December 26, 2025

तेह्रथुममा निःशुल्क आँखा तथा कान उपचार शिविरबाट पाँच सयभन्दा बढि लाभान्वित

११ पुष, तेह्रथुमः जिल्लाको सदरमुकाम म्याङलुङमा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा कान उपचार शिविरबाट पाँच सय एक जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरका क्रममा आँखामा जटिल समस्या भएका ७५ जना बिरामीको शल्यक्रिया गरिएको छ।
मोतिबिन्दु, आँखामा मासु पलाएको तथा आँखाको ढकनी सिधा पार्ने (परेला गाडिएको) समस्या भएका बिरामीहरूको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र तेह्रथुमकी प्रमुख श्यामकला लिम्बूले जानकारी दिनुभयो।
सदरमुकाम म्याङलुङस्थित आँखा उपचार केन्द्र र जिल्ला अस्पताल तेह्रथुममा पुष ९ गते बुधबारदेखि शुक्रबारसम्म सञ्चालन भएको शिविरमा तीन सय ७२ जनाले आँखा परीक्षण गराएका छन् भने एक सय २९ जनाले कान परीक्षण गराएका छन्।
निःशुल्क आँखा तथा कान परीक्षण र शल्यक्रिया गरिएको उक्त शिविरमा औषधि तथा चस्मा भने आँखा उपचार केन्द्र तेह्रथुमले ३० प्रतिशत छुटमा उपलब्ध गराएको प्रमुख लिम्बूले बताउनुभयो।
विराटनगर आँखा अस्पताल, रानीबाट आएका १० जना आँखा तथा कान रोग विशेषज्ञहरूको टोलीले शिविरमा परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुम, म्याङलुङ नगरपालिका, जिल्ला अस्पताल र आँखा तथा कान उपचार केन्द्र तेह्रथुमको संयुक्त आयोजनामा सदरमुकाम म्याङलुङस्थित आँखा उपचार केन्द्र र जिल्ला अस्पतालमा शिविर सञ्चालन भएको हो।
तेह्रथुममा सुविधासम्पन्न आँखा शल्यक्रिया अस्पतालको अभाव रहेकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमका कार्यक्रम अधिकृत पूर्णचन्द्र श्रेष्ठले वर्षमा दुई पटकसम्म विभिन्न निकायसँगको सहकार्यमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
सदरमुकाम म्याङलुङमा सञ्चालित शीविरमा जिल्लाको छ वटै पालिकाका नागरिकहरुले सेवा लिएका छन्।

 

Ads

Ad

Copyright Reserved by NepBrand