January 15, 2026

तेह्रथुममा प्रतिष्ठान मार्फत् लोक तथा दोहोरी गीतको संरक्षण

१ माघ, तेह्रथुम ः मानवीय जीवनका सुख–दुःख, मिलन–बिछोड जस्ता मनका बह पोख्ने मात्र होइन संस्कार, संस्कृति, परम्पराको उजागर गर्ने अनि विचार र दृष्टिकोण समेत मुखरित हुने लोक तथा दोहोरी गीत युवा पुस्ताको जनजीब्रोबाट हराउदै गएको छ ।
पहिले–पहिले मेलापात, उकाली–ओराली र दाउराघाँस गर्दा मानिसहरु लोक गीत मार्फत् बिरह र बिलौना पोख्थे, मनको खुसी साट्थे । मेलाहाट, पर्व, उत्सव र जमघटहरुमा युवा–युवती आ–आफ्नो समूह बनाएर दोहोरी गीत मार्फत् आपसमा भावना आदान–प्रदान गर्दथे । यसले मनोरञ्जन सँगै संस्कार, संस्कृति र परम्पराको उजागर गर्दथ्यो । फरक–फरक मन र भावनाहरुलाई आपसी सद्भाव र हार्दिकताको डोरीमा कसिलो गरी बाँध्न मद्धत गर्दथ्यो ।
तर, पछिल्लो समय प्रविधिको तिव्र विकास र बाह्य संस्कृतिको चपेटामा परेर यस्ता मौलिक र ठेट लोकभाकाहरु युवा पुस्ताको जनजिब्रोबाट हराउदै गएका छन् । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा पुस्तान्तरण हुन नसक्दा लोक तथा दोहोरी गीतको अस्तित्व संकटमा पर्दै गएको बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानको तेह्रथुम शाखाले सुरु गरेको संरक्षण अभियान प्रभावकारी देखिएको झिगु परोपकार संस्थाका म्याङलुङ नगर समिति अध्यक्ष राजेशराज जोशीले बताउनुभयो ।
वि.सं. २०५८ सालमा काठमाडौंमा स्थापना भएको प्रतिष्ठानको तेह्रथुम शाखा गत वर्ष विस्तार भएको हो । तेह्रथुममा शाखा विस्तार भएसँगै यसले जिल्लामा लोक तथा दोहोरी गीतको संरक्षण अभियान सुरु गरेको प्रतिष्ठानका तेह्रथुम शाखा अध्यक्ष रमेश घिमिरेले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले करीब दुई दर्जन कलाकारलाई लोक बाद्यबादन र लोक तथा दोहोरी गीत प्रस्तुतीका लागि प्रशिक्षण दिएको छ ।
तिनै कलाकारले जिल्लामा हुने मेला, महोत्सव र विभिन्न उत्सवहरुमा मौलिक लोक तथा दोहोरी गीत प्रस्तुत गर्दै संरक्षणको सन्देश दिने गरेका छन् । एक वर्षको अवधीमा जिल्लामा आयोजना हुने विभिन्न दुई दर्जन कार्यक्रममा प्रस्तुती दिइसकेको प्रतिष्ठानको तेह्रथुम शाखा कोषाध्यक्ष एवम् कलाकार मीना लिम्बूले बताउनुभयो । कार्यक्रम हुने स्थानको दूरी हेरेर आयोजकबाट बाटो खर्च मात्र लिएर प्रस्तुती दिँदै आएको उहाँले बताउनुभयो ।
प्रतिष्ठानसँग रहेको मादल, बासुरी, खैजडी र हार्मोनियम सहित कलाकार टोलीले दिने प्रस्तुतीले मौलिकता र परम्परा संरक्षणमा युवा पुस्तालाई प्रेरित गरेको प्रतिष्ठानका सल्लाहकार पुष्पा दङ्गालको भनाई छ । जिल्लामा मारुनी, बालन, संगिनी, असारे भाका, लिम्बू जातीको पालाम, केःसाम् हाक्पारे, पालाम, राई जातीको साकेला, तामाङहरुको तामाङ सेलो आदि मौलिक भाका तथा नाचहरुसँगै परम्परागत संस्कृतिको जगेर्नाको निम्ति प्रतिष्ठानको विस्तार गरिएको उहाँको भनाई छ ।
लोक गीत लोक जीवनको सामूहिक अनुभवबाट जन्मिने सिर्जना हो । यसमा लोक कला, संस्कृति, परम्परा, ज्ञान सिप, खानपीन, परिवेश आदि चित्रण भएको हुन्छ । दोहोरी गीत भने युवा–युवाती बिच अथवा दुई समूह बनाएर सवाल–जवाफमा गाउने गरिन्छ । कतिपय लोकभाका जुनसुकै समय र अवस्थामा पनि गाइने र गाउन मिल्ने हुन्छ भने कतिपय भने समय, सिजन र सोही अनुसारको कामको क्रममा मात्र गाइने पनि हुन्छ । जस्तै मालश्री दशैंमा गाइन्छ । तिहारमा देउसी भैलो भाका गाइन्छ भने धान रोप्ने सिजन (असार)मा असारे भाखा गाइन्छ । लिम्बू जातीमा प्रचलित ताम्के भाका मकै छरेर खन्दा वा गोड्दा गाइन्छ । किरात राई जातीले उधौली र उभौलीमा ढोल–झ्याम्टाको तालमा नाच्दै साकेला गाउछन् ।
यी लोक भाकाहरुले सभ्यता, संस्कृति, परम्परा, लोक ज्ञान र सिपको उजागर गरिरहेको हुन्छ । यसले सामाजिक मूल्य–मान्यता र समाज विकासको चरणबारे जानकारी दिन्छ । यस्ता लोक भाका भावना, विचार र दृष्टिकोण अभिव्यक्त गर्ने माध्यम पनि हुन् भने यसले मनोरञ्जन र स्फूर्ति पनि प्रदान गर्दछ ।
त्यसैले यी अमूल्य साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको तेह्रथुममा शाखा विस्तार गरी संरक्षण अभियान थालिएको अध्यक्ष घिमिरेले बताउनुभयो । अभियानलाई समुदायले समेत सहयोग गरिरहेको उहाँको भनाई छ । उहाँका अनुसार देशको ६५ जिल्लामा शाखा रहेको प्रतिष्ठानको आठभन्दा बढी विदेश शाखाहरु समेत रहेका छन् ।

 

Ads

Ad

Copyright Reserved by NepBrand