८ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा बलियो मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई रोक्दै आयोजक फिदिम स्पोर्टिङ क्लव सेमीफाइनल प्रवेश गरेको छ। सोमबार फिदिम माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल हुन सकेन।
फिदिम स्पोर्टिङको पटक पटकको प्रहारमा क्रसबार र साइडबार बाधक बनेको थियो। आर्मीले पनि केही राम्रा अवसरहरु सिर्जना गर्यो। तर गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको खर्साङ फुटवल क्लवलाई टाइब्रेकरमै पाखा लाउँदै क्वाटरफाइनलको यात्रा तय गरेको फिदिम स्पोर्टिङ क्वाटरमा पनि टाइब्रेकरमा भाग्यमानी साबित भयो।
पेनाल्टी सुटआउटमा फिदिम स्पोर्टिङसँग त्रिभुवन आर्मी क्लव ४–२ गोलअन्तरले स्तब्ध बन्यो। पेनाल्टी सुटआउटमा फिदिम स्पोर्टिङ क्लवका आशिष चापागाईं, राम वाजी, निरोज लिङदेन र बिशाल दर्जीले गोल गर्दा सुकराज राईको प्रहार आर्मीका गोलकिपर नवीन परियारले रोकेका थिए।
आर्मीबाट भने सन्तोष केशी र निरोज कुमार घिसिङले मात्र गोल गरे। सिद्धान्त चौधरी र सुजित शाहीको प्रहारमा फिदिम स्पोर्टिङका गोलकिपर मिराक खजुम बाधक बन्दा पहिलो खेलबाटै आर्मी घर फर्किनुपर्यो। खेलको म्यान अफ् दि म्याच फिदिम स्पोर्टिङका बिशाल दर्जी भए । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि (मंगलबार) हुने दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्वल र सुनसरीको रेड स्टार क्लवबीच प्रतिस्पर्धा हुनेछ। पुस १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।