July 27, 2026

नेवा देय दवु कोशी प्रदेशको सातौँ पूर्ण बैठक म्याङलुङमा सम्पन्न

तेह्रथुम, ११ साउन ः नेवा देय दवु कोशी प्रदेशको सातौँ पूर्ण बैठक तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको छ।
नेवा देय दवु जिल्ला कार्यसमिति तेह्रथुमको आयोजनामा सम्पन्न बैठकमा नेवार समुदायको भाषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र संवद्र्धनका विषयमा छलफल गरिएको जिल्ला कार्यसमिति तेह्रथुमका सल्लाहकार शंकर जोशीले जानकारी दिनुभयो।
बैठकमा कोशी प्रदेशका १३ जिल्लाबाट सहभागी नेवा देय दवुका प्रदेश समिति सदस्यहरूले आ–आफ्नो जिल्लामा नेवा देय दवुद्धारा सञ्चालन भइरहेका गतिविधिबारे कार्यप्रस्तुति गरेका थिए।
नेवा देय दवुले जिल्लास्तरमा आफ्नो समुदायमा आइपर्ने आकस्मिक विपदमा राहत सहयोग, नेवार समुदायको पहिरन, भाषा, चाडपर्व तथा धिमे बाजालगायत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको प्रदेश समिति सदस्य खिलेश्वर श्रेष्ठले बताउनुभयो।
नेवा देय दवु प्रदेश समितिको पूर्ण बैठक प्रत्येक तीन–तीन महिनामा बस्ने र बैठकको आयोजना पालैपालो सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने परम्परा रहेको नेवा देय दवु तेह्रथुमका जिल्ला अध्यक्ष राजेशराज जोशीले जानकारी दिनुभयो। सोही कार्यक्रमअन्तर्गत यसपटकको बैठक तेह्रथुमको म्याङलुङमा आयोजना गरिएको उहाँले बताउनुभयो।
प्रदेश समिति अध्यक्ष सीताराम श्रेष्ठको अध्यक्षता तथा म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेवार समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणका लागि प्रदेश तथा जिल्लास्तरमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको नेवा देय दवुका केन्द्रिय सदस्य नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Ads

Ad

Ad

Copyright Reserved by NepBrand