December 21, 2024

फिदिममा ११औं फाल्गुनन्द गोल्डकप सुरु, उद्घाटन खेलमा फिदिम स्पोर्टिङ क्लवसँग खर्साङ फुटवल क्लव पराजीत

६ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा आइतबारदेखि सुरु भएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवसँग पाहुना टोली भारतको खर्साङ फुटवल क्लव टाइब्रेकरमा पराजीत भएको छ।

फिदिम माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा खर्साङले घरेलु समर्थकको साथ पाएको फिदिम स्पोर्टिङ क्लवलाई खेल अवधीभरी गोलरहित बराबरीमा रोकेको थियो। निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि मूख्य रेफ्रि नबिन्द्र महर्जनले खेलको निर्णय सिधै टाइब्रेकरबाट लिएका थिए। पेनाल्टी सुटआउटमा फिदिमले ५–४ गोलअन्तरले बाजी मार्दा पाहुना टोली खर्साङ उद्घाटन खेलबाटै घर फर्किनुपर्यो।

टाइब्रेकरमा फिदिम स्पोर्टिङका आशिष चापागाई, राम वाजी, सुकराज राई, निरोज लिङदेन र बिशाल दर्जीले गोल गरे। खर्साङ फुटवल क्लवका आकाश प्रधान, बिशाल भण्डारी, रुस्तम प्रधान र प्रशान्त क्षेत्रीको प्रहारले मात्र जाली चुमेको थियो। खर्साङका जोगेल लामाको प्रहारमा फिदिम स्पोर्टिङका गोलकिपर मिराक खजुम बाधक बन्दा नतिजा फिदिमलाई सुम्पिनुपर्यो। खेलको प्लेयर अफ् द म्याच बनेका फिदिम स्पोर्टिङ क्लवका गोलकिपर मिराक खजुमले नगद दश हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र फुटवल क्लव काठमाडौं र झापा–११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए । ११ औं फाल्गुनन्द गोल्डकपको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्लेले गरेका थिए। प्रतियोगिताको विजेताले नगद १० लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।

Ads

Ad

Copyright Reserved by NepBrand