलगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ मा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, पूर्वाधार विकासलाई निरन्तरता दिने, कृषि तथा उत्पादनमुखी क्षेत्रको विकास, सामाजिक विकास, सुशासन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरिएको म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो ।–––