December 23, 2025

म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीत भण्डारको मूख्यमन्त्री कार्कीद्धारा उद्घाटन

७ पुष, तेह्रथुमः कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कुमार कार्कीले जिल्लाको म्याङलुङ नगरपालिका स्थित नवनिर्मित बसपार्क र मेयङलुङ कृषि शीत भण्डारको उद्घाटन गर्नुभएको छ । म्याङलुङ नपा–२ स्थित बसपार्क र वडा नं.९ साब्लास्थित मेयङलुङ शीत भण्डारको मंगलबार मूख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो ।
यहाँ आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार जनताको हितका लागि काम गर्न सधै तत्पर रहेको बताउनुभयो । जनताको हितका लागि निर्माण गरिएका यस्ता संरचनाहरुको संरक्षणमा सरकारलाई सबैले आ–आफ्नो तर्फबाट सघाउन समेत उहाँले आग्रह गर्नुभयो ।
तेह्रथुम सदरमुकाम म्याङलुङमा व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको अवस्थामा कोशी प्रदेश सरकारको लगानीमा व्यवस्थित बसपार्क निर्माण भएको हो । प्रदेश सरकारको रु.७ करोड ५३ लाख लागतमा अपाङ्गमैत्री शौचालय, टर्मिनल भवन, पहँुच मार्ग, र गार्ड हाउस लगायत संरचना सहितको बसपार्क निर्माण भई उद्घाटन गरिएको हो ।
आशिष आशिर्वाद जेभीले वि.सं. २०७६ साल असारमा सम्झौता गरी २०८१ साल असारमा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । नौ जना स्थानीयहरुले दश रोपनी जग्गा दान गरेपछि सोही जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटा मार्फत ढेड वर्षअघि नै बसपार्क निर्माण सम्पन्न भएको थियो ।
मंगलबार मुख्यमन्त्री कार्कीको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वाधार विकास कार्यालय, तेह्रथुमले म्याङलुङ नगरपालिकालाई नवनिर्मित बसपार्क हस्तान्तरण गरेको छ । नगरपालिकाले नियमानुसार बसपार्क सञ्चालन र मर्मत सम्भारको जिम्मा पाएपछि अब लगत्तै सञ्चालनमा ल्याउने म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो ।
त्यस्तै म्याङलुङ नपा–९ साब्लामा कियाचु कृषि सहकारी संस्थाले वि.सं. २०७७ सालयता एक हजार मेट्रिक टन क्षमताको ‘मेयङलुङ कृषि शीत भण्डार’ सञ्चालनमा ल्याएको हो । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु. तीन करोड, म्याङलुङ नगरपालिकाको रु.१५ लाख र सहकारीको रु. १ करोड ३४ लाख बजेटमा १४ रोपनी चार आना जग्गामा शीत भण्डार निर्माण निर्माण गरिएको छ ।
शीतभण्डार सञ्चालन भएपछि बजार अभावका कारण किसानहरुको किबी र सुन्ताला शीत भण्डारमा केही समय भण्डारण गरेर बेच्दा राम्रो मूल्य पाएको बताएका छन् । त्यस्तै कुहिएर नष्ट हुने समस्या भएपछि महङ्गमो मूल्यमा किनेर रोप्नुपर्ने आलुको बिउ शीत भण्डारमा भण्डारण गर्न थालेपछि उक्त समस्या पनि हटेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले तेह्रथुम जस्तो थोरै जनसंख्या र व्यावसायिक कृषकहरुको संख्या कम भएको जिल्लामा पनि विभिन्न समस्याका बावजुत सफलतापूर्वक शीत भण्डार सञ्चालन गरिरहेकोमा सहकारी प्रति कृतज्ञता प्रकट गर्नुभयो । साथै शीत भण्डार सञ्चालनका लागि चाहिने जेनेरेटर खरिद, आवश्यक थप च्याम्बर निर्माण र शीत भण्डारसम्म पुग्नका लागि मध्यपहाडी लोकमार्गदेखि छ सय मिटर भित्री कच्ची सडक निर्माणका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सहकारीले शीत भण्डार उपयोगिताको बारेमा कृषकमा जनचेतना फैलाइरहेकोमा यसलाई निरन्तरता दिन समेत मूख्यमन्त्री कार्कीले सहकारीलाई आग्रह गर्नुभयो । कोशी प्रदेश सरकार नागरिकको हितको लागि काम गर्न सधै तत्पर रहेकाले प्रत्यक्ष किसानको हितका लागि निर्माण गरिएको शीत भण्डारको उपयोगिताबारे जनचेतना प्रवाह गर्नमा समेत प्रदेश सरकारले सहकारीलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।
स्थानीय किसानहरुका लागि सञ्चालनमा ल्याइएको शीत भण्डारको उपयोगिताको बारेमा किसानहरु अनभिज्ञ हुँदा सुरुमा सहकारीलाई शीत भण्डार सञ्चालन गर्न निकै सकस परेको कियाचु कृषि सहकारी संस्थाका अध्यक्ष टंकमाया तिगेलाले बताउनुभयो । तर, किसानहरुले बिस्तारै शीत भण्डारको उपयोगिताबारे बुझ्दै गएका अध्यक्ष तिगेलाको भनाई छ । –––
वविता राई–९७६२२१७६६८

 

Ads

Ad

Copyright Reserved by NepBrand