October 27, 2025

मन लोभ्याउने झाँक्रि गुफा

१० कार्तिक २०८२, तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–२ खाम्लालुङमा अवस्थित झाँक्रि गुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सुन्दरताको दृष्टिले अत्यन्तै मनमोहक झाँक्रि गुफामा पछिल्लो समय हरेक दिन आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ ।

छिनछिनमै बद्लिरहने मौसमले झाँक्रि गुफा पुग्ने पर्यटकलाई रोमाञ्चक अनुभूति दिलाउछ । झाँक्रि गुफा छिनमै बादलुको घुम्टोभित्र लुक्छ अनि छिनमै बादलुको घुम्टो हटाएर मुस्कुराउछ । खेलिरहुँ लाग्ने चउर, स–साना बुट्यान र थुम्का थुम्कि अनि चीसो बतासको स्पर्शले झाँक्रि गुफा पुग्ने पर्यटकलाई अल्हादित बनाउछ ।

झाँक्रि गुफा, यहाँको कात्तिके सामुदायिक वन क्षेत्रभित्र रहेको छ । झाँक्रि गुफामा पर्यटक आकर्षित गर्न स्थानीय पाहिम परिवारले सिलाम साक्माको स्तम्भ निर्माण गरेका छन् । उक्त सिलाम साक्मा स्तम्भलाई हालः सम्म निर्मित संसारकै अग्लो दाबि गरिएको छ । त्यस्तै आमा भ्यू टावर, बहुजातीय संग्रहालय, पुस्तकालय, फुट ट्रयाक, परम्रागत घर, रोटेपिङ् जस्ता संरचना निर्माण गरिएका छन् ।

संघीय सरकारको सहरी विकास मन्त्रालय, प्रदेश सरकार, आठराई गाउँपालिका, कात्तिके सामुदायिक वन उपभोक्ता समूह र विभिन्न सहयोगी दाताहरुको सहयोगमा ती संरचना निर्माण गरिएका आठराई गाउँपालिकाका उपाध्यक्ष बलिराज इङनामले बताउनुभयो । हालः सम्म करीब पाँच करोड रुपैंयाँ बराबरका विभिन्न संरचना निर्माण भएका कात्तिके सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी ढुंगानाले बताउनुभयो । कात्तिके सामुदायिक वनको ४०.८० हेक्टर क्षेत्रफलमध्ये २.५ हेक्टर क्षेत्रफल झाँक्रि गुफा क्षेत्रले ओगटेको छ । झाँक्रि गुफा हुँदै फेदाप गाउँपालिकामा अवस्थित ह्यात्लुङ झरनासम्म जोड्ने फुट ट्रयाक निर्माणाधिन अवस्थामा छ ।

सुमुन्द्र सतहबाट २२ सय मिटर उचाईमा रहेको क्राँक्रि गुफा दृश्यावलोकनको निम्ति पनि उपयुक्त गन्तव्य मानिन्छ । यहाँ निर्मित आमा भ्यू–टावरबाट कञ्चनजंघा हिमश्रृङ्खला, ताप्लेजुङमा अवस्थित प्रशिद्ध धार्मिक एवम् मुन्धुमी स्थल मुक्कुम्लुङ (पाथीभरा) डाँडासँगै तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा र संखुवासभा सम्मका सुन्दर दृश्यहरु नियाल्न सकिन्छ ।

यहाँ रहेको २२ मिटर लामो प्राकृतिक गुफाबाट यसको नाम झाँक्रि गुफा रहन गएको हो । पहिले उक्त गुफामा वनझाँक्रि बस्ने गरेको किंवदन्ती छ । त्यसैले यसलाई झाँक्रि गुफा भनिएको स्थानीय बताउछन् । गुफाबाट चाडपर्वको समयमा नौमति बाजाको धुन गुञ्जिने गरेको स्थानीयको भनाई छ । गुफा रहेको प्रवेश द्वारमा सेती देवीको मन्दिर रहेको छ । त्यसैले झाँक्रि गुफा धार्मिक रुपले समेत महत्वपूर्ण छ ।

झाँक्रि गुफा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र, हालः आठराई गाउँपालिकाको सेवा केन्द्र रहेको सक्रान्ति बजारबाट साँढे तीन किलोमिटरको दूरीमा अवस्थित छ । सक्रान्ति बजारदेखि सवारी साधनबाट १५ मिनेटमै मज्जाले झाँक्रि गुफा पुग्न सकिन्छ ।

पछिल्लो समय आन्तरिक पर्यटकले रुचाएको पर्यटकीय गन्तव्यको रुपमा चिनिएको झाँक्रि गुफा क्षेत्रको प्राकृतिक बनावटलाई नबिगारी पर्यटन प्रबर्द्धनका काम गर्ने प्रयास जारी रहेको कात्तिके सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ढुंगानाले बताउनुभयो । क्राँक्रि गुफाको विकास र प्रचार–प्रसारमा आठराई गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमको भनाई छ ।

Ads

Ad

Copyright Reserved by NepBrand