September 27, 2024

तेह्रथुम जिल्लाको चिनारी

विक्रम लिम्बू ११ असोज २०८१, तेह्रथुम ।

१. पृष्ठभूमि

तेह्रथुम जिल्ला एक सुन्दर, शान्त र क्षेत्रफलको हिसाबले नेपालको पाँचौ सानो जिल्ला हो। सानो क्षेत्रफल भएतापनि प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधतायुक्त सम्पदाहरू रहेका छन्। विविध सम्पदाले युक्त पूर्वी जिल्ला तेह्रथुम प्रचार प्रसारको अभावमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रख्यात हुनबाट विमुख भएको कारण यहाँका पृथक सम्पदाहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार गरी पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्नु आजको आवश्यकता हो। तेह्रथुम मिलन स्मारिका मार्फत यस जिल्ला भित्रका मौलिक विशेषताहरू उजागर गर्दै सबै सामु तेह्रथुम जिल्लाको समग्र अवस्थाको जानकारी गराउने उद्देश्यका साथ विभिन्न महानुभावहरू तथा संस्था/निकायहरूबाट प्राप्त स्रोत सामग्रीहरू समावेश गरी विशेष धन्यवाद र कृतज्ञता सहित तेह्रथुम जिल्लाको चिनारी प्रस्तुत गरिएको छ।

२. नामाकरण

वि.सं १९५२ मा सत्र थुम मध्ये मित्लुङ्ग पहाड, झलहरा, बेलहरा र पान्थर थुम धनकुटामा रही बाँकी आठराई, फेदाप, याङवरक, पान्थर, ताप्लेजुङ्ग, मेवा खोला, मैवा खोला, तमोर खोला, पाँचखपन, दशमझिया, चैनपुर, सभा उत्तर र संखुवा उत्तर गरी तेह्र वटा थुमहरूको तिरो उठाउने गरी तेह्रथुम मालको स्थापना भएको थियो। नेपाल एकीकरण हुनु अघि हालको तेह्रथुम जिल्लाको भू–भाग पल्लो किराँतलिम्बूवान राज्य अन्तर्गत पर्दथ्यो। काठमाडौँमा मल्ल राजाहरूको शासनकालको समयमा यस भेगमा “हाङ”को दर्जाबाट लिम्बूहरू राज्य गर्दथे। त्यसताका अरुण नदीको वारि पट्टी पल्लोकिराँतलिम्बूवानका १७ थुममा दश जना हाङहरू राज्य गर्दथे। नेपाल एकीकरण अभियानका क्रममा पल्लोकिराँतलिम्बूवान र गोरखा राज्य बीच लालमोहर सन्धी भएपश्चात् इ.स.१७७४ देखि केन्द्रीय नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ। २०१८ सालमा नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरिएपछि यो जिल्ला एक जिल्लाका रूपमा हालसम्म अस्तित्वमा रहेको छ। तेह्र वटा थुमहरू मध्ये यस जिल्लामा आठराई, फेदाप, मैवा खोला र साबिक धनकुटा जिल्लामा रहेको छथर थुमको पूर्वी भागको क्षेत्र यस जिल्लामा कायम रही तिरो उठाउने माल अड्डा यसै जिल्लामा परेको हुँदा यस जिल्लाको नाम तेह्रथुम रहन गएको उल्लेख भएको पाइन्छ। यस क्षेत्रमा जम्मा १७ वटा थुमहरू थिए र ती थुमहरू मध्ये यहाँका राजाहरूले ४ वटा गुमाएर बाँकी रहेका १३ वटा थुमहरूका आधारमा यस जिल्लाको नाम तेह्रथुम रहन गएको हो भन्ने भनाई छ। नेपाली भाषामा थुम्को भन्नाले डाँडा वा ढिस्को भन्ने बुझिन्छ। यस जिल्लामा तीनजुरे पहाडका तीन वटा डाँडाहरूबाट गन्दै जाँदा थलाडॉडासम्म १३ वटा थुम्काहरू भएका कारण यसको नाम तेह्रथुम रहेको हुन सक्ने पनि भनाइ रहेको छ।

३. तेह्रथुम जिल्लाको नक्सा

४. भौगोलिक अवस्थिति, सिमाना तथा राजनैतिक, प्रशासनिक विभाजन

भौगोलिक अवस्थिति अनुसार तेह्रथुम जिल्ला २६°६६’देखि २७°३०’ उत्तरी अक्षांश र ८७°२५’देखि८७°४५’पूर्वीदेशान्तरभित्रपर्दछ।यसकोक्षेत्रफल६७९वर्गकिलोमिटरछ।योजिल्लाकोपूर्वतर्फताप्लेजुङ्गरपाँचथरजिल्ला, पश्चिमतर्फ धनकुटा जिल्ला, उत्तरतर्फ ताप्लेजुङ्ग र सङ्खुवासभा तथा दक्षिण तर्फ धनकुटा र पाँचथर जिल्लाहरू पर्दछन्। तेह्रथुम जिल्लालाई ४ गाउँपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ भने संघीय संसदीय निर्वाचन क्षेत्र १ र प्रदेश संसदीय निर्वाचन क्षेत्र २ रहेका छन्। यो जिल्लाको सदरमुकाम म्याङ्लुङ बजारमा रहेको छ।

५. भौगोलिक स्वरूप

तेह्रथुम जिल्ला मध्यपहाडी प्रदेशमा अवस्थित छ। जिल्लाको सबै भाग मध्यपहाडी क्षेत्रमा पर्दछ। यो जिल्ला महाभारत पर्वत श्रृङ्खलाको उत्तरी भागमा रहेको छ। तमोर नदी तथा अन्य खोला किनारामा केही टार र बेँसी रहे पनि यो जिल्लाको अधिकांश भाग सामान्य भिरालो रहेको छ।

६. भू–क्षेत्र

नेपाल सरकार नापी विभागबाट सन् १९९५ मा प्रकाशित नक्सा अनुसार यस जिल्लाको भू–धरातलीय स्थिति समुद्र सतहबाट ३२२ मिटरदेखि ३०३४ क्षेत्र भित्र फैलिएको छ। सबैभन्दा उच्च स्थान लालीगुराँस नगरपालिकामा क्षेत्रमा रहेको छ भने सबै भन्दा होचो स्थान छथर गाउँपालिकाको पञ्चकन्याको त्रिवेणी क्षेत्र पर्दछ। यो जिल्लाको अधिकांश भू–भागको भिरालोपना करिब २०० देखि ३०० सम्म रहेको छ भने ३०० भन्दा बढी भिरालोपन भएको जमिनले जिल्लाको करिब एक तिहाइ क्षेत्रफल ओगटेको अनुमान छ।

७. जलवायु

जिल्लाको भू–धरातलीय स्वरूपमा विविधता भएको कारणले उचाइ अनुसार हावापानीमा विविधता पाइन्छ। जिल्लामा मनसुनी हावापानीको प्रभाव रहने गरेको छ। दक्षिण–पूर्वी मनसुनी वायुले यो जिल्लामा साधारणतः जेठदेखि असोज महिनासम्म पानी पर्दछ।कहिलेकाहीँ पश्चिमी वायुले पनि भारी वर्षा गराउने गरेको छ। पश्चिमी भेगबाट बहने जलवाष्पपूर्ण हावाले हिउँदका दिनहरूमा पनि केही वर्षा गराउँछ। यस जिल्लामा समष्टिगत रूपमा समशीतोष्ण प्रदेशीय र शीतोष्ण प्रदेशीय हावापानी पाइन्छ। जिल्लाका तीनजुरे मिल्के क्षेत्रमा सधैँ चिसो हावापानी पाइन्छ भने तमोरका तटीय क्षेत्रमा गर्मी याममा अत्यन्त गर्मी हुन्छ।

८. जलभण्डार

जल भण्डार वा जलश्रोतको हिसाबले तेह्रथुम जिल्लामा तमोर नदी, खोरुङ्गा, ताङमाया, इवा,कोया, लम्बु, पिगुवा,रुपा,हिउँदिया, फुगुवा र तेलिया लगायत अनेकौँ साना, ठुला खोलाहरू यो जिल्लामा प्रवाहित रहेका छन्।

९.प्रमुख व्यापारीक केन्द्र

यो जिल्ला व्यापारिक दृष्टिकोणले केन्द्रको रूपमा रहेको जिल्लाको रूपमा देखिँदैन। तथापि, जिल्लाका केही व्यापारिक केन्द्रहरू जस्तै म्याङ्लुङ बजार, जिरिखिम्ती, बसन्तपुर, शुक्रबारे, औंसीडाँडा, संक्रान्तीबजार प्रमुख हुन्। जिल्लामा कति थोक तथा खुद्रा पसल छन् भन्ने तथ्याङ्क र सूचनाको अभावमा यसको स्थिति विश्लेषण गर्न सकिएको छैन, तथापि तेह्रथुम जिल्ला उद्योग वाणिज्य संघबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार त्यस निकायमा दर्ता भएको तथ्याङ्कले केही मात्र सत्य स्थिति जनाउने अवस्था छ।

१०. पर्यटकीय तथा धार्मिक स्थान

तेह्रथुम जिल्लाका विभिन्न स्थानीय तहहरुमा अवस्थित पर्यटकीय तथा धार्मिक स्थलहरु को विवरणः

क. म्याङलुङ नगरपालिकाः

पाथीभरा मन्दिरःम्याङ्लुङ बजारभन्दा करिब १ कि.मि.को दुरीमा अग्लो स्थानमा अवस्थित यस मन्दिरमा विभिन्न समयमा पूजाआजा हुनुका साथै यसको परिसरबाट म्याङ्लुङ बजारको सुन्दर दृश्य स्पष्ट दर्शन गर्न सकिन्छ।

 

मेयङलुङ देवी मन्दिरः म्याङ्लुङ बजारको केन्द्रमा रहेको यस स्थानको छुट्टै ऐतिहासिक महत्त्व रहेको छ। किंवदन्ती अनुसार यस ठाउँमा बाटो हिँड्ने बटुवाहरू बेलुका बास बस्ने क्रममा खाना पकाउन ढुङ्गाको अगेना बनाएर खाना बनाउँदा मेयङलुङ देवीको प्रभावले चामल पानी हलचल भई पोखिएको र बटुवालाई रिस उठेपछी रिसले खुकुरीले अगेनाको ढुङ्गालाई हान्दा बिरालोको रूपमा देवी उत्पत्ति भएको भनाई छ। साथै देवीको अपमान गरी बटुवाहरू बाटो लागेको हुनाले केही पर बसपार्क नजिकै पुग्दा देवीले बाघको रूप धारण गरी बटुवाहरू मारिएको र आक्रोशको बेला नजिकै रहेको ढुङ्गामा चिथोरेको हुनाले त्यो बाघले चिथोरेको ठाउँमा समेत मन्दिर स्थापना गरिएको छ र बिरालो उत्पत्ति भएको ठाउँमा मेयङलुङ देवी मन्दिर स्थापना भएको भन्ने भनाई छ।

 

याकेकनेवा फुक्कु खुर्कुट्टे पार्कः म्याङ्लुङ बजार नजिकै नवनिर्मित यस पार्कको विशेष ऐतिहासिक महत्त्व रहेको छ। विगतमा यस ठाउँमा सिकार खेल्नको लागि स्थानीयहरू भिरको ढुङ्गामुनि ओडार बनाई बस्ने गर्दथे। यही भिरमा रहेको सिकारी बस्ने ओडारको नाममा याकेकनेवा फुक्कु खुर्कुट्टे पार्क नामाकरण गरिएको भन्ने भनाई रहेको छ। साथै पर्यटकीय आकर्षणको लागि यस पार्कबाट म्याङ्लुङ भ्यू पोइन्ट र पार्क सम्म पदमार्ग निर्माण गरिएको छ।

 

 कर्माछ्योलिङ गुम्बाः म्याङ्लुङ नगरपालिका वडा नम्बर ७ मा अवस्थित यो गुम्बा बौद्ध धर्मावलम्बीहरूको साथसाथै अन्य धर्मावलम्बीहरूको समेत आस्थाको केन्द्र हो। विशेष गरी चैते र भोटेछापका गुरुङ समुदायहरूको उपस्थिति रहने यस स्थानमा वर्षेनी मेला समेत लाग्ने गर्दछ।

 

म्याङलुङ भ्यू पोइन्ट र पार्कःम्याङ्लुङ बजारभन्दा ३ कि.मि.को दुरीमा रहेको यो पार्क अग्लो स्थानमा रहेको हुनाले तेह्रथुम जिल्लाको मुख्य आकर्षण तिनजुरे डाँडा, छेले डाँडा, मेन्छ्यायेम डाँडा, पोक्लावाङ, जलजले, तमोर नदी र पाँचथरको फिदिम लगायत अन्य स्थानहरू समेत देख्‍न सकिने हुँदा अत्यन्तै रमणीय स्थलको रूपमा लिन सकिन्छ।

 

 

लुङतरङ झरना: म्याङ्लुङ नगरपालिका वडा नं. ८ र ९ को सिमानामा रहेको यस झरना निकै आकर्षक रहेको छ। लुङतरङ खोलामा रहेको कारण यसको नाम लुङतरङ झरना रहेको हो। लिम्बू भाषामा लुङ भन्नाले ढुङ्गा र तरङ भन्नाले पुल हुन्छ। यस खोलाको विभिन्न स्थानहरूमा ढुङ्गाको पुल हाली आवतजावत गरिने हुनाले लुङतरङ खोला नाम भई झरनाको नाम पनि सोही बमोजिम रहेको मान्यता छ।

 

अन्य स्थलहरू:

– सिमिनाक्सी मन्दिर, जिरिखिम्ती

– शिव मन्दिर, जिरिखिम्ती

– च्याहाङमा देवी, कोबेक

– पेलेङ थेगु, पिप्ले

– रानीपोखरी(याङ्साहाङ्‍मा वरक), पाटिगाउँ

– हाङसाम थेवा युक्ना, आम्देन

– खोरण्डे गुफा, जिरिखिम्ती

ख. लालीगुराँस नगरपालिका

सोल्मा चिया बगान:लालीगुराँस नगरपालिका वडा नं. ८ मा अवस्थित यस चिया बगान निकै आकर्षक रहेको छ। करिब १३२ रोपनी मा फैलिएको यस चिया बगानको प्रवर्द्धन गर्न साथै जिल्ला भित्रका विभिन्न स्थानमा चिया तथा कफी खेती प्रवर्द्धन गर्न चिया तथा कफी विकास कार्यालय समेत रहेको छ।

 

धनरुपा पार्क लसुने:लालीगुराँस नगरपालिका वडा नं. ७मा अवस्थित यो सुन्दर पार्क १० वर्षे जनयुद्धको क्रममा शहादत प्राप्त गरेका शहीदहरूको स्मृतिमा बनाइएको हो। यो पार्क आफैँमा आकर्षक हुनुको साथै यहाँबाट लसुने बजार, बसन्तपुर बजार लगायत अन्य सुन्दर ठाउँहरूको दृश्यावलोकन गर्न समेत पाइन्छ।

  

  चोःलुङ पार्क: चोःलुङ पार्क तेह्रथुम जिल्लाकै सम्भवतः सबैभन्दा चर्चित र सुन्दर स्थान हो। लिम्बू भाषामा चोःलुङ भन्नाले शिर/प्रतिष्ठा भन्ने बुझिन्छ। लिम्बूहरूको जन्मदेखि मृत्यु सम्म हरेक संस्कार गर्दा अपनाइने विधिहरूको जानकारी प्राप्त हुने गरी तथा लिम्बू समुदायमा प्रयोग गरिने साधनहरूको समेत सङ्ग्रहालय बनाई पुरानो मौलिक लिम्बू घरको संरचना बनाएर कलात्मक रूपमा यो पार्कको निर्माण गरिएको छ। यस पार्कमा घुमघाम गरी रमाइलो गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ।

 

तिनजुरे-मिल्के-जलजले क्षेत्र: यस क्षेत्र लालीगुराँस नगरपालिका भित्र पर्दछ। गुराँस फुल्ने मौसममा धेरै प्रजातिका गुराँसहरूको संयोजनबाट अत्यन्तै आकर्षक दृश्य देखिनुको साथै यस क्षेत्रबाट मकालु, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको मनमोहक दृश्य देखिने भएकाले पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

आर. आर. गार्डेन: लालीगुराँस नगरपालिका वडा नं. १ मा अवस्थित यो पृथक पार्क विशेष गरी लालीगुराँस र विभिन्न ढुङ्गाबाट बनेका संरचनाहरूबाट सुसज्जित पार्क हो। त्यसैले यसलाई Rhododendron and Rock (R.R) नामाकरण गरिएको हो। त्यसबाहेक सुन्दर पोखरी र अन्य मनोरञ्जनात्मक संरचनाले बनेको यो पार्कमा वनभोज खाने र रमाइलो गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ।

 ग. फेदाप गाउँपालिका

ह्यात्रुङ झरना: साबिक ईसिबु र सम्दू हाल फेदाप गाउँपालिका वडा नं. ४र ५ को सिमानामा रहेको ३६५मि. उचाइ भएको यो झरना नेपालको सबैभन्दा अग्लो झरनाको रूपमा परिचित रहेको छ। अग्लो पहराबाट हिंगुवा खोलाको पानी झर्ने यस झरनालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न प्रयासहरू भइरहेको छ।

 

 मझौ गुफा: फेदाप गाउँपालिका वडा नम्बर २ मा अवस्थित यो गुफा तेह्रथुमको एक पर्यटकीय क्षेत्र हो। गुफाको साहसिक यात्राको अनुभव लिन चाहने महानुभावहरूको विशेष आकर्षणमा यो गुफा पनि रहेको छ।

 चिजिलिङ पोखरी: फेदाप गाउँपालिका वडा नं. ३मा रहेको यो पोखरी निकै आकर्षक रहेको छ। यो पोखरीको नाम लिम्बू भाषाबाट राखिएको पाइन्छ। लिम्बू भाषामा चिजि भनेको अलिअलि र लिङ भन्नाले पलाउँछ/उम्रिन्छ भन्ने हुन्छ। यस ठाउँमा अलिअलि पानी उम्रने हुनाले यस पोखरीको नाम चिजिलिङ पोखरी रहेको भन्ने भनाई छ। यो पोखरी नजिकैको डाँडाबाट आठराई गा.पा. र फेदाप गा.पा.का विभिन्न रमणीय स्थलहरूको समेत अवलोकन गर्न सकिन्छ।

 

घ. मेन्छ्यायेम गाउँपालिका

मेन्छ्यायेम डाँडा: तेह्रथुम जिल्लाको पर्यटकीय धरोहरको रूपमा रहेको यो डाँडाको छुट्टै ऐतिहासिक महत्त्व रहेको छ। लिम्बू भाषामा मेन्छ्या भन्नाले तरुनी र येप भन्नाले उभिएको भन्ने हुन्छ। झट्ट हेर्दा मान्छे जस्तै देखिने यो डाँडाको नाम मेन्छ्यायेपबाट अपभ्रंश हुँदै मेन्छ्यायेम भएको भन्ने भनाई छ।

 गौखुरी गुफा: मेन्छ्यायेम गाउँपालिका वडा नं. ५मा अवस्थित यो गुफा पुरानो चर्चित गुफा हो। सानो ढुङ्गाको चेपबाट छिर्ने र अर्को ठाउँमा निस्कने संरचना रहेको यस गुफामा जतिसुकै मोटाई भएपनि धर्मात्मा मान्छे मात्रै छिर्न सकिने र अधर्मी मानिस छिर्न नसक्ने विश्वास गरिन्छ। यस गुफाभित्र सुन्दर ढुङ्गाबाट बनेको गाईको आकृति भएको हुनाले गौखुरी नामाकरण भएको भन्ने भनाई छ। यस स्थानमा पुरानो ऐतिहासिक माघेनी मेला प्रत्येक वर्ष माघ १ गते लाग्ने गर्दछ।

बोक्सी मार्ने ढुङ्गाः एक ऐतिहासिक स्थलको रूपमा मेन्छ्यायेम गा.पा.को चर्चित ठाउँ हो बोक्सी मार्ने ढुङ्गा। तत्कालीन लिम्बू राजा तेनहाङले समाजमा जघन्य अपराध गर्ने व्यक्तिलाई यस ठाउँमा मृत्युदण्ड दिने गर्दथे। तसर्थ, न्याय निसाफ गर्ने ठाउँ भनेर यो ठाउँ अझै पनि चर्चित रहेको छ।

 

ङ. आठराई गाउँपालिका

आमा भ्यू टावर र पार्क:आफ्नो आमाको नाममा निर्मित भ्यू टावर र आसपासका रमाइलो ठाउँहरूलाई समेटेर बनाइएको आठराई गा.पा. वडा नं. २ खाम्लालुङमा अवस्थित यो पार्क तेह्रथुमको एक सुन्दर पार्क हो। पछिल्लो समयमा स्थानीय सरकारको अग्रसरतामा यो पार्कको प्रचार प्रसार र प्रवर्द्धनले गति लिएको पाइन्छ।

छातेढुङ्गाः ऐतिहासिक छातेढुङ्गा एक रमणीय स्थलको रूपमा रहेको छ। छाता जस्ता आकार प्रकारका ढुङ्गाहरूको संरचनाले बनेको यो पर्यटकीय ठाउँकै आधारमा तत्कालीन गा.वि.स.को नाम समेत छातेढुङ्गा रहेको थियो।

झाँक्री गुफा: आठराई गा.पा. वडा नं. २ मा अवस्थित झाँक्री गुफा लाई एक रमणीय स्थलको रूपमा लिन सकिन्छ। आमा भ्यू टावर र पार्क नजिकै रहेको यस गुफामा वनझाँक्री बस्ने गरेको हुँदा नाम पनि झाँक्री गुफा रहेको भन्ने भनाई छ।

रमिते शहीद स्मारक पार्क: १० वर्षे जनयुद्ध कालमा वीरगति प्राप्त गरेका शहीदहरूको सम्झनामा निर्मित यो पार्क एक सुन्दर पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ। रमिते बगाले वन क्षेत्रमा अवस्थित यो पार्क आठराई गा.पा. वडा नं. ३ मा रहेको छ।

च. छथर गाउँपालिका

मार्गा पोखरी: मार्गा पोखरी छथर गा.पा. वडा नं. १मा अवस्थित एक सुन्दर क्षेत्र हो। पछिल्लो समय पर्यटन प्रवर्द्धनको अवधारणा अनुरूप स्थानीय सरकार तथा स्थानीय नागरिकहरूको अग्रसरतामा यो पोखरीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न लागि परेको पाइन्छ।

 चाङलुङ गुफा र पार्क: छथर गा.पा. वडा नं ६ सुदापमा अवस्थित यो गुफा एक अद्भुत संरचना रहेको छ। गुफाको फेदबाट छिरेर करिब १५० मि. हिँडेपछि टुप्पोमा निस्कन सकिने यो गुफा वरपर ढुङ्गै ढुङ्गाको चाङ रहेको छ। ढुङ्गै ढुङ्गाको चाङबाट यो संरचना बनेको हुनाले स्थानीय लिम्बू भाषामा यसलाई “चाङलुङ” अथवा “ढुङ्गै ढुङ्गाको चाङ” भएको गुफा भनिएको हो। गुफालाई थप आकर्षक बनाउन विभिन्न सौन्दर्यीकरण गर्नुका साथै बाघ र विभिन्न जनावरहरूको संरचना बनाई आकर्षक पार्क समेत निर्माण गरिएको छ।

११. जनसंख्याको आकार

क. स्थानीय तह अनुसार तेह्रथुम जिल्लाको जनसंख्या

तेह्रथुम जिल्लामा जम्मा घर परिवार संख्या २१,८५७ रहेको छ भने जम्मा जनसंख्या ८८,७३१ रहेको छ जसमध्ये पुरुषको संख्या ४३,५८१ (४९.१२%) र महिलाको जनसंख्या ४५,१५० (५०.८८%) रहेको छ।

स्थानीय तह २०६८ २०७८
परिवार संख्या जम्मा जनसंख्या परिवार संख्या जम्मा जनसंख्या पुरूष महिला परिवारको औषत आकार लैङ्गिक अनुपात वार्षिक जनसंख्या वृद्धीदर (%) जनघनत्व
आठराई 4578 21747 4373 18156 8956 9200 4.15 97.35 -1.73 109
फेदाप 3804 17700 3662 15169 7481 7688 4.14 97.31 -1.48 137
मेन्छ्यायेम 1794 8078 1703 6678 3253 3425 3.92 94.98 -1.83 95
म्याङलुङ 4595 19659 4872 18750 9114 9636 3.85 94.58 -0.45 187
लालीगुराँस 3677 16934 3759 15329 7413 7916 4.08 93.65 -0.96 170
छथर 3636 16715 3476 14197 6931 7266 4.08 95.39 -1.57 106
संस्थागत 10 744 12 452 433 19
जम्मा 22094 101577 21857 88731 43581 45150 4.06 96.52 -1.30 131

स्रोतः राष्ट्रिय जनगणना, २०७८

 

स्रोतः राष्ट्रिय जनगणना, २०७८

 

ख. स्थानीय तह अनुसार तेह्रथुम जिल्लाको साक्षरता दर

तेह्रथुम जिल्लाका ५ वर्ष माथिका जम्मा जनसंख्या ८१,९८२ मध्ये ८१.९४%(६७१७८) जना साक्षर रहेको पाइयो। सबैभन्दा बढी र कम साक्षरता भएको स्थानीय तहहरुमा क्रमशः म्याङलुङ (८५.६४%) र छथर (७९.०८%) रहेका छन्।

  जम्मा पुरुष महिला
आठराई 82.25 89.20 75.53
फेदाप 80.27 87.97 72.86
मेन्छ्यायेम 80.19 87.40 73.46
म्याङलुङ 85.64 92.89 78.87
लालीगुराँस 81.63 89.22 74.72
छथर 79.08 86.27 72.29
संस्थागत 96.89 97.00 94.12
जम्मा 81.94 89.25 74.96

 

 

स्रोतः राष्ट्रिय जनगणना, २०७८

 

ग. जातजाती अनुसार जनसंख्या

राष्ट्रिय जनगणना २०७८ अनुसार तेह्रथुम जिल्लामा जम्मा ३९ वटा जात/जातीको बसोबास रहेको देखिन्छ। जसमध्ये पहिलो र दोस्रो धेरै जनसंख्या भएका जात/जातीमा लिम्बू र क्षेत्री हुन् भने सबैभन्दा कम जनसंख्या हुने जात/जातीमा धानुक र बराई हुन्।

जात/जाती जम्मा पुरुष महिला
याक्थुङ/लिम्बु 32297 15881 16416
क्षेत्री 17220 8484 8736
ब्राह्मण (पहाड) 9856 4935 4921
तामाङ्ग 6127 2986 3141
विश्वकर्मा 3834 1829 2005
परियार 3042 1463 1579
गुरूङ्ग 2893 1393 1500
नेवार 2521 1242 1279
मगर 2470 1201 1269
राई 1597 756 841
शेर्पा 1405 660 745
मिजार 1330 674 656
घर्ती/भुजेल 1207 585 622
अन्य 2932 1492 1440
जम्मा 88731 43581 45150

स्रोतः राष्ट्रिय जनगणना, २०७८

 

 

 

 

घ. भाषा अनुसार जनसंख्या

राष्ट्रिय जनगणना, २०७८ अनुसार तेह्रथुम जिल्लामा जम्मा २९ वटा भाषा मातृभाषाका रूपमा रहेका छन् जसमध्ये सबैभन्दा बढी संख्याको मातृभाषा नेपाली भाषा र सबैभन्दा कमको मातृभाषा बैतेडेली रहेको देखिन्छ।

मातृभाषा जम्मा पुरुष महिला
नेपाली 44931 22056 22875
याक्थुङ/लिम्बु 30135 14837 15298
तामाङ 5555 2689 2866
मगर 2219 1075 1144
गुरुङ 1207 592 615
शेर्पा 1105 519 586
नेवारी 942 473 469
राई 542 224 318
कुलुङ 469 240 229
भुजेल 310 150 160
मैथिली 291 183 108
वाम्वुले 166 79 87
माझी 142 64 78
अन्य 717 400 317
जम्मा 88731 43581 45150

 

 

स्रोतः राष्ट्रिय जनगणना, २०७८

 

 

ङ. धर्मको आधारमा जनसंख्या

राष्ट्रिय जनगणना, २०७८ अनुसार तेह्रथुम जिल्लामा सबैभन्दा बढी जनसंख्या हिन्दु धर्म मान्नेको रहेको देखिन्छ भने सबैभन्दा कम जनसंख्या इस्लाम धर्म मान्नेको रहेको देखिन्छ।

धर्म जम्मा पुरुष महिला
हिन्दु 45215 22960 22255
किराँत 29462 14931 14531
बौद्ध 11991 6183 5808
क्रिश्चियन 1846 966 880
प्रकृती 108 58 50
वोन 94 45 46
इस्लाम 15 4 11
जम्मा 88731 45150 43581

 

 

स्रोतः राष्ट्रिय जनगणना, २०७८

 

 

अन्त्यमा,

नेपालको पूर्वी पहाडी भागमा अवस्थित तेह्रथुम जिल्ला सांस्कृतिक, धार्मिक र ऐतिहासिक रूपमा छुट्टै पहिचान बोकेको जिल्ला हो। विभिन्न पर्यटकीय क्षेत्रहरूबाट सुसज्जित यस जिल्ला लालीगुराँसको राजधानी तथा ढाकाको राजधानीको रूपमा समेत सु-परिचित रहेको छ। नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँस मध्ये २८ प्रजातिका लालीगुराँस यस जिल्ला भित्रै अवलोकन गर्न पाइनुका साथै विभिन्न धार्मिक स्थलहरू, पर्यटकीय स्थलहरू, स्थानीय सांस्कृतिक परम्पराहरू, ढाकाका कपडा तथा अन्य स्थानीय उत्पादनहरू यस जिल्लाका विशिष्ट सम्पत्तिहरू हुन्। तसर्थ, स्वदेश तथा विदेश सबै क्षेत्रका मानिसहरू एक पटक पुग्नै पर्ने ठाउँ तेह्रथुम जिल्लाको थप विकास र समृद्धिको लागि सबैको साथ सहयोग आवश्यक छ।

 

Ads

Ad

Copyright Reserved by NepBrand