June 29, 2026

तेह्रथुममा उत्कृष्ट छ धान उत्पादक कृषक सम्मानित

१५ असार तेह्रथुमः कृषि ज्ञान केन्द्र तेह्रथुमले २३औँ राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका उत्कृष्ट छ जना धान उत्पादक कृषकलाई सम्मान गरेको छ ।
सोमबार म्याङलुङ नगरपालिका–१० खाल्डेमा आयोजित रोपाइँ महोत्सव तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रममा जिल्लाका छवटै स्थानीय तहका कृषि विकास शाखाबाट छनोट भएका उत्कृष्ट धान उत्पादक कृषकलाई जनही रु चार हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको छ ।

सम्मान हुनेमा छथर गाउँपालिकाका चन्द्र बहादुर लिम्बू, फेदाप गाउँपालिकाका प्रेम बहादुर कार्की, मेन्छ्यायेम गाउँपालिकाका रुद्र बहादुर कार्की, आठराई गाउँपालिकाका राजेन्द्र कुमार डाँगी, म्याङलुङ नगरपालिकाका देवेन्द्र खवास र लालिगुराँस नगरपालिकाका डम्बर बहादुर कार्की रहेका छन् ।

गत मंसिरमा ८५ मुरीदेखि ११० मुरीसम्म धान उत्पादन गरेका उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी बन्दना राई, म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफे, उपमेयर जमुना कार्की सुवेदी लगायतले सम्मान गर्नुभएको कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले जानकारी दिनुभयो ।

ज्ञान केन्द्रका प्रमुख राईका अनुसार जिल्लामा कुल छ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यस वर्ष असारको १५ गतेसम्ममा जिल्लामा दुई हजार एक सय ८८ हेक्टर क्षेत्रफल अर्थात ३३. ०९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो ।

समयमै वर्षा भएकाले जिल्लाको माथिल्लो भेगमा धान रोपाइँ समयमै सम्पन्न भइरहेको छ। तल्लो भेगमा भने मकै बाली भित्राएपछि मात्र धान रोप्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष पर्याप्त वर्षा नहुँदा जिल्लामा छ हजार दुई सय ८४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो ।
जिल्लाको लालिगुराँस नगरपालिकाको कालीमाटी, मेन्छयायेम गाउँपालिकाको सम्दु, इसिबु र जलजलेका तल्लो भेग तथा आठराई गाउँपालिकाको सक्रान्ती र डाँडागाउँका तल्ला क्षेत्रमा मुख्य रूपमा धान उत्पादन हुने गरेको छ ।

जिल्लामा स्थानीय जातको ‘बेलकुटी’ धान मुख्य रूपमा उत्पादन गरिन्छ। त्यसबाहेक पाथिभरा र आठराईका तल्लो क्षेत्रमा कृषि अनुसन्धानबाट विकास गरिएका खुमल–४, खुमल–१० तथा उन्नत जातका अन्य धान पनि खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।–––
वविता राई –९७६२७२५७४२

Ads

Ad

Ad

Copyright Reserved by NepBrand