२७ वैशाख २०८२, पाँचथर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको लहर देशैभरी बढ्दो अवस्थामा रहेको दाबि गरेका छन्।
शनिबार पाँचथर सदरमुकाम फिदिममा सम्पन्न खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यसअघि सम्पन्न उप निर्वाचन र भर्खरै सम्पन्न स्ववियू निर्वाचनले यो प्रमाणित गरेको बताए। उत्तर–दक्षिण यात्राका क्रममा माओवादीमा प्रवेश गर्ने नागरिकको लहर देख्दा आफू उत्साहित भएको प्रचण्डको भनाई थियो।
प्रचण्डले अब माओवादीलाई कसैको वैशाखी नचाहिने भन्दै २०८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने बताए। पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्य पहाडैपहाड नेपाल जोड्ने मध्यपहाडी लोकमार्ग आफूहरुको परिकल्पना भएको उल्लेख गर्दै प्रचण्डले यहीँ बाटो भएर मध्यपहाडी जागरण यात्रा गर्न लागेको बताए।
लोडसेडिङ हटाउनमा आफूहरुको भूमिका रहेको उल्लेख गरेका प्रचण्डले आगामी निर्वाचनमा जनताको साथ लिएर ‘कोशी’ प्रदेशको नाम संशोधन गर्ने प्रतिबद्धता जनाए। नेकपा (माओवादी केन्द्र) सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्दै प्रचण्डले सरकार आफ्नै बोझले थिचिएर ढल्ने बताए। उनले दलालहरुको सेटिङमा बनेको वर्तमान सरकारले राम्रो काम केही नगरेको तर नराम्रो काम गर्न केही बाँकि नराखेको टिप्पणी गरे।
खबरदारी सभालाई नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम) र प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले सम्बोधन गरेका थिए। सभामा विभिन्न व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
भ्रष्टाचार, वेथिति र विसंगति विरुद्ध खबरदारी सभाको आयोजना गरेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पाँचथरका संयोजक विषाल रसाइलीले बताए।