February 23, 2025

माओवादी नेता आङबोको चेतावनीः सरकारको रबैया परिवर्तन नभए ‘नो केबलकार’ आन्दोलनमा सहभागि हुन्छौं

११ फागुन २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले सरकारको रबैया परिवर्तन नभए ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको आन्दोलनमा आफ्नो पार्टी पनि सहभागी हुने चेतावनी दिएका छन्।

प्रदेशसभाको आइतबारको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले सरकारले दमनको बाटो छोडेर वार्ता र छलफलतिर ध्यान नदिए आफ्नो पार्टी पनि आन्दोलनमा सहभागी हुने चेतावनी दिएका हुन्।

‘केबलरकार निर्माणको काम रोकेर सरकारले उच्चस्तरीय वार्ता टोली बनाई निकास खोज्नुपर्छ’ उनले भने, ‘निषेधाज्ञा र कर्फ्यू लगाएर स्थानीय समुदायमाथि गरेको दमन सैह्य हुँदैन।’ आङ्बोले अहिले आफ्नो दलले आन्दोलनलाई नैतिक समर्थन मात्रै गरिरहेको भन्दै सरकार यसरी नै अगाडि बढे आन्दोलनमा सहभागी हुने बताए।

निजी क्षेत्रको एक व्यापारीलाई केबलकार बनाउन दिनकै लागि राज्यले जनतामाथि दमन गरेको भन्दै आङ्बोले आपत्ती जनाए। उनले तत्काल केबलरकार निर्माण रोक्न र सुरक्षा फौज फिर्ता गरेर वार्ताको वातावरण बनाउन सरकारसँग माग गर्दै घाइतेहरुको उपचारको व्यवस्था बनाउन माग गरे। ताप्लेजुङमा भिडन्त भइरहेको र जनताहरु त्रासमा रहेको बेला प्रधानमन्त्री जन्मदिन मनाउँदै बसिरहेको भन्दै उनले भने, ‘रोम जलिरहेको छ। निरो बाँसुरी बजाएर बसिरहेको छ।’

ताप्लेजुङ अशान्त रहेको बेला सरकारले ‘केही भइरहेको छैन’ भने जस्तो गरेको भन्दै आङ्बोले समस्या समाधानको लागि मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति बनाउन माग गरे। नागरिकले हुँदैन र चाहिँदैन भनेको कुरालाई ‘राज्यले किन जबर्जस्ती गरिरहेको’ भन्ने प्रश्न गर्दै उनले केबलकार बनाउनुपर्ने अवस्थामा पनि नागरिकबीच भइरहेको द्वन्द्व पहिले समाधान गर्नुपर्ने बताएका छन्।

हिन्दु र किरात धर्माबलम्वीहरुको पवित्र तीर्थस्थलको बारेमा उठेका विवादहरुबारे उनीहरुकै कुरा सुनेर छलफल गर्नुको साटो एकोहोरो अगाडि बढ्न खोजेप्रति आङ्बोको आपत्ती छ। (हाम्रोमतबाट)

Ads

Ad

Copyright Reserved by NepBrand