२३ फागुन, तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकाललाई ८ सय ७९ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गरेका छन्।
यसअघि २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका किशोरचन्द्र दुलालसँग पराजित भएका सुब्बाले यसपटक कडा प्रतिस्पर्धाका बीच संघीय सांसद बन्ने अवसर प्राप्त गरेका हुन्।
प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बूले ५ हजार २ सय मत पाएका छन्।