January 1, 2026

इतिहासकार इमानसिंह चेम्जोङको १२३ औँ जन्मजयन्ती मनाइयो


१७ पुष, तेह्रथुमः

सदरमुकाम म्याङलुङमा इतिहासकार तथा किरातलोजिस्ट इमानसिंह चेम्जोङको १२३ औँ जन्मजयन्ती बिहीबार मनाइएको छ।

किरात याक्थुङ चुम्लुङ, तेह्रथुमको आयोजनामा म्याङलुङस्थित चुम्लुङ हिममा इमानसिंह चेम्जोङको जन्मजयन्ती मनाइएको हो। सो अवसरमा कियाचु तेह्रथुमले स्थापना गरेको इमानसिंह चेम्जोङ पुरस्कार कोषबाट वंशावली संकलक तथा लेखक नरबहादुर सिङ्गकलाई पुरस्कृत गरिएको थियो। सिङ्गक लिम्बूहरूको वंशावली निर्माण मूल समितिका संयोजक समेत रहनुभएका सिङ्गकलाई नगद पुरस्कार, सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष समशेर तुम्बाहाङफेले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिको इतिहास, मुन्धुम, भाषा, लिपि, व्याकरण, लोकसाहित्य र संस्कृतिको खोज, अनुसन्धान तथा अन्वेषणमा इमानसिंह चेम्जोङको योगदान अतुलनीय रहेको बताउनुभयो। चेम्जोङको योगदानबारे नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तेह्रथुमका अध्यक्ष बलदेव तुम्बाहाङफेले पनि चर्चा गर्नुभएको थियो।

इमानसिंह चेम्जोङको जन्म सन् १९०४ जनवरी १ मा भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङमा भएको थियो। पुख्र्यौली थलो पाँचथर भएका चेम्जोङले भारतमा रहेर तथा पछि नेपाल आएर लिम्बू जातिको इतिहासबारे गहन खोज र अनुसन्धान गर्नुभएको थियो। चेम्जोङले त्रिभुवन विश्वविद्यालयमा किरातलोजिस्टको रूपमा समेत काम गर्नुभएको थियो। उहाँको योगदानको कदर गर्दै नेपाल सरकारले इमानसिंह चेम्जोङको तस्बिर अंकित हुलाक टिकट समेत प्रकाशनमा ल्याएको छ।

उहाँका किरात इतिहास (सन् १९४८), किरात साहित्यको इतिहास (सन् १९५६), किरात मुन्धुम (सन् १९६१), किराती दन्त्यकथा (सन् १९६५), किरात मुन्धुम खाहुन् (सन् १९६५), हिस्ट्री एण्ड कल्चर अफ द लिम्बू पिपुल (सन् १९६७), किरात व्याकरण (सन् १९७०) र किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४) लगायतका कृति प्रकाशित छन्।

हरेक वर्ष जनवरी १ का दिन इमानसिंह चेम्जोङको जन्मजयन्ती मनाइन्छ। उहाँको निधन सन् १९७६ अक्टोबर ८ मा भएको थियो। बिहीबार तेह्रथुमसहित देश–विदेशका विभिन्न स्थानमा समेत इमानसिंह चेम्जोङको जन्मजयन्ती मनाइएको बताइएको छ। तेह्रथुममा आयोजित कार्यक्रम किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष लोकबहादुर सिङ्गकको अध्यक्षतामा सम्पन्न भएको थियो।

Ads

Ad

Copyright Reserved by NepBrand