June 14, 2026

म्याङलुङमा आधारभूत तहका २०० शिक्षकलाई क्षमता विकास तालिम

जेठ ३१ तेह्रथुमः म्याङलुङ नगरपालिकाले आधारभूत तहका शिक्षक–शिक्षिकाका लागि सञ्चालन गरेको छ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
पाठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन तथा शिक्षकको पेशागत विकास सहजीकरण कार्यक्रम–२०८३ अन्तर्गत तालिम सञ्चालन गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रभा राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा नगरपालिकाभित्रका २१ वटा आधारभूत तह (कक्षा १–५) मा अध्यापन गराउने २०० जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।
नगरपालिकामा हाल २१ वटा आधारभूत र छ वटा माध्यमिक गरी २७ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जेठ १८ गतेदेखि सुरु गरिएको तालिम विद्यालय बिदाका दिन शनिबार र आइतबार सञ्चालन गरिएको थियो ।
तालिमको सहजीकरण पाँच जना विषय विज्ञले गर्नुभएको प्रमुख राईले जानकारी दिनुभयो । सहजीकरण गर्नेहरूमा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद भट्टराई, शिंहबाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर लिम्बू तथा सोही विद्यालयका शिक्षकहरू कमल कार्की र प्रकाश दाहाल तथा कालिका माध्यमिक विद्यालयका शिक्षक दीपक सुवेदी रहनुभएको उहाँले बताउनुभयो ।
नगरपालिकाका छ वटा माध्यमिक विद्यालय—शिंहबाहिनी, सरस्वती, नारायण, कालिका, भगवती र हिमालय माध्यमिक विद्यालयलाई केन्द्र बनाएर तालिम सञ्चालन गरिएको थियो। पायक पर्ने स्थानका आधारभूत विद्यालयका शिक्षक–शिक्षिकालाई सम्बन्धित केन्द्रमा सहभागी गराइएको हिमालय माध्यमिक विद्यालय पिप्लेका प्रधानाध्यापक योगेन्द्र खत्रीले बताउनुभयो ।
सम्बन्धित विषय विज्ञहरूबाट प्राप्त तालिम दैनिक शिक्षण–सिकाइ क्रियाकलापमा उपयोगी रहेको जनता आधारभूत विद्यालयका शिक्षक नारायण निरौलाले बताउनुभयो ।

 

Ads

Ad

Ad

Copyright Reserved by NepBrand