सन्तोष सुब्बाः विद्यार्थी राजनीतिबाट संघीय सांसद सम्मको यात्रा
वि.सं. २०७९ को चुनावमा प्रदेश सभा सदस्यमा पराजय व्यहोरेका नेपाली काँग्रेसका सन्तोष सुब्बाले दुई वर्षपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हाँसिल गर्दे तेह्रथुमबाट संघीय सांसद चुनिनुभएको छ । गत भदौ २३ र २४ को जेन–जी आन्दोलको कारण प्रतिनिधिसभा विघटनपछि समयावधि अगावै भएको निर्वाचनमा सुब्बाले २०७९ मा नेकपा एमाले सँगको हारको बदला लिनुभएको हो ।
गत प्रदेशसभा सदस्य निर्वाचनमा तेह्रथुम क्षेत्र नं.१ मा तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा चुनाव लड्नुभएका सुब्बाले नेकपा एमालेका किशोरचन्द्र दुलालसँग हार व्यहोर्नुभएको थियो । तर, अहिले भने कुनै पार्टीसँगको गठबन्धन बिना नै एमाले सचिव भानुभक्त ढकाललाई पराजीत गर्दै सुब्बाले तेह्रथुममा काँग्रेसको साख बचाउनुभएको हो । उहाँले निकटम प्रतिद्धन्दी नेकपा एमालेका केन्द्रीय सचिव भानुभक्त ढकाललाई आठ सय ७९ मतले पराजीत गर्नुभएको हो ।
जिल्लामा सक्रिय राजनीतिक व्यक्तित्वको रुपमा परिचित सुब्बाले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्व चयन हुनुभएसँगै टिकट पाएका थिए । २०७९ मा भएको निर्वाचनमा सीता गुरुङ निर्वाचित भएको तेह्रथुममा यसपल्ट सन्तोष सुब्बाको जीत सँगै नेपाली काँग्रेसले लगातार दोस्रोपल्ट प्रतिनिधिसभा सदस्यको निर्वाचन जीतेको हो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा वि.सं. २०३४ साल मंसिर १३ गते जन्मनुभएका सन्तोष सुब्बाले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट एलएलवी सम्मको औपचारिक अध्ययन गरेका छन् । सुब्बा विद्यार्थी जीवनबाटै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको हो ।
वि.सं. २०५२ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहदाताका नेविसंघको सदस्य बन्नुभएका सुब्बा वि.सं. २०५५ सालमा नेपाल तरुण दलको पूर्णकालीन सदस्य, वि.स.ं. २०६२ सालमा नेपाल तरुण दल तेह्रथुमको जिल्ला अध्यक्ष बन्नुभएको थियो ।
त्यसयता जिल्लाको राजनीतिक गतिविधिमा निरन्तर सक्रिय देखिदै आउनुभएका सुब्बा नेपाली काँग्रेस तेह्रथुमका पटक–पटक निर्वाचित पदाधिकारी हुनुहुन्छ । वि.सं. २०६७ सालमा नेपाली काँग्रेस तेह्रथुमको कोषाध्यक्ष, वि.सं. २०७२ सालमा सचिव र वि.सं. २०७८ सालमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा निर्वाचित हुँदै सुब्बाले नेपाली काँगे्रसको पार्टीको नीति निर्माण तहमा पनि सहभागिता जनाउनुभएको छ ।
कानूनमा स्नातक गर्नुभएका सुब्बा कानूनको ज्ञान भएकाले नीति निर्माण, विधि र सुशासनका विषयमा स्पष्ट बुझाई भएका नेताको रुपमा चिनिनुहुन्छ । राजनीतिसँगै समाजसेवामा पनि सुब्बाको सक्रियता छ । उहाँले वि.सं. २०५६ सालमै चौतारी युवा क्लबको संस्थापक अध्यक्ष भएर सामाजिक काममा सक्रियता देखाउनुभएको थियो । उक्त क्लब मार्फत युवाहरूलाई सामाजिक अभियानमा जोड्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उहाँ तेह्रथुमको पर्यटन प्रवद्र्धनमा समेत अग्रसर रहँदै आउनुभएको छ । जिल्लामा रहेका प्राकृतिक, साँस्कृतिक र धार्मिक गन्तव्यहरूको प्रचार–प्रसार तथा सम्भावना उजागर गर्न उहाँले निरन्तर चासो देखाउँदै आएको स्थानीय बताउँछन् । निर्वाचनको प्रचारप्रसारताका सन्तोष सुब्बाले तेह्रथुमका मुख्य समस्या र सम्भावनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताउनुभएको थियो । उहाँको प्राथमिकतामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आदि रहेका छन् ।
जिल्लामा नेपाली काँग्रेस पार्टीभित्र संघर्षशील, संगठनमा क्रियाशील र जनसम्पर्कमा नजिक रहने नेताका रूपमा हेरिएका सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भए सँगै अब तेह्रथुमको समग्र विकासका निम्ति संघीय संसदमा कस्तो भूमिका निर्वाह गर्लान् त ? त्यो भने हेर्न बाँकी नै छ ।