June 12, 2026

म्याङलुङ नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण, कृषकलाई सहज

२९ जेठ तेह्रथुमः म्याङलुङ नगरपालिकाले कृषि यान्त्रीकरण तथा रैथाने बाली प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा २५२ थान कृषि उपकरण वितरण गरेको छ ।
नगरपालिकाले २३३ वटा हाते ट्याक्टर र १९ वटा कम्बाइन्ड मिल वितरण गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख सरु श्रेष्ठका अनुसार वडा नं ४, ६, ८ र ९ को बजेट तथा पालिकाको नियमित कार्यक्रमअन्तर्गत ती उपकरण खरिद गरी वितरण गरिएको हो । पालिकाका नौ वटा वडामा ती उपकरणहरू वितरण गरिसकिएको छ । वडा नं ४ का लागि भने ३३ वटा हाते ट्याक्टर वितरण गर्न तयारी अवस्थामा रहेको कृषि शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार कृषि क्षेत्रमा जनशक्ति अभाव भइरहेका बेला हाते ट्याक्टरको प्रयोगले खेतीपातीलाई सहज, छिटो र कम खर्चिलो बनाउने भएकाले कृषकलाई उक्त उपकरण उपलब्ध गराइएको हो ।
उहाँले कोदो, फापर, गहुँ, जौलगायत रैथाने बाली प्रशोधन गर्न समय र श्रम बढी लाग्ने भएकाले पछिल्लो समय कृषकले यस्ता बाली लगाउन छाड्दै गएको बताउनुभयो । रैथाने बाली संरक्षण तथा प्रवद्र्धनका लागि पालिकाले बिउबिजन वितरण, तिनको पोषण तथा स्वास्थ्यसम्बन्धी उपयोगिताबारे अभिमुखीकरण सञ्चालन गर्नुका साथै प्रशोधनलाई सहज बनाउन कम्बाइन्ड मिल वितरण गरेको उहाँको भनाइ छ ।
म्याङलुङ–१ भदौरेका कृषक ठगेन्द्र भण्डारीले हाते ट्याक्टरको प्रयोगले श्रम र समयको बचत हनुे बताउनुभयो । “एउटा ट्याक्टरले तीन–चार घरको खेत जोत्न पुग्छ । जोत्नकै लागि गोरु पाल्नुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ । गोरु पाल्न खर्चिलो हुने तथा त्यसका लागि आवश्यक घाँसपात अन्य पशुपालनमा उपयोग गर्न सकिने उहाँको भनाइ छ ।
म्याङलुङ–१ भ्युटावरका कृषक वीरेन्द्र तामाङले चितुवाको आक्रमणबाट गोरु घाइते भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता रहेको अवस्थामा पालिकाबाट हाते ट्याक्टर प्राप्त गरेपछि राहत मिलेको बताउनुभयो । ३५ रोपनी जग्गामा मकै, कोदो, तोरीलगायत बाली खेती गर्दै आउनुभएका उहाँले रु १९ हजार ७ सय तिरेपछि आधा लागतमा नगरपालिकाबाट हाते ट्याक्टर प्राप्त गर्नुभएको सुनाउनुभयो ।
“एक हल गोरु किन्न रु ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बहर गोरु ल्याए पनि त्यसलाई दाएर जोत्न बनाउनै वर्षदिन लाग्थ्यो । आफ्नामा थिएन ट्याक्टर अर्काकोबाट महंगो शुल्क तिरेर जोत्न लाइन्थ्यो । किन्न पनि पैसाको जोहो गर्न गाह्रो । पालिकाले अनुदानमा उपलब्ध गराएपछि खेती गर्न धेरै सहज हुने भयो” उहाँले भन्नुभयो ।
म्याङलुङ–१० ओख्रे तम्फुलाकी ईश्वरीमाया खड्काले रु १५ हजार ७ सय तिरेर कम्बाइन्ड मिल प्राप्त गर्नुभएको छ । कोदो फल्न तथा बेसार कुट्न ढिकीको प्रयोग गर्दै आउनुभएकी उहाँले आधा लागतमा मिल प्राप्त भएपछि खुसी लागेको सुनाउनुभयो ।
“आफैँले खरिद गर्दा पूरा रकम तिर्न गाह्रो हुन्थ्यो । पालिकाले ५० प्रतिशत अनुदानमा मिल उपलब्ध गराएपछि धेरै सहज भएको छ,” उहाँले भन्नुभयो ।

 

Ads

Ad

Ad

Copyright Reserved by NepBrand