७ साउन तेह्रथुमः तेह्रथुममा एक महिलाको हत्या गरी फरार रहेका आरोपितलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार आठराई गाउँपालिका–६, चुहानडाँडा सिमखर्कका ३८ वर्षीय कृष्णबहादुर लिम्बूले बुधबार बिहान करिब १०ः४० बजे छिमेकी तथा भाउजू नाता पर्ने रुपा कन्दङवा लिम्बूमाथि बाम्फक प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि कन्दङवा लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका आरोपित लिम्बूलाई सोही दिन राति करिब ११ बजे पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुम्लिबुङबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।
उहाका अनुसार सुम्लिबुङ आरोपितको ससुराली पर्ने भएकाले उनी त्यहाँ लुकेर बसेको हुन सक्ने आधारमा खोजी तथा अनुसन्धान गरिएको थियो ।
मृतक कन्दङवा लिम्बूको शव पोस्टमार्टमका लागि आठराई अस्पताल, सक्रान्ति बजारमा राखिएको छ। पक्राउ परेका आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।