११ चैत्र, तेह्रथुमः जिल्लास्थित म्याङलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार आयोजना गरिएको कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अहेब छविराम ढकालले पालिकामा सञ्चालन भइरहेको चरणबद्ध खोप कार्यक्रमको प्रस्तुती दिनुभयो। उहाँका अनुसार, आर्थिक वर्ष २०८२ मा जन्मेका ५१८ बालबालिकाले ५९ महिनासम्मको उमेरभित्र पूर्ण खोप प्राप्त गरेका छन् भने हाल २४९ बालबालिकाले खोप पाउँदै आएका छन् ।
गत मंसिरदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्रत्येक वडाका घरघरमा पुगेर खोप नपाएका बालबालिकालाई चिन्ह लगाउने र स्टिकर टाँस्ने कामसमेत गरेका छन्। २०८२ चैत ११ गतेसम्म १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले नियमित खोप पूरा गर्न योगदान पुर्याएबापत म्याङलुङ नगरपालिकाका १० वटै वडाका स्वास्थ्य कार्यालयहरूलाई सम्मान गरिएको छ । घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गुमानसिं इश्वो र म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले सम्मान पत्रका साथ १० वटै वडाका स्वास्थ्य चौकीका प्रमुखहरुलाई सम्मान पत्र प्रदान गर्दे सम्मान गर्नुभएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख जनस्वास्थ्य अधिकृत विनय ज्ञवालीले म्याङलुङ नगरपालिकालाई बधाई दिँदै पालिकास्तरिय नसर्ने रोग परीक्षणका लागि आवश्यक किट सामाग्री म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेलाई हस्तान्तरण गर्नुभयो ।
म्याङलुङ नगरपालिका यससँगै जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो पालिका बनेको छ।