१ साउन, तेह्रथुम ः लिम्बू समुदायको महान् पर्व सिसेक्पा तङनाम ५०८६ को अवसरमा किरात याक्थुङ चुम्लुङ तेह्रथुम र किरात समाज सेवा तेह्रथुमले छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी पर्व मनाएका छन्।
किरात याक्थुङ चुम्लुङ तेह्रथुमद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लोकबहादुर सिंगकले पछिल्लो समय लिम्बू जातिका मौलिक पर्वहरू लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि सामूहिक रूपमा सिसेक्पा तङनाम मनाइएको बताउनुभयो।
सहकालको स्वागत गर्दै अनिकाललाई बिदाइ गर्ने पर्वका रूपमा मनाइने सिसेक्पा तङनाम लिम्बू समुदायका लागि विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो।
यस्तै, किरात समाज सेवा जिल्ला कार्यसमिति तेह्रथुमद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष टठबहादुर पंधाकले परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम म्याङलुङमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
किरात धर्म तथा साहित्य उत्थान संघ, साहित्यिक समिति तेह्रथुमका जिल्ला संयोजक साम थाम्देन थाङ्बेनका अनुसार मुन्धुममा उल्लेख भएअनुसार परापूर्वकालमा माङहाङ नामका पुर्खा राजाको पालामा भोकमरीका कारण ठूलो जनधनको क्षति भएको थियो। त्यसपछि माङहाङले तागेरा निवाभुमाङसँग जनताको उद्धारका लागि प्रार्थना गरेका थिए। कठोर तपस्यापछि तागेरा निवाभुमाङ प्रकट भई सपनामा देखाएअनुसार गर्न निर्देशन दिनुभएको थियो। त्यसपछि माङहाङले सपनामा देखिएअनुसार कोठेबारीमा मच्ची खुर्सानी, फेन्दा टमाटर, सिमी, मकैलगायतका खाद्यान्न उत्पादन गरी जनतालाई अनिकालबाट जोगाएको स्मरणमा सिसेक्पा तङनाम मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।
प्रत्येक वर्ष साउन १ गते मनाइने यस पर्वमा बिहानै खेतबारी वा नजिकको वनबाट विभिन्न फूल तथा पात संकलन गरी घर ल्याइन्छ। ती फूल तथा पातलाई हरियो सिरुको डोरीमा उनेर घरको मूलढोका तथा वरिपरि झुन्ड्याउने परम्परा रहेको मेन्छ्यायेम गाउँपालिका–१ की जापानकुमारी लिम्बूले बताउनुभयो।
उहाँका अनुसार सक्राते फूल, फर्सीको फूल, बर, पिपल, खुर्सानी र सिमीका पातलगायतलाई सिरुको डोरीमा उनेर घर वरिपरि झुन्ड्याइन्छ। उक्त माला कहिल्यै नफाल्ने र त्यसैका आधारमा वर्ष गन्ने चलन रहेको उहाँले जानकारी दिनुभयो। पहिलेका बुढापाकाले दशैँ–तिहारमा घर सफा गर्दा पनि ती मालालाई नहटाउने गरेको उहाँले स्मरण गर्नुभयो।
त्यसैगरी साँझपख परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विभिन्न परिकार खाने तथा थाल, नाङ्लो र अगुल्टो बजाउँदै अनिकाललाई घरबाट बाहिर पठाउने परम्परा रहेको विश्वास गरिन्छ।