– खेमराज निरौला
३० माघ २०८१, तेह्रथुम । वैदेशिक रोजगार विभागका अनुुसार मङ्सिर महिनामा मात्र करिव ८४ हजारले अध्ययन र रोजगारीका लागि देश छाडेका छन् । यो हाल सम्मकै उच्च सङ्ख्या हो र यसले हाम्रो गन्तव्य कता हो भन्ने प्रश्न तेर्स्याएको छ । देशको राजनीतिक, सामाजिक, आर्थिक एवम् साँस्कृतिक स्थायित्वमा युवाको भूमिका अहम् हुने गर्दछ । यस अर्थमा युवा देश विकासका संवाहक हुन् । राष्ट्रका गहना हुन् । जुन देशले युवामा रहेका असङ्ख्य सम्भावनालाई समयमा चिन्न सक्दछ त्यहीँ देश आज सफल र समृद्ध बनेका छन् । आज युवामा गरिएको लगानी भोलिको देशको सुनौलो भविष्य निर्माणको आधार बन्न सक्छ । तर हाम्रो देशका युवाहरुको अवस्था भने बिल्कुलै टीठलाग्दो छ ।
विद्यालय तहको शिक्षा पूरा गर्दा नगर्दै विदेश पलायन हुने बाध्यताले देश युवा विहीन बन्दैछ । लक्ष्य र गन्तव्य नै विदेश पलायन हुने बढ्दो युवा मानसिकतालाई देशभित्रै सम्भावना छ, भन्ने आसा जगाउन जरुरी भइसकेको छ । दैनिक हजारौंको सङ्ख्यामा देश छाडेर रोजगारीको खोजिमा विदेशिनु देशका लागि क्षणिक फाइदा त होला, तर दीर्घकालीन रुपमा हेर्ने हो भने पलायन एक गम्भीर समस्याका रुपमा रहेको छ । उर्जाशील र सम्भावना बोकेका युवाहरुले आफ्नो देशमा रोजगारीका सम्भावना नदेख्नु कसको कमजोरी हो ।
कुनै पनि राज्य भनेको अभाव र पीडामा परेका नागरिकको सहारा हो । उनीहरुको अभिभावक पनि हो । बेसहारा र उत्पीडितहरुको आसा र भरोशा भनेकै राज्य हो । तिनै होनाहार युवाहरुको राज्यप्रति आसा र भरोसा रहदैन भने देश कसरी समृद्ध बन्ला ? यो हाम्रो जस्तो देशका लागि चिन्ताको विषय बन्ने गरेको छ । राज्य भनेको सरकार हो । सरकारले नागरिकमा आसा र भरोसा जगाउने काम गर्नु पर्दछ । सरकार बदलिँदो विश्व परिवेश अनुरुप रुपान्तरित नहुने र राष्ट्रिय शक्तिका रुपमा रहेका युवाका सरोकारप्रति सजग नबन्दा विद्रोह र असन्तुष्टीका स्वरहरु पनि क्रमशः सक्रिय बन्न थाल्छन् । त्यहीँ असन्तुष्टि र विद्रोह सरकार हुँदै व्यवस्था विरुद्धमा सोझिन थाल्यो भने देशले ठूलो क्षति पनि बेहोर्नुपर्ने हुन्छ । यस्तै असन्तुष्टि र विद्रोहले आजभन्दा ठिक एक वर्ष अगाडि इपिएस कोरिया काण्डमा दुईजना निर्दाेष युवाले ज्यान गुमाउनु पर्याे । यस्तो अवस्था उत्पन्न हुनु भनेको युवाप्रति नेतृत्वको गैर जिम्मेवारीपनको पराकाष्ठाका रुपमा बुझ्न सकिन्छ ।
देशमा हिजोआज सामाजिक सञ्जाल मार्फत् होस् वा सार्वजनिक स्थल, सडक, चियापसल वा नितान्तै व्यक्तिगत गफगाफ र छलफलमा पनि विदेश पलायन र जुनसुकै सरकार आए पनि अवस्था नसुध्रिएकोमा आक्रोश चुलिएको छ । जनचाहनालाई समयमै बुझ्न सकिएन, योजना र कार्यक्रम ल्याउन सकिएन भने सरकारप्रतिको घृणा र नैराश्यता यति साह्रो चुलिएर जाँदो रहेछ भन्ने प्रमाण सामाजिक सञ्जालमा आएका आक्रोशपूर्ण टिप्पणीले पुष्ठि गर्दछन् । देश भित्रको हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार र अनियमितताले अवस्थालाई प्रतिकुल बनाइरहँदा हरतवरले युवा बाध्य भएर जोखिमयुक्त काममा पनि विदेशिनु परेको छ । युवा पलायनको गति र विवशता हेर्ने हो भने जनसाङ्ख्यीक लाभबाट बञ्चित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । राज्य सञ्चालकप्रति नागरिकको श्रद्धा र आस्था त्यतिबेला सम्म जीवित रहन्छ जबसम्म उसका आधारभूत आवश्यकता पुरा गर्ने तर्फ राज्य सदा संवेदनशील रहन्छ, प्रयत्नशील रहन्छ । राज्य सञ्चालकको उदाशीनता र गैरजिम्मेवारीपनले जब नागरिकका दैनिकी कष्टकर बन्दै जान्छन् । प्रतिदिन ऋणको बोझ बढ्दै जान्छ । शिक्षा स्वास्थ्य र रोजगारीको अवसर महँगो बन्दै जान्छ तब कोही पनि एकै ठाउँमा स्थिर भएर रहन सक्दैन । आश्वासन र प्रतिबद्धताका ठेलीले मात्र जीवन चलाउन कठिन हुने हुँदा देश छोड्न बिवश हुनुपरेको तीतो यथार्थ हो ।
आजको दुनियाँ सामाजिक सञ्जाल र एआईको पञ्जामा छ । दुःख गरेर जसोतसो उब्जाएको कृषि उपजले बजार नपाउन, बिचौलियाको पाशामा सोझा र निमुखा किसान शिकार बन्ने, भ्रष्टाचार, कमिसन, घुसखोरी एवम् नातावाद र कृपावादले समाजको तल्लो तहसम्म नै जरा गाडिसकेको छ । यसैको प्रतिक्रिया हो, दैनिक त्रिभुवन विमानस्थलमा मलिन र बोझिलो अनुहारमा लामबद्ध हजारौँ युवाको लाम । आज माथिल्लो घरकोले विदेशबाट यति लाख लिएर आएछ, तल्ला घरकाले उति लाख कमाएछ, उसको छोरा बुहारी नै कोरिया जापान गएछन् जस्ता चर्चा र गुणगानले हाम्रा गाउँवस्ती र टोलटोल गुञ्जजयमान भएका छन् । सम्पन्नता, इज्जत र प्रतिष्ठा नै अब पढाई र डिग्रीमा होइन विदेशमा छ भन्ने भाष्यले जरा गाडिसकेको छ । यो भाष्यलाई परिवर्तन गर्न ठोस योजनाको खाँचो छ ।
दण्डहीनता, अविश्वास, राजनीतिक अस्थिरता, कुशासन र नातावाद जस्ता अवान्छित गतिविधिले प्रश्रय पाइरहँदा एक्लो र शक्तिहीन मान्छे यो देशमा रहेर केही गर्न नसक्ने अवस्था आउन सक्ने तर्फ बेलैमा सजग हुनुपर्दछ । यहाँ बसेर अब केही हुदैन भन्ने बढ्दो भाष्यलाई यसले थप मलजल गरिरहेको छ । यिनै अदृश्य र मनोवैज्ञानिक त्रासले युवा पलायनलाई पेचिलो बनाइरहेको छ । सरकारको नेतृत्व गर्ने दलहरु विकास, समृद्धि, सामाजिक अर्थिक रुपान्तरणका भव्य र कर्णप्रिय नारा लगाउँछन् । भरे नै भोलि नै केही भइहाल्ला कि जस्तो गरेर हल्ला मच्चाइरहन्छन् तर क्रमशः ती सबै हल्लामै सीमित हुन पुग्छन् । अवस्था यस्तै रहिरहने हो भने विकासका योजना तर्जुमा र कार्यान्वयन गर्ने बेलामा कतै जनशक्तिको अभावमा केही गर्न नसकिने अवस्था त बन्दै छैन ? त्यस तर्फ बेलैमा सजग भएर युवा लक्षित कार्यक्रम ल्याउनु पर्दछ ।
मानवीय पूँजीको अभावले देशको दुर्गती त हुने होइन ? त्यतातर्फ पनि सोच्ने बेला आइसकेको छ । विद्यार्थीको अभावमा स्कुल, कलेज र विश्व विद्यालयहरु नै बन्द हुने डरलाग्दो अवस्था नआउला भन्न पनि सकिदैन । जुन गतिमा उच्च शिक्षा र रोजगारीको खोजिमा युवा पलायन भइरहेका छन् यसले हाम्रा भौतिक संरचना र शैक्षिक जनशक्ति नै बेकम्मा हुने अवस्थातर्फ त उन्मुख भएका छैनौँ ? बेलैमा परिस्थितिको ठोस विश्लेषण गरेर तदनुरुपका कार्यक्रम ल्याउन जरुरी भइसकेको छ । प्रविधि र चेतनास्तरमा आएको विश्वव्यापी उभारले गर्दा आजको युवा एकठाउँमा सीमित रहन सक्दैन । यो विश्वव्यापी भएता पनि विकासशील मुलुकका लागि निकै चिन्ताको विषय बनेको छ । युवामा विकसित भइरहेको यस्तो विर्कषण हाम्रा लागि सबैभन्दा डरलाग्दो र निरासाजनक छ । आजको नेपाली युवाको मानसिकता परिवर्तन गराउन नसक्ने हो भने राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।
देशमा तीन तहका सरकार छन् । तर तीनै तहका सरकारका काम गर्ने शैली, योजना, कार्यक्रम, श्रमको उत्पादकत्व बृद्धि गर्ने योजनामा केन्द्रित छैनन् । श्रम र युवालाई जोडेर राष्ट्रिय उत्पादन वृद्धि गरी देशको अर्थतन्त्र मजबुद बनाउनेतर्फ तीनै तहका सरकार कार्यक्रम विहीन देखिनु झनै डरलाग्दो भएको छ ।
आत्मनिर्भर अर्थतन्त्रका लागि युवामा लगानी बढाउने भन्ने सोच राजनीतिक वृत्तमा देखिदैन । विदेशमा गएर सीप र प्रविधि सिकेर आएका युवाहरुलाई प्रयोग गरेर देश समृद्ध बनाउन सकिन्छ भन्नेतर्फ नसोचिएकाले नै युवा पलायन बढ्दो छ । विभिन्न बहुराष्ट्रिय कम्पनीमा काम गरेका उच्च जनशक्तिको सिप र क्षमतालाई प्रयोग गरेर देश समृद्ध बनाउन सकिन्छ । तर यसका लागि युवामा लगानी बढाउन जरुरी छ । विदेशमा गएर काम गर्नु नराम्रो भने पक्कै होइन तर कति समय अवधि सम्म विदेशमा काम गर्ने भनेर सरकारले समयसीमा तोकिदिनु पर्दछ । त्यसपछि स्वदेश फर्केर त्यहाँको सीप र प्रविधिलाई नेपाली माटोमा प्रयोग गरेर उपलब्धी हाँसिल गर्न सकिन्छ ।
हाम्रा शैक्षिक पाठ्यक्रमहरु रोजगार सिर्जना गर्ने नभई पढिसकेपछि रोजगारी खोज्नुपर्ने खालका छन् । व्यावहारिक र प्रयोगात्मक शिक्षा नहुँदा परम्परागत र सैद्धान्तिक ज्ञानले मात्र जीवन निर्वाह नहुने भएको छ । अनि जसोतसो उत्पादित जनशक्ति कि विदेश जाने कि त जागिर खोज्ने सोचमा लाग्न थाल्छन् । आफँै उद्यम गर्ने सोचको विकास हुन सकेको छैन । जागिर खान पनि कसैले भनसुन गरिदिनुपर्ने, शक्तिकेन्द्र गुहार्नुपर्ने कुनै दल विशेषको आशिर्वाद लिनुपर्ने विवसता हाम्रो मुलुकमा छ । यो पनि पार नलागे विदेश पलायन हुनुपर्ने अवस्थाले मुलुकको समृद्धिको यात्रामा कतै ठेस त पुग्ने होइन ।
विगत केही दशकदेखि सार्वजनिक मिडिया र राजनीतिक बहसमा सामाजिक, राजनीतिक र आर्थिक विकासको रुपान्तरणकारी शक्तिका रुपमा युवालाई अघि सारिएको छ । अझ भनौं खासगरी राजनीतिक दलहरुले भोट बैँकका रुपमा युवालाई बुझेका छन् तर न त संघीय सरकारसँग स्पष्ट योजना, नीति र कार्यक्रम नै छ, न त प्रदेश र स्थानीय सरकारसँग नै छ । युवा जनसङ्ख्याका साझा समस्या शिक्षा, स्वास्थ्य, रोजगारी र वातावरणीय मुद्धाहरुको एकमुष्ट सम्वोधन हुने नीति नवनुन्जेल पलायन रोक्न चुनौतिपूर्ण नै देखिन्छ ।
(लेखक शिक्षण पेशमा आबद्ध छन् । सं.)