जेठ २९ तेह्रथुम ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट तेह्रथुमका ई. सुरेन्द्र कार्की सह–महामन्त्री पदमा निर्वाचित हुनुभएको छ।
अधिवेशनमा सम्पन्न निर्वाचनमा कार्कीले १४६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम दुई प्रतिस्पर्धीले समान ३८–३८ मत प्राप्त गरेका थिए। कार्कीले प्रतिस्पर्धीभन्दा १०८ मत बढी ल्याउँदै करिब दुई तिहाइ मतसहित विजय हासिल गर्नुभएको हो।
अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूमध्ये कार्कीको मतान्तर सबैभन्दा बढी रहेको जनाइएको छ। उहाँको विजयलाई कोशी प्रदेशमा रास्वपाभित्रको बलियो जनसमर्थन र संगठनात्मक विश्वासको रूपमा हेरिएको छ।
तेह्रथुमका स्थायी बासिन्दा कार्की लामो समयदेखि इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। सह–महामन्त्रीमा निर्वाचित भएपछि उहाँले पार्टी संगठनलाई अझ सुदृढ बनाउने, जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने तथा कोशी प्रदेशमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
रास्वपाको प्रथम ऐतिहासिक प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी संगठन विस्तार र राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रास्वपाका सक्रिय नेता कार्की २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बन्नुभएको थियो। उक्त निर्वाचनमा उहाँ तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो।