२३ फागुन, तेह्रथुमः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा तेह्रथुममा प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्र्टीले सम्मानजनक मत ल्याएका छन् ।
यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुममा तत्कालिन नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । यो जिल्ला नेकपा एमालेको समेत पकड क्षेत्र मानिन्थ्यो र यहा कम आकिएका रास्वपा र श्रम संस्कृति पार्टीले सम्मानजनक मत पाएका हुन् ।
प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७, श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बूले ५ हजार २ सय मत प्राप्त गरेका छन् ।
उनीहरुले क्रमश तेस्रो र चौथो स्थान हासिल गरेका हुन् । यी मतले आगामी दिनमा तेह्रथुमको दलिय राजनीतिमा अर्थ राख्ने देखिन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रणध्वज कन्दङवाले भने अपेक्षित मत ल्याउन सकेनन् । उनले ७ सय ९० मत मात्रै ल्याए । १२ उम्मेदवार मध्ये उमेरले सबैभन्दा कान्छो र एक मात्रै महिला उम्मेदवार २६ वर्षिया उषालक्ष्मी तुम्बाहाङफेले २ सय ५७ मत पाइन् । उनी उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवार हुन् ।
कुल ७३ हजार १ सय ३७ मतदाता रहेका तेह्रथुममा ३९ हजार २ सय ९७ मत खसेको थियो । प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम आइसक्दा नेपाली कांग्रेसका सन्तोष सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गरेर विजयी हुँदा निकटम प्रतिद्धन्दी नेकपा एमालेका भानुभन्त ढकालले १० हजार ६ सय ८२ मत ल्याएर दोस्रो स्थान हासिल गरेका हुन् ।
प्रत्यक्ष तर्फको मत परिणाम आइसकेपश्चात समानुपातिकको मतगणना आज बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।