११ फागुन २०८१, तेह्रथुम। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ।
माओेवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्। केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै सरकारले वार्ता र संवादबाट राजीनितक रुपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तीजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
‘आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ । हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयम्ताको साथ अगाडि बढ्न अपिल गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनको क्रममा उत्पन्न हुने तनाबलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुले पुरा नगरेको बरु उत्तेजना बढाउने काम गरिरहेको पनि माओवादीले दाबी गरेको छ। त्यसलाई रोकेर आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै सरकारले तत्काल मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने, केबलकार निर्माणको कामलाई स्थगन गरेर संवाद थाल्ने र आन्दोलनरत पक्षले आन्दोलननका कार्यक्रम स्थगित गरि वार्ताबाट निकास खोज्न तयार हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको माओवादीले स्पष्ट गरेको छ।