२८ असोज २०८१, तेह्रथुम । म्याङलुङ कृषक समूहद्धारा सञ्चालित खाम्बेक्सा डेरी उद्योगमा दशैको समयमा दुग्धजन्य पदार्थको खपतमा वृद्धि भएको छ । डेरीबाट अहिले दैनिक ६० लिटर भन्दा बढिमात्रामा दहि म्याङलुङ बजारमा खपत भैरहेको डेरीका सञ्चालक सन्तोष लिम्बूले बताउनुभयो ।
दूधबाट बनेको दही, पनिर, घ्यु, कुराउनी, जुजुदही लगायतका दुग्धजन्य पदार्थहरु अरु दिनको तुलनामा दशैमा बढि मात्रामा बिक्री भएको उहाले बताउनुभयो । डेरीमा म्याङलुङ बजार वरपरका गाँउहरु डाडाँखर्क जिरिखिम्ती,पिप्लेका कृषकहरुबाट प्रतिदिन डेढसय लिटर दूध संकलन हुने गरेको लिम्बूको भनाई छ । मेन्छ्यायेम गाउँपालिकाको पौठाक, फेदापको ओयाक्जुङसम्मका कृषकहरुको दूध बस मार्फत डेरीमा ल्याउने गरेको सञ्चालक लिम्बूले बताउनुभयो ।
म्याङलुङ नगरपालिकाको रु २१ लाख सहयोगमा सदरमुकाम म्याङलुङमा डेरी सञ्चालन भएपछि दुग्ध कृषकहरुलाई बजारको समस्या समाधान भएको थलाडाडाँका कृषक खेम डाँगीले बताउनुभयो । उहाले दैनिक गाई र भैसी गरी १० लिटर दूध डेरीमा पठाउने गरेको सुनाउनुभयो । ‘बोकेर ल्याउनुपर्देन गाउँमै डेरीको ट्याम्पु आएर लान्छ । दुधको फ्याट हेरी प्रतिलिटर रु ८० देखि ८५ रुँपैया दिने गरेको छ ।’ कृषक डाँगीले भन्नुभयो । कृषकको दुधको रकम भने मितेरी बहुउदेश्यिय सहकारी सँस्थामा खाता खोलेर जम्मा गरीदिने गरेको डेरीका कर्मचारी चिरञ्जीविमान श्रेष्ठले बताउनुभयो ।
यसअघि सदरमुकाम म्याङलुङमा ‘दुधजन्य पदार्थ जिल्लाका अन्य स्थानहरु टुक्रे,लसुने, ओयाक्जुङबाट ल्याउनुपथ्र्यो । म्याङलुङमै डेरी स्थापना भएपछि भने सदरमुकाम वरपरका गाउँका कृषक तथा उपभोक्ताहरुलाई सहज भएको छ ।’ म्याङलुङ १ का गिरिराज सुवेदिले बताउनुभयो । डेरीमा दैनिक ४,५ लिटर देखि १० लिटर सम्म १८,२० प्रतिघरको कृषकहरुको दूध जम्मा हुने गरेको डेरीका सञ्चालक सन्तोष लिम्बूको भनाई छ ।