February 6, 2025

पत्रकार टिएल राई फोनिज धनकुटाद्वारा प्रदान गरिने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

२४ माघ २०८१, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले प्रदान गर्ने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार टिएल राई पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा बिहीबार आयोजित फोनिज धनकुटाका नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सार्वजनिक सेवा प्रशारण, रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा कार्यरत पत्रकार राईलाई पुरस्कृत गरिएको हो। पुरस्कार राशी सम्मानपत्र सहित पाँच हजार पाँच सय रुपैंयाँ रहेको छ।

पुरस्कृत राई दुई दशकभन्दा लामो समयदेखि रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा राई बान्तावा भाषाको समाचार तथा कार्यक्रम उत्पादनसँगै नेपाली भाषाको समाचार वाचकको रुपमा कार्यरत छन्। उनले पुरस्कार बापतको रकम ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार’ कोषलाई नै प्रदान गरे।

कोष बृद्धिमा सहयोग पुगोस भन्ने उदेश्यले आफूले पाएको पुरस्कार रकम प्रदान गरेको पत्रकार राईले बताए। हालः कोषमा एक लाख रुपैंयाँ रहेको छ। आगामी तीन वर्षभित्र कोषलाई पाँच लाख रुपैंयाँ पुर्याउने लक्ष्य रहेको फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानले बताइन्। ‘यसका लागि हामी जिल्लाका सबै अग्रज फोनिजकर्मी र अन्य सुभेच्छुकहरुसँग समन्वय र सहकार्य गर्नेछौं’ मोक्तानले भनिन्।

कार्यक्रममा केही समयअघि निर्वाचित भएका फोनिज धनकुटाका नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचत मण्डलका संयोजक विजयसन्तोषी राईले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि, फोनिज संघीय कार्यसमिति सदस्य बिदुर खवास, फोनिजका पूर्व संघीय सल्लाहकार सञ्जयसन्तोषी राई, निर्वाचन समिति संयोजक विजयसन्तोषी राई, सदस्य राजेश्वरबहादुर श्रेष्ठ, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, निवर्तमान प्रदेश सचिव सन्देश सुब्बा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।

फोनिज धनकुटाको आयोजना तथा तामाङ पत्रकार संघ धनकुटाको सहआयोजनामा भएको कार्यक्रम फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानको अध्यक्षतामा सम्पन्न भएको सचिव डेविट मगरले जानकारी दिए।

Ads

Ad

Copyright Reserved by NepBrand