६ मंसिर, तेह्रथुमः म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नती कार्य भइरहेको छ। एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नती गरिरहेको वडा नं. १ का अध्यक्ष बुद्धिराज लिम्बूले बताउनुभयो।
अहिले डिजेल र जनशक्ति वडाहरुले लगाइररहेको पछि काम सम्पन्न भएपछि हिसाब गरेर आधा– आधा बजेट दुबै वडाहरुले व्यहोर्ने म्याङलुङ–२ नंवर वडा अध्यक्ष राजकुमार लिम्बूले बताउनुभयो। ८० प्रतिशत सडक स्तरोन्नती कार्य सकिएको र लगभग ३÷४ दिनमा काम सकिने उहाले बताउनुभयो।
उहाँका अनुसार नगरपालिकाको जेसिबी र ट्र्याक्टर प्रयोग गर्दै म्याङलुङ १ र २ नंवर वडाले आवश्यक डिजेल किनेर कच्ची सडकको स्तरोन्नती कार्य गरिएको हो। म्याङलुङ १ र २ वडाका स्थानीयवासी विशेषगरी मलामी जान प्रयोग गर्ने यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दुरीमा जोड्ने महत्वपूर्ण मार्ग हो।
यो सडक पाँचथरको कुम्मायक गाउँपालिकाबाट हरेक शुक्रबार म्याङलुङको शुक्रबारे हटिया आउन प्रयोग हुँदै आएको छ। विसं २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीले तमोर लुबुघाट पुल निर्माणका लागि ठेक्का लिएपछि खोलिएको यो सडक तेह्रथुम–पाँचथर दुबै जिल्लाका बासिन्दाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
कुम्मायक गाउँपालिकाको लागि सबैभन्दा नजिकको ठूला हटिया म्याङलुङ भएकाले त्यहाँ उत्पादित दाल, बदाम, मकै, कुखुरा, सुंगुरका पाठालगायतका कृषि तथा पशुपालनजन्य वस्तु यही बजारमा बिक्री गरिँदै आएको छ। पहिले घण्टौँ पैदल हिँडेर कठिन यात्रा गर्दै सामान ल्याउने कृषकहरू यो सडक बनेपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्र्याक्टरमार्फत सहज रूपमा आवतजावत गर्दै आएका छन्।
सडकमा वर्षातको पानीले खाल्डाखुल्डी बनाएर सवारी साधन आवतजावतमा कठिनाई भइरहेको अवस्थामा सडक स्तरोन्नती कार्य सम्पन्न भएपछि भने कुम्मायकबाट म्याङलुङको शुक्रबारे हटियामा आउने कृषक तथा स्थानीयवासीलाई थप सहज हुने म्याङलुङ–२ का मनी खापुङले बताउनुभयो। साथै म्याङलुङबाट पाँचथर फिदिम र तमोर करिडोरमार्ग भएर सुनसरीको धरानसम्म आवतजावत गर्न पनि सुविधाजनक हुने स्थानीयवासीको विश्वास छ।