January 16, 2026

म्याङलुङमा विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु


२ माघ तेह्रथुम ।  म्याङलुङ नगरपालिकामा विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। नगरपालिकास्तरीय छनोट प्रतियोगितामा म्याङलुङ नगरपालिकाभित्रका सामुदायिक र निजी गरी १२ वटा विद्यालयले सहभागिता जनाएका छन्।

प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विधाअन्तर्गत ३० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको म्याङलुङ नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि छनोट गरिनेछ।

एथलेटिक्सतर्फ सय मिटर दौडमा जिल्ला स्तरिय प्रतियोगिताका लागि छनोट हुनुभएकी भगवती माध्यमिक विद्यालय म्याङलुङ–७ की विद्यार्थी प्रमिला मगरले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले विद्यार्थीहरूको आन्तरिक क्षमता प्रस्फुटन गराउने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो।

यस्तै, सटपुट विधामा छनोट भएका अरनिको बोर्डिङ स्कुल म्याङलुङ–३ का विद्यार्थी रोजिन श्रेष्ठले आफूलाई भविष्यमा यही खेलमा अगाडि बढ्न प्रेरणा र अवसर मिलेको सुनाउनुभयो।

जिल्लाका अन्य स्थानीय तहहरूले भने पालिकास्तरीय छनोट प्रतियोगिता यसअघि नै सम्पन्न गरिसकेका छन्। म्याङलुङ नगरस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थी खेलाडीहरू जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुनेछन्।

गत वर्ष छथर गाउँपालिकामा आयोजना भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यस वर्ष आठराई गाउँपालिकामा माघ ६ गतेदेखि आयोजना हुने भएको छ। जिल्लाबाट छनोट भएका खेलाडीहरू प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशबाट छनोट भएका विद्यार्थी खेलाडीहरूले राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्।

Ads

Ad

Copyright Reserved by NepBrand