४ कार्तिक, तेह्रथुम । स्वर्गीय समाजसेवी ललितबहादुर सोदेम्बाको स्मृतिमा उहाका छोराहरुले म्याङलुङ–७ जिरिखिम्ती वृद्ध विश्रामलाई रु १ लाख १ हजार रकम प्रदान गरेका छन् ।
सोमबार वृद्ध विश्राममा गरिएको एक कार्यक्रमका बिच स्वर्गिय समाजसेवी सोदेम्बाका छोराहरु मोहन सोदेम्बा र ऋषिकेश सोदेम्बाले वृद्ध विश्रामका अध्यक्ष नरबहादुर सिंजागुलाई उक्त रकम हस्तान्तरण गरेको वृद्ध विश्राम सञ्चालक समितिका सचिव सुविन्द्र थेगुवाले बताउनुभयो ।
उक्त रकम वृद्ध विश्रामको अक्षयकोषमा जम्मा गरी अक्षयकोषको व्याज भने वृद्ध विश्राममा गरिने कार्यक्रमका लागि खर्च गरिने उहाले बताउनुभयो ।
जिल्लामा समाजसेवीको रुपमा परिचित सोदेम्बाको गत असोज २५ गते ८७ वर्षको उमेरमा काठमाण्डौंमा उपचारको क्रममा निधन भएको थियो ।
स्वर्गीय सोदेम्बाले जिल्लाको पूर्व जिल्ला पञ्चायत उपसभापति कार्यवाहक सभापति सोल्मा पञ्चायतका प्रधानपञ्च भएर काम गर्नुभएको थियो भने तेह्रथुम जिल्ला स्थायी शिक्षक छनौट समितिका संयोजक समेत रहनुभएको थियो ।
उहा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सदस्य, छराय सयङ सङजुम्भोका केन्द्रिय अध्यक्ष भएर जिल्लामासामाजिक कार्यहरु गरिरहनुभएको थियो ।
बाचुञ्जेल सामाजिक कार्यमा सम्लग्न रहेको बुबाको स्मृतिमा छोराहरुले वृद्ध विश्राममा अक्षयकोषका लागि रकम प्रदान गरेको छोरा मोहन सोदेम्बाले बताउनुभयो । स्वर्गीय समाजसेवी सोदेम्बाका ५ भाइ छोराहरु होम बहादुर, मोहन, तेज बहादुर, ऋषिकेश र पूर्ण कुमार सोदेम्बाले उक्त रकम वृद्ध विश्रामको अक्षयकोषका लागि जम्मा गरेको उहाले बताउनुभयो ।
वृद्ध विश्राममा साप्ताहिक रुपमा ज्येष्ठ नागरिक भेला कार्यक्रम हुने गरेको छ । हरेक शनिवार जिरिखिम्ती, आम्बुङ, शाव्ला क्षेत्रका ५०–६० जना ज्येष्ठ नागरिकहरु भेला भएर छलफल, नाचगान र खाजापान कार्यक्रम गर्दे उपस्थित ज्येष्ठ नागरिकहरुको सामान्य स्वास्थ परीक्षण समेत गरिने सचिव थेगुवाले बताउनुभयो ।
म्याङलुङ– ७ जिरिखिम्ती बजारमा वृद्ध विश्रामको आफ्नै भवन रहेको छ । घडेरी खरिददेखि भवन निर्माणको लागि अहिलेसम्म स्थानीय सरकार, प्रदेश सरकार र देश विदेशमा रहेका दाताहरुबाट लगभग रु १ करोड लगानी भइसकेको संस्थाका अध्यक्ष नर बहादुर सिंजागुले बताउनुभयो ।