February 4, 2025

तेह्रथुमे फुटवलर सेमीहाङमा र सहारा लिम्बू पनि राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा

२२ माघ २०८१, तेह्रथुम। आगामी फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फोर नेसन्स कपका लागि नेपाली राष्ट्रिय महिला फुटवल टोलीको तयारी थालिएको छ।

नेपाली राष्ट्रिय महिला फुटवल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षण गराइरहेका छन्। ३९ खेलाडी बोलाइएको बन्द प्रशिक्षणमा ११ वर्षदेखि नेपालका लागि खेल्दै आएकी तेह्रथुमे चेली अनिता बस्नेत सहित अर्का दुई तेह्रथुमे महिला फुटवलर सेमीहाङमा लिम्बू पन्धाक र सहारा लिम्बू पनि समेटिएका छन्।

भर्खरै सम्पन्न एन्फा वुमेन्स लिगमा बागमती युथ क्लवको जर्सीमा देखिएका सेमीहाङमा र सहारा राष्ट्रिय टोलीका लागि भइरहेको बन्द प्रशिक्षणमा परेका हुन्। उनीहरु टोलीको अन्तिम सदस्यको रुपमा छनोट हुन्छन् हुदैनन् त्यो केही दिनपछि थाहा हुनेछ। तर, गाउँको धुले मैदानबाट खेल करिअर प्रारम्भ गरेका उनीहरु त्यहाँसम्म पुग्नु नै उज्जवल भविष्यको संकेत हो।

केही दिन अघि मात्र सम्पन्न लिगमा सेमीहाङमा र सहाराले उम्दा प्रदर्शन गरेका थिए। सुपर लिगमा स्थान बनाएको कोशी प्रदेशको टोलीले आर्थिक समस्या देखाउदै सुपर लिगमा सहभागिता नजनाउने भएपछि छैठौं स्थानको बागमतीले खेल्ने अवसर पाएको थियो। बागमती युथ क्लबाट खेलेका सेमीहाङमा र सहाराले गरेको उत्कृष्ट प्रदर्शनकै कारण मूख्य प्रशिक्षक तामाङले उनीहरुलाई पनि बन्द प्रशिक्षणमा राखेका हुन्।

डिफेन्स लाइनमा खेल्ने सेमीहाङमा जिल्लाको फेदाप गाउँपालिका–३ जलजलेकी हुन् भने मिडफिल्डमा खेल्ने सहारा म्याङलुङ नगरपालिका–९ सम्फरजुङकी खेलाडी हुन्। एन्फा वुमेन्स लिग विजेता विभागीय टोली एपिएफ क्लवकी कप्तान एवम् राष्ट्रिय टोलीकी नियमित सदस्य अनिता भने फेदाप गाउँपालिका–४ सम्दुकी हुन्। गत वर्षको फ्रेवुअरी २० मा साउदी अरबियाको किङ अब्दुल्ला स्पोर्टस सिटी रिजर्भ रङ्गशालमा वाफ च्याम्पियनसिपको आठौं संस्करणको आमन्त्रित टोलिको रुपमा सहभागि भएको नेपालका लागि कर्नर मार्फत् सिरिया विरुद्ध अनिताले दुर्भल र जीवन्त गोल गर्दै चर्चा बटुलेकी थिइन्।

एपिएफ क्लवकी कप्तान तथा राष्ट्रिय टिमकी सदस्य अनिता बस्नेत।

नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार सहभागी हुने फोर नेसन्स कपको लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः
कप्तान एन्जिला तुम्बापो सुब्बा, सावित्री भण्डारी ‘साम्बा’, रेखा पौडेल, अञ्जना राना मगर, उषा नाथ, अमृता जैसी, गीता राना, विमला बि.के., निशा थोकर, समीक्षा घिमिरे, पुजा राना, अनिता बस्नेत, अमिशा कार्की, अनिता के.सी., प्रीति राई, विमला चौधरी, रेणुका नागरकोटी, सरु लिम्बु, रश्मि कुमारी घिसिङ, सविता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेणुका हमाल, सम्झना लावती, सवित्री किसान, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, विर्सना चौधरी, सुक्रिया मियाँ, प्रतीक्षा चौधरी, सेमीहाङमा लिम्बु पन्धाक, मीना देउवा, पुष्पा कुमारी खड्का, यशोधा शाही, ममता पुन र झुमा विश्वकर्मा।

३९ खेलाडी बोलाइएको बन्द प्रशिक्षणमा विदेशी क्लवबाट खेलिरहेका साबित्रा भण्डारी, एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल प्रशिक्षणमा आइसकेका छैनन् भने लेफ्टिनेन्टको प्रशिक्षणमा रहेकी अमिषा कार्की पनि प्रशिक्षणमा अनुपस्थित छिन्।

Ads

Ad

Copyright Reserved by NepBrand