१८ जेठ, तेह्रथुमः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमको ३६ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
सभामा कोषाध्यक्ष तीर्थ कटुवालले आर्थिक वर्ष २०८२÷०८३ को १८ लाख ८४ हजारको आय तथा १८ लाख ५५ हजारको व्ययको आर्थिक प्रतिवेदन र २०८३÷०८४ का लागि १८ लाख ८४ हजार ५ सयको अनुमानित आय तथा १८ लाख ५५ हजार व्ययको विवरण प्रस्तुत गर्नुभयो, जसलाई सभाले पारित गरेको छ।
वि.सं. २०३० मा स्थापित यस शाखा अन्तर्गत हाल ६ वटै पालिकामा १४ उपशाखा, १३ जुनियर र ४७ युवा रेडक्रस सर्कलहरू क्रियाशील छन्। महामन्त्री वीरबहादुर केसीका अनुसार यी सञ्जालमार्फत खोज, उद्धार, राहत, स्वास्थ्य तथा सरसफाइ जस्ता मानवीय सेवाका कार्यहरू सञ्चालन भइरहेका छन्।
कोशी प्रदेश अध्यक्ष नरेन्द्र पोख्रेलको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति श्री कृष्ण दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाका कार्यक्रम अधिकृत पूर्ण चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।