July 3, 2025

तेह्रथुमको चो?लुङ पार्क पर्यटकिय गन्तव्य बन्दै

१९ असार २०८२ तेह्रथुम ः प्रायशः पर्यटकीय पूर्वाधारहरु निर्माण गरिंदा विदेशी अथवा आयातित शैलीलाई नै पछ्याउने गरिएको पाइन्छ । तर, तेह्रथुमको लालिगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार बसन्तपुर स्थित चोत्लुङ पार्क पुग्दा भने पृथक अनुभूति संगाल्न सकिन्छ । त्यहाँ निर्मित मौलिक एवम् रैथाने वास्तु शैलीका पर्यटकीय पूर्वाधारहरु देख्दा ‘पर्यटन प्रबद्र्धनको काम त यसरी पनि गर्न सकिने रहेछ नि !’ भन्ने महसुस हुन्छ । बिना कङ्क्रिड ढुङ्गा बिछ्याएर बनाइएका सिढीमार्ग, फलैंचा, बिसौनी, फुस र झिँगटीले छाएका मौलिक घर, आँखी झ्याल, बाहा, सिकुवा, ढिकी, जाँतो, आँगन, कुवा,मुन्धुममा वर्णन गरिएझैं गाढिएका अग्ला–अग्ला ढुङ्गे स्तम्भ, सुनाखरी, पैंयू, गुराँस लगायतका मुन्धमी वनस्पति आदिले चो?लुङ पार्क पुग्दा बर्षौं अघिको मौलिक लिम्बू घरगाउँ पुगेको आभाष दिलाउछ ।

तेह्रथुमको पर्यटकीय बजार बसन्तपुर छेउको चोत्लुङ पार्क पुग्दा यस्तै दृश्य देखिन्छ । जहाँ रहेक दिन पर्यटकहरु रमाइरहेका भेटिन्छन् । त्यहाँ युमा? सङ्गहालय समेत रहेको छ । यही मौलिकता भित्रको सिर्जनशीलता हेर्न पुग्ने पर्यटकहरुले चो?लुङ पार्क दिनहुँ भरिभराउ हुन्छ । चोत्लुङ पार्कमा भेटिएका सुनसरी धरानका रनबहादुर सुब्बाले झण्डै तीन दशक अघिको याक्थुङ (लिम्बू) गाउँ पुगेको अनुभूति भएको सुनाउनुभयो । ‘अहिले त गाउँघरले पूरै रुप फेरिसक्यो’ उहाँले भन्नुभयो ‘यहाँ बनाइएका घर र अन्य संरचनाहरुले उहिलेको गाउँघरको याद दिलायो ।’ चोत्लुङ पार्कमै भेटिएका इलामका चञ्चल लिम्बूले पनि यहाँ पुग्दा आफूले फरकपनको महसुस गरेको सुनाउनुभयो । अन्य ठाउँहरुमा घुम्दा आधुनिकताको सिको गर्दै बनाइएका संरचनाहरु देखिन्थे । तर चोत्लुङ पार्क पुग्दा भने यसरी मौलिक तरिकाबाट पनि पर्यटकीय पूर्वाधारहरु बनाउन सकिने रहेछ भन्ने लागेको उहाँले बताउनुभयो ।

लालिगुराँस नगरपालिका–३ मा रहेको यो ठाउँ २०७४ अघिसम्म यस्तो थिएन । वन क्षेत्रभित्रको एकान्तमा पर्ने यहाँ हमेसा मानिस नै पुग्दैनथे । पर्यटक आउने त कुरै भएन । यहीँ ठाउँमा चोत्लुङ पार्क निर्माण गरिएपछि अहिले हरेक दिन पर्यटक पुग्ने गरेका छन् । चोत्लुङ पार्कमा रहेका प्रकृतिमैत्री, कलात्मक र रैथाने शैलीका पर्यटकीय पूर्वाधारहरुको अवलोकन गरेर यहाँ पुग्ने पर्यटक आनन्दीत हुन्छन् । छोरीको नामको पूजा गर्न पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी, हालः धरान बस्दै आएकी चन्द्रा लिम्बूले उहिलेको पहाडी गाउँले जनजीवन र जीवनशैलीको याद आएको सुनाउनुभयो । ‘यी घर, सिकुवा, आँगन, फुलबारी, गोरेटा, फलैंचा र कुवाले मलाई पुराना दिनहरुको सम्झना दिलायो’ उहाँले भन्नुभयो । यसरी मौलिकताको संरक्षण गर्दै पर्यटन विकास गर्ने शैली निक्कै मन परेको उहाँले सुनाउनुभयो ।

चोत्लुङ पार्क यसरी यो रुपमा उभिन लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङको ठूलो मेहनत छ । मुन्धुमविद् एवं याक्थुङ (लिम्बू) इतिहासका अध्येता माबुहाङकै परिकल्पनामा चोत्लुङ पार्क निर्माण गरिएको हो । वि.सं.२०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि माबुहाङले डिपीआर बनाएर चोत्लुङ पार्क निर्माणको काम अघि बढाउनुभएको थियो । वि.सं.२०७९ मा भएको दोस्रो स्थानीय तह निर्वाचनबाट पनि उहाँ नै नगर प्रमुख निर्वाचित भएपछि चोत्लुङ पार्कले करीब करीब पूर्णता पाएको छ । नगर प्रमुख माबुहाङले त्यतिबेला आफ्नो योजना सुनाउदा इन्जिनियरले खरले छाउने घरको नक्सा बनाउन मानेका थिएनन् । ‘जबरजस्ती नक्सा बनाउन लगाइयो’ उहाँले भन्नुभयो ‘अहिले यहीँ हेर्न मान्छे आएको देख्दा र धेरैले यहीँ कामको प्रशंसा गरेको सुन्दा खुसी लाग्छ ।’

 

चोत्लुङ पार्कमा युमा सङ्ग्रहालय छ । सङ्ग्रहालयमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवान बीच विभिन्न समयमा भएका सन्धी, सम्झौता, रुक्का जस्ता ऐतिहासिक र दुर्लभ कागजात सुरक्षित गरेर राखिएका छन् । याक्थुङ (लिम्बू) जातिसँग सम्बन्धीत पुराना भेषभूषा, गरगहना, हातहतियार र विभिन्न उपकरण सङ्ग्रहालयमा राखिएका छन् । वि.सं.२०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उद्घाटन गर्नुभएपछि सर्वसाधरणका लागि सङ्ग्रहालय अवलोकन गर्न खुल्ला गरिएको हो । यी ऐतिहासिक कागजात, दस्तावेज र अन्य वस्तुहरुले लिम्बुवानको इतिहास र सभ्यतालाई जीवन्त राख्ने नगर प्रमुख माबुहाङले बताउनुभयो । उहाँका अनुसार तत्कालीन लिम्बुवान क्षेत्रका विभिन्न ठाउँहरुबाट धेरै दुःख गरेर यी ऐतिहासिक कागजात र सामग्री संकलन गरिएका हुन् । समयक्रमसँगै हराएर जाने वा नष्ट भएर जाने खतरा बढेकाले यी वस्तुहरुलाई सुरक्षित र व्यवस्थित गरिएको उहाँको भनाई छ । यस्ता वस्तुहरुको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पनि भएकाले यो काम गरिएको उहाँले बताउनुभयो । सङ्ग्रहालयले संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई ठूलो सहयोग पु¥याउने म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका उप प्राध्यापक दिपक कट्टेलले बताउनुभयो । यसबाट भावि सन्ततीले आफ्नो इतिहास, संस्कृति, समाज र समाज विकासका चरणबारे जानकारी प्राप्त गर्ने उहाँको भनाई छ । यस किसिमका अन्य विभिन्न जातजातिका धर्म संस्कृति रितिरिवाज झल्काउने सङ्ग्राहालयहरु समेत निर्माण गरिए संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुलाई अझ ठूलो सहयोग पु¥याउने उप प्राध्यापक कट्टेलले बताउनुभयो । सङ्ग्रहालय, मौलिक संस्कृति र सभ्यता झल्काउने प्रकृतिमैत्री पूर्वाधार, स्वच्छ परिवेश र सुन्दर प्रकृति चोत्लुङ पार्कको मूख्य आकर्षण हुन् । किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले चोत्लुङ पार्क गुराँसे पाखामा फुलेको रैथाने फूल भएको टिप्पणी गर्नुभयो ।


लालिगुराँसको राजधानी घोषणा गरिएको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेशद्वारको रुपमा रहेको वशन्तपुरमै रहेको छ, चोत्लुङ पार्क । त्यसैले पनि चोत्लुङ पार्कमा पर्यटकीय चहलपहल भइरहन्छ । गुराँस फुल्ने सिजनमा त चोत्लुङ पार्कमा पर्यटहरुको ठूलो घुइँचो लाग्छ । टिएमजे जाने पर्यटक जाँदा नभए फर्किदा चोत्लुङ पार्क पुगेर मात्र फर्किन्छन् । टिएमजे क्षेत्रमा ३२ प्रजातिकामध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।
फुल्ने सिजन बाहेक अन्य समयमा पनि चोत्लुङ पार्कमा दैनिक दर्जनौं पर्यटक आउछन् । पूर्वी नेपालका सबैजसो जिल्ला र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ र कहिलेकाहीँ अन्य विदेशी पर्यटक पनि चोत्लुङ पार्क पुग्ने गरेका पार्कका साम्बा (पुजारी) रुद्रबहादुर तिलिङ लिम्बूले बताउनुभयो ।

‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ अर्थात् ‘पूर्णता’ हुन्छ । त्यसैले सिद्धीस्थलको रुपमा चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङ बताउनुहुन्छ । चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । पार्क निर्माणका लागि हालसम्ममा नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर तेह्रथमु संघिय सरकार, प्रदेश सरकार लालीगुराँस नगरपालिका र अन्य निकाय अनि मनकारी सहयोगीहरुको गरी दुई करोड बढी रकम खर्च भएको नगर प्रमुख माबुहाङले बताउनुभयो ।  पार्क सञ्चालनका लागि नगरपालिकाले रु. ५० रुपैंयाँ प्रवेश शुल्क तोकेको छ । सङ्ग्रहालय समेत अवलोकन गर्न चाहनेहरुले भने रु.एक सय तिर्नुपर्छ । पार्क र सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटकबाट वार्षिक रु १४ लाख राजश्व संकलन हुने गरेको नगरपालिकाले जनाएको छ ।


मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वशन्तपुर बजार छेउमा रहेको चोत्लुङ पार्क सवारी साधनबाटै सहजै पुग्न सकिन्छ । गाउँ बनाउने अवधारणा अन्तर्गत चोत्लुङ पार्क निर्माण गरिएको नगर प्रमुख माबुहाङले बताउनुभयो । ‘अहिले सबै शहर बनाउनेतिर लागेका छन्, गाउँ बनाउने एजेण्डा कसैसँग छैन’ उहाँले भन्नुभयो ‘त्यसैले गाउँको सम्भावनाहरुलाई मर्न नदिन र उपेक्षामा परेको गाउँप्रति मानिसहरुलाई आकर्षित गर्न यो काम गरिएको हो ।’ नगर प्रमुख माबुहाङको परिकल्पनामा बनेको चोत्लुङ पार्कले पछिल्लो समय पर्यटकहरुलाई पूर्वी पहाड उकाल्ने काम त गरेको छ नै स्थानीय सरकारले पहलकदमी लिन सके केही गर्न सकिन्छ भन्ने उदाहरण पनि पेश गरेको छ ।

Ads

Ad

Copyright Reserved by NepBrand